• १३ साउन २०८१, आइतबार

आयुर्वेद चिकित्सालयमा ४९ हजारले सेवा लिए

blog

अविनाश चौधरी

धनगढी, जेठ १९ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको प्रादेशिक चिकित्सालयबाट ४९ हजार बढीले सेवा लिएका छन् । स्थापना भएको डेढ वर्षको समयमा महिला २८ हजार ३२९ र पुरुष २१ हजार ४७ गरी ४९ हजार ३७६ जना बिरामीले सेवा लिएको चिकित्सालयले जनाएको छ । 

जम्मा सेवाग्राहीमध्ये १८ हजार ५५४ जनाले पञ्चकर्म, दुई हजार २६ जनाले योग, १३ हजार सात जनाले ज्येष्ठ नागरिक सेवा र एक हजार ५०१ जना महिलाले स्तनपायी सेवा लिएको चिकित्सालयका माया भट्टले जानकारी दिनुभयो । 

चिकित्सालयले ओपिडी/बहिरङ्ग, प्रयोगशाला, एक्स-रे, स्नेह स्वदेन शिरोधारा, पञ्चकर्म वस्तिकर्म, वमन, विरचेन, नस्य, स्वर्ण प्राशन, होमियोप्याथी, आइपीडि (अन्तरङ्ग), ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन, स्तनपायी आमालाई दुग्धवर्धक औषधि वितरण लगायतको सेवा प्रदान गर्दै आएको छ । चिकित्सालयले बिरामीलाई आयुर्वेदिक औषधि निःशुल्क रूपमा वितरण गर्ने गरेको छ । 

पछिल्लो समय सो चिकित्सालय दीर्घ रोगीहरूको रोजाइमा परेको छ । चिकित्सालयको सेवा विस्तार गर्नुका साथै थप सुधार गरिएकाले उपचार गराउन आउने सेवाग्राहीको सङ्ख्या बढ्दो रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. राम कामेश्वर ठाकुरले बताउनुभयो ।