• १३ साउन २०८१, आइतबार

घोडाघोडीमा लालचुच्चे ठेउवा

blog

धनगढी समाचारदाता

धनगढी, जेठ २० गते । घोडाघोडी चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) मा नयाँ प्रजातिको चरा थपिएको छ । लालचुच्चे ठेउवा (डलर बर्ड) थपिएको जनाइएको छ । गर्मी मौसममा पाइने चराहरूको अनुगमन तथा अनुसन्धानका क्रममा पहिलो पटक सो प्रजातिको चरा अभिलेख गरिएको बताइएको छ । 

घोडाघोडीको बेतहनी क्षेत्रमा भालेपोथी गरी दुई वटा लालचुच्चे ठेउवा अभिलेख गरिएको चराविद् हिरूलाल डङ्गौराले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुरमा यो प्रजातिको चरा अभिलेख भए पनि कैलालीमा यसअघि देखिएको थिएन । 

‘समर भिजिटर’ मानिने लालचुच्चे ठेउवा चरा भारत र बङ्गलादेशबाट गर्मीयाममा नेपाल भ्रमणमा आउने गरेको भनाइ उहाँको छ । ठेउवा (इन्डियन रोलर) जत्तिको शारीरिक आकार रहने लालचुच्चे ठेउवाको चुच्चो रातो र रौँ गाढा हरियो हुने गरेको छ । एक प्रजातिको चरा थपिएसँगै घोडाघोडीमा ३८१ प्रजातिका चरा छन् । यहाँ पाइने ११ प्रजाति विश्वमै दुर्लभ छन् । यसै गरी ७४ प्रजातिका जलपन्छी पाइने गरेका छन् । 

गर्मी मौसममा गरिएको गणनाका क्रममा चराको प्रजाति अवस्था ठिकठिकै पाइएको चराविद् डङ्गौराले बताउनुभयो । समर भिजिटर प्रजातिका चराहरूमा स्वर्गचरी, कोइली, मुरलीको अवस्था राम्रै पाइएको उहाँले बताउनुभयो । दुर्लभ मानिने चस्मे उलक बच्चासहित फेला परेको छ ।