नियात्रा–ना.(सं).१. यात्रानिबन्धको औपन्यासिक वा उपख्यानात्मक रूप । २. यात्रा वर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध । (नेपाली बृहत् शब्दकोश, पृष्ठ ६९१, दसौं संस्करण/२०७५
कदाचिन्नारदो योगी परानुग्रहवाञ्छया ।
पर्यटन सकलान लोकान सत्यलोकमुपागमत् ।।२।।
...........................................
सन्तुष्टस्तं मुनिं प्राह स्वयम्भूर्वैष्णवोत्तम्
किं प्रष्टुकामस्त्वमसि तद्वदिष्यामि ते मुने ।।६।।
संस्कृत भाषाको अध्यात्म रामायणका दोस्रो र छैटौं श्लोक हुन यी । पहिलो श्लोकमा भगवान राम स्तुति –बन्दना) आदि छ भने ३,४,५ तथा ७ र ८ श्लोकमा अन्य केही कुरा छन । ‘भानुभक्त आचार्यले भावानुवाद वा रुपान्तरण गरेको नेपाली रामायणमा आचार्यको मौलिक रचना शिल्प पनि छ’, भनिन्छ ।
एक दिन नारद सत्यलोक पुगि गया लोकको गरूँ हित भनी ।
ब्रह्मा ताहिं थिया पर्या चरणमा खुसी गराया पनी ।।
क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै ।
ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै ।।
भानुभक्त कृत अर्थात अध्यात्म रामायणबाट नेपाली अनुवादको रामायणका प्रारम्भिक श्लोक हुन यी । अध्यात्म रामायणको दोस्रो श्लोकको दोस्रो लाइनको ‘पर्यटन’ शब्द घुमफिर वा यात्राको अर्थमा हो । रामायण संस्कृत साहित्यको आदिम महाकाव्य तथा आदिग्रन्थ मानिन्छ । रामायण विभिन्न समयमा दर्जनौं भाषामा लेखिएका छन । रामायण भन्नासाथ संस्कृत साहित्यका आदिकवि वाल्मिकी यसका लेखक भनेर बुझ्ने गरिन्छ तर भानुभक्त कृत नेपाली रामायणको स्रोत महामुनी वेदव्यासको अध्यात्म रामायण हो । (संस्कृत अध्यात्म रामायण र भानूभक्तिय रामायणको तुलनात्मक अध्ययन, रामचन्द्र पौडेल र नेपाल प्रज्ञा प्रतिष्ठान, २०७०)
रामायणको यो सन्दर्भ उल्लेख गर्नुको उद्देश्य पूर्वीय साहित्यमा यात्राको सम्बन्ध जोड्नका लागि हो । साहित्य र यात्राको सम्बन्धको प्रयोग कहिलेदेखि कहाँबाट कसरी सुरु भयो ? यसको तथ्य किटान गर्न सकिन्न । यात्रा मानिसको जीवनको महìवपूर्ण प्रव्रिmया हो । आधुनिक मानव सभ्यता र विकासको प्रस्थानबिन्दु नै बसाईं सराई वा स्थानन्तरणको परिणाम हो । पूर्वीय साहित्यका शताब्दियौं पुराना महाकाव्य रामायणलगायतका आदिग्रन्थहरूमा देव देवी, ऋषि, असुर र सर्वसाधरणहरूको यात्रा वर्णन छन ।
नेपाली यात्रा साहित्यको परिचित कृति ‘पाताल प्रवास’, का लेखक प्रोफेसर तारानाथ शर्माले चर्चा गरेको अमेरिकी भूमि यात्राकै क्रममा कोलम्बसले पता लगाएका थिए । दुनियाँबाट बेखबर यो भूगोललाई कोलम्बसले सन् १४९२ मा पता लगाएका हुन त भनिन्छ तर यसभन्दा पहिले नै यस गोलाद्र्धमा मानिसहरूको बसोबास रहेको र आवत जावत पनि हुने गरेको थियो । अन्य गोलाद्र्धमा पुगेका हाम्रा पाइला पनि मानव जातिको यायावर कर्मकै परिणाम हुन ।
साहित्यका सिद्धान्तमा रचनाहरूको वर्गीकरण गद्य र पद्य भनेर गरिएको छ । पद्यमा काव्य अर्थात् कविता, गीत, गजल, भजन आदि लयबद्ध रचना र गद्यभित्र निबन्ध, कथा, उपन्यासलगायतका रचना पर्दछन् । यो साहित्य सिद्धान्तको प्रारम्भिक सङ्केत हो । यसको शास्त्रीय समिक्षा यतिले पुग्दैन । यात्रा निबन्धलाई वर्गीकरण गरेर ‘नियात्रा’ भनेजस्तै गर्दा जीवनी, संस्मरण, उपन्यास, कथा वा समाचार आदिको पनि विधागत पहिचानको खोजी नेपाली समाजको समावेशी आन्दोलनमा अस्वभाविक मान्न सकिन्न ! अध्येताहरूका लागि नयाँ खोज अनुसन्धानका यी अबसर खुला छन ।
नियात्रा साहित्यको पहिचान र न्वारान प्रोफेसर तारानाथ शर्माको ‘बेलायततिर बरालिंदा’ कृतिका सम्बन्धमा उनकै सहदौंतरी भाषाविद् बालकृष्ण पोखरेलले विसं. २०२६ मा गरेका थिए । आधुनिक नेपाली साहित्यमा तारानाथ शर्मा यस शताब्दिका प्रतिनिधिहरूमध्ये पनि उदाहरणीय अगुवा हुन । शर्मा कृत ‘बेलायततिर बरालिंदा’ र ‘पाताल प्रवास’ नेपाली गद्य साहित्यका मानक कृति मानिन्छन । नेपाली लेखकहरूले आजभोलि नियात्रा भन्न बल गर्न थालेको नियात्राको अलिक बढ्ता उर्बर भूमि बेलायत र अमेरिका हुन ।
साहित्यको विधागत पहिचानको प्रसङ्गमा अर्का विद्वान भाषासेवी भानुभक्त पोखरेल यात्राकै क्रममा डेढ दशक पहिले पाताल प्रवासका नेपालीसँग साहित्य सिद्धान्तको चर्चा गर्दै थिए । गद्य र पद्यको सन्दर्भमा कवितालाई गद्य मान्न नसकिने उनको तर्क थियो । गद्य र पद्य कसरी छुट्याउने भन्ने प्रश्नमा गद्य लयमा पढ्न सकिन्न तर पद्य लयमा पढ्न सकिन्छ भनेर यस क्षेत्रका कवि वसन्त श्रेष्ठ, प्रेम सङ्ग्रौला, नारायण अधिकारीलगायतले जवाफ दिएका थियौं । तर पोखरेलले कुनै एउटा पत्रिका पल्टाएर सोधे ‘यो गध हो कि पद्य ?’ नपढि हामीले जवाफ दियौं ‘गद्य’ त्यो थियो कुनै लेख वा निबन्ध । अर्काे पाना पल्टाएर फेरि सोधे, ‘यो के हो ?’ हामीले नपढ्दै जवाफ दियौं ‘पद्य’ । त्यो थियो कविता ।
पढ्दै नपढि पद्य वा कविता र गद्य वा निबन्ध छुट्याउन सकिन्छ भने कविता पद्य नै हुन्छ भने निबन्ध पनि गद्य । भाषाविद् पोखरेलले गद्य कविताको कुरा गर्ने हामीलाई नाजवाफ बनाउँदै निष्कर्ष सुनाउनुभयो–सबै निबन्ध गद्य र सबै कविता पद्य ।
भाषाविद्हरूका तर्क र सिद्धान्तका यतिका कुरा गरेपछि यात्रा निबन्धलाई नियात्रा भनेजस्तै कथा वा उपन्यासलाई छुट्टै विधाको गणना गर्न सकिन्छ कि सकिन्न ? कविता, गीत, गजल वा भजनका विधाहरूको वर्गीकरण गर्न किन नसकिने वा किन नहुने ? यसो गर्दा सिद्धान्त शिल्पीहरूलाई नयाँ सिद्धान्त सिर्जनाको बाटो खुल्नेछ । नियात्रा साहित्य सिद्धान्तको विधागत वर्गीकरणको बहस यात्रा निबन्धका लेखक जय छाङ्छाले सतहमा ल्याउनुभएको छ ।
मानिस घुमन्ते स्वभावको भएकोले उसका गतिविधि यात्रारहित हुन सक्दैनन । यात्राका चरित्र र प्रकृति व्यक्ति, समय, उद्देश्य आदिमा निर्भर हुनसक्छ । यात्राका उद्देश्यहरू अनेक हुन्छन ः
१) जीविकोपार्जनका लागि गरिने रोजगारी वा सरकारी र गैरसरकारी जागिर आदि २) मनोरन्जन ३) सामाजिक अध्ययन वा तथ्य सङ्कलन ४) शिक्षा ५) पेशा व्यवसाय ६) खेलकुद ७) पत्रकारिता ८) इतिहासको अध्ययन ९) सभा सम्मेलन, प्रदर्शनी आदि ।
यात्रा वर्णन वा यात्रा संस्मरण संसारका सबै भाषाको साहित्य सिर्जनाको महìवपूर्ण पक्ष भएकोमा विवाद नहोला । नेपाली साहित्यमा यात्रा पुरानो र चर्चित विधा हो । पूर्वीय दर्शन र हिन्दु वाङ्मयमा माथि उल्लेख रामायणमा लेखिएको ‘एकदिन नारद सत्यलोक पुगिगया लोकको गरुँ हित भनि’ यो पनि यात्रा वर्णन हो । मानव जीवनमा यात्राको महìव भएजस्तै साहित्यका सबै विधामा यात्रा समानरुपले प्रवेश गर्न सक्छ । साहित्य मानव जीवनको ऐना हो । महाकवि देवकोटाले भन्नुभएको छ–“कथा संसार चिनाउने आँखी झ्याल हो ।’ यो सहित्यको परिभाषा होइन तर साहित्यको विशेषताको सङ्केत हो ।
नियात्राका सिद्धान्तकार जय छाङ्छाकाअनुसार नेपाली यात्रा साहित्यको इतिहास विसं १५५० को तत्कालीन कर्णाली क्षेत्रका राजा गगनीराजको ‘मुगुदेखि मुस्ताङसम्म’लाई मानिएको छ । त्यसपछि राणा प्रधानमन्त्री जङ्गबहादुरको विसं. १९०६ को बेलायत यात्राको वर्णन वा विवरण ‘जङ्गगबहादुरको बेलायत यात्रा’ विसं. २०१४ मा कमलमणिको सम्पादनमा प्रकाशित भएको थियो । त्यसपछि विसं. १९७० मा शेरसिंह रानाको ‘मेरो लण्डन राजतिलक यात्रा’, १९७४ मा चिरञ्जीवी शर्मा पौड्यालको ‘काश्मीर यात्रा प्रसङ्ग’, १९९६ मा रणशूर लिम्बूको ‘बर्माको सम्झना’, १९९९ मा भवानी भिक्षुको ‘सिमलासम्म’ प्रकाशित भएका थिए । विसं २०१४ मा लैनसिंह वाङ्देलको ‘यूरोपको चिठ्ठी’, २०२० मा ‘स्पेनको सम्झना’ र २०२२ मा केदारमणि आदिको ‘बेलायत जाँदा’ हुँदै यस शृङ्खलामा प्रोफेसर तारानाथ शर्माका ‘बेलायततिर बरालिंदा’ र ‘पाताल प्रवास’ थपिएका हुन । समकालिन नेपाली साहित्यमा यात्रा निबन्धको नियात्रा मार्गमा जय छाङछा, युवराज नयाँघरे, विप्लव ढकाल, पवन आलोक, जीवा लामिछाने, मोहन मैनाली, नन्दु उप्रेती, नगेन्द्र नेउपाने, कृष्ण धराबासी आदि प्रतिनिधि लेखक हुन । यात्रा संस्मरणका कृति प्रकाशनमा रामप्रसाद पन्त अगाडि हुनुहुन्छ । उहाँका २१ वटा नियात्रा (यात्रा संस्मरण) र अन्य २२ वटा गरेर ४३ कृति प्रकाशित छन । अन्य विधाका धेरै लेखकले पनि यात्रा संस्मरणमा कलम चलाउनुभएको छ ।
अन्य विधामा जस्तो लेखकको कल्पनाशिलता मात्र हुन्न यात्रा साहित्यमा । यो यथार्थमा आधारित र पाठकलाई वस्तुगत जानकारी र शिक्षा दिनसक्ने हुन्छ । तर वस्तुगत जानकारी र शिक्षा प्रदानमा केन्द्रित हुँदा यात्रा निबन्धले पाठकलाई आकर्षित गर्न सक्दैन । यात्रा संस्मरण वा नियात्रालाई यथार्थपरक बनाउन प्रयास गर्दा स्थान परिचय वा टुरिष्ट गाइड हुने खतरा हुन्छ । टुरिष्ट गाइड, स्थान परिचय आदिलाई यात्रा निबन्ध वा नियात्रा मान्ने कि नमान्ने ? तर यिनमा साहित्यिक व्यञ्जन हुँदैन ।
नियात्रामा लेखकले पाठकलाई यथार्थ चित्रण वा वस्तुगत जानकारी र शिक्षाका अतिरिक्त आकर्षित गर्ने महत्वपूर्ण पक्ष शैली वा अनुभूति हो । नियात्रालाई साहित्यको छुट्टै विधाका रुपमा स्थापित गर्ने सैद्धान्तिक बहसमा लागेका छाङ्छाले नियात्रा संरचनाका १२ वटा विशेषता उल्लेख गर्नुभएको छ । ती विशेषताहरूमा विशेष छ–“नियात्राकार स्वयं नायक हुनसक्छ ।” छाङ्छा जीवित प्रमाणिकता नियात्राको प्रमुख तत्व भएकाले कहिले, कहाँ, को, कसरी र किन आदि कुरालाई नियात्राको मुटु मानिने बताउनुहुन्छ । लेखक स्वयंको उपस्थिति र नायकत्व नभएको रचना नियात्रा हुनसक्दैन । नियात्रामा हुनुपर्ने विशेषता र मौलिकताहरू एकल नायकत्व, रचनाले चर्चिएको भूगोलमा नायकको उपस्थिति, वास्तविकता र कल्पनाशिलताले पाठकहरू लेखकसँगै यात्राको अनुभूति ग्रहण गर्न सक्छन । तर यही कुरा संस्मरण वा आत्मपरक निबन्धका गुणहरू हुन । त्यसैले साहित्यका विधागत सिद्धान्तकारहरूले गद्यको एउटा रुप निबन्ध, निबन्धको अर्काे रुप यात्रा वा संस्मरण र यात्रालाई नियात्रा भनेजस्तै अन्य विधाहरूलाई पनि नियात्राको कसीमा जाँच्नु पर्ने देखिन्छ जस्तै नियात्रा काव्य, उपन्यास वा कथा आदि । यो वर्गीकरण विधि पनि सिद्धान्त शिल्पिहरूका लागि अवसर हो । स्मरणिय छ, लेखकको नायकत्वको वकालत लीला लेखनका अवधारणाका आधारहरूमा पनि महìवपूर्ण मानिन्छ ।
नेपाली साहित्यमा सिद्धान्त, वाद वा आन्दोलनका दर्जनौं उदाहरणहरू छन । ती वाद, सिद्धान्त वा आन्दोलनको छुट्टै अध्ययन र चर्चा गर्न सकिन्छ । त्यति धेरै चर्चामा नआएको यस्तै एउटा अर्काे सिद्धान्त शिल्पी हुनुहुन्थ्यो मेची किनारका एक सुधी साधक तेराख अर्थात् तेजराज खतिवडा । स्वर्गवासी यी साधकको ‘मयवाद’ सिद्धान्तको उतराधिकारीको दावी सार्वजनिक भएको छैन । साहित्यका मान्यता प्राप्त भनौं वा प्रचलित विधा बाहिर ‘मय’ विधाका प्रयोगकर्ता वा प्रवक्ता तेराखको मत थियो, कथा कविताजस्तो पनि हुनसक्छ । कविता कथाजस्तो वा निबन्ध कथाजस्तो वा अरु जे भनियो त्यो त्यही भनेजस्तो नहुन सक्छ । एक अर्काको विधाका गुण मिसिएका रचनाहरू मय विधामा पर्छन । मानौं कथामय कविता, कवितामय कथा, निबन्धमय कथा, समाचारमय कविता, संस्मरणमय उपन्यास, नियात्रामय कविता, कथा, उपन्यास वा काव्य यस्तै । अहिलेलाई नियात्रा यात्रा पनि यति नै ।