• १६ भदौ २०८१, आइतबार

हिमाली बस्तीमा प्रभावकारी आवासीय विद्यालय

blog

मुगुम कार्मारोङ गाउँपालिका ३ केजाङमै नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालय । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, जेठ १६ गते । वरपर आँखा डुलाउँदा टल्किरहेका हिमाल देखिन्छन् । छेवैमा छायाँनाथ हिमाल छ । हरिया पहाडले घेरिएको स्थानमा छ नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालय । माथिबाट हेर्दा उपत्यका जस्तो लाग्छ । यो हो केजाङ । मुगुम कार्मारोङ गाउँपालिका ३ केजाङमै नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालय सञ्चालन भइरहेको छ । मुगु जिल्लाको उत्तरी भेगमा मानव बसोबास भएको माथिल्लो गाउँ हो यो । यहाँ पुग्न सदरमुकाम गमगडीबाट दुई दिन पैदल हिँड्नुपर्छ ।

यो ठाउँ धार्मिक र पर्यटकीय रूपले महत्वपूर्ण मानिन्छ । छायाँनाथ धाममा पर्यटकहरू आउने गर्छन् । विशेष गरेर साउन र भदौमा आन्तरिक पर्यटक अलि धेरै आउँछन् । पर्यटनमा मात्र होइन, केजाङमा केही वर्षयता अर्को नौलो उपलब्धी देखिन्छ । त्यो हो, शिक्षामा आएको परिवर्तन । केही वर्ष पहिले नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालयमा १८ जना विद्यार्थी हुन्थे । अहिले ३३५ जना नियमित विद्यार्थी छन् । ३३५ जना छात्रावासमा बस्छन् । अङ्ग्रेजी र नेपाली भाषामा विविध ज्ञानमात्रै होइन, कला र संस्कृतिसँगै मातृभाषा पनि पढ्छन् ।

मुगुम कार्मारोङ गाउँपालिका ३ का लुन्दुक तामाङको परिवारलाई सन्तानलाई शिक्षादीक्षा दिनुपर्छ भन्ने थाहा नभएको होइन । तर, पनि चिन्ता थियो, पढाउने कहाँ ? नजिक राम्रो विद्यालय छैन, टाढा सहर लैजान सकिँदैन । उनीहरूले त्यो चिन्ताको समाधान भेटे, नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालय । अहिले अभिभावकलाई वरदान सावित भइरहेको छ । गाउँपालिकाका ६ वटा वडाका १२ विद्यालय समायोजन गरेर आवासीय विद्यालय सञ्चालन भइरहेको छ ।

कसरी फेरियो त विद्यालय ? कारण हो, विद्यालयको व्यवस्थापन र स्थानीयको इच्छाशक्ति । "विद्यालय राम्ररी चल्न व्यवस्थापन मजबुत हुनुपर्छ । प्रशासन राम्रो भएर काम हुन सक्यो भने अरु कुरामा सुधार हुँदै जाने रहेछ, "गत ११ वर्षदेखि केजाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालयमा पढाइरहनुभएका शिक्षक कुशलबहादुर शाही भन्नुहुन्छ । २०२१ सालमा विद्यालय स्थापना भएको थियो । त्यो बेला प्राथमिक तहसम्म पढाइ हुन्थ्यो । २०७७ सालबाट निम्न माध्यमिक विद्यालयमा स्तरोन्नति भयो । २०८० सालबाट माध्यमिक विद्यालयका रूपमा सञ्चालनमा छ ।

२०७६ मा छात्रावास सुरु भयो । विद्यार्थीलाई विद्यालयमै राख्ने, खाना खुवाउने पढाउने गरिन्छ । छात्रावासमा ३३५ जना राखिएको छ । यहाँ अध्ययन गर्ने ३३५ जना बालबालिकालाई सङ्घीय सरकारले हिमाली छात्रावासको सुविधा दिएको छ । सुरुको वर्ष २०७६ मा कक्षा ४ र ५ लाई आवासीय विद्यालयको रूपमा सञ्चालन गरिएको थियो । त्यसपछि हरेक वर्ष कक्षा थप्दै २०८१ बाट कक्षा १० सम्म आवासीय कक्षा सञ्चालन गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले मासिक चार हजार नगद पाउँछन् । सङ्घीय सरकारले आवासीय सुविधा पनि उपलब्ध गराएको छ । प्रदेश सरकारले भने विद्यालयका भवन निर्माणमा सहयोग गरिरहेको छ ।

पाँच जिल्लामा आवासीय विद्यालय

कर्णाली प्रदेश सरकारले आवासीय विद्यालयको अवधारणा अघि बढाएको छ । सरकारले आर्थिक वर्ष २०७७-०७८ मा नमुना आवासीय विद्यालय बनाउने योजना ल्याएको हो । सोही वर्षबाट साविक कर्णालीका पाँच जिल्लामा नमुना आवासीय विद्यालय छनोट गरी पूर्वाधार निर्माण सुरु गरिएको थियो ।

सुरुको आर्थिक वर्ष २०७७-७८ मा पाँच जिल्लाका पाँच विद्यालयमा एक-एक करोड बजेट भवन निर्माणका लागि बजेट दिइएको थियो । उक्त भवनको निरन्तरताका लागि २०७८-७९ मा ८०-८० लाख रूपियाँका दरले दिइयो । तेस्रो वर्ष २०७९-८० मा भवनको निरन्तरताका लागि ५० लाख र चालु आर्थिक वर्ष २०८०-८१ मा पनि ५० लाख रूपियाँ प्रतिविद्यालय भवनको निरन्तरताका लागि दिइएको छ ।

आवासीय भवन निर्माणको योजनाले निरन्तरता पाइरहेको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले बताउनुभयो । उहाँका अनुसार कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्लामा एउटा एउटा नमुना आवासीय विद्यालयको मापदण्डमा रहेर भवन निर्माण भइरहेका छन् । यो वर्ष पाँच जिल्लाका पाँच वटा विद्यालयलाई ५० लाख विनियोजन गरिएको हमालले जनाउनुभयो । आवासीय विद्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।