• १२ साउन २०८१, शनिबार

एक जना प्राविधिक सहायकको भरमा तरकारी र फलफूलमा विषादीको मात्रा परीक्षण

blog

रानीतलाउ तरकारीमण्डीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ १६ गते । नेपालगन्जको प्रमुख तरकारी मण्डी रानीतलाउमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ एक जना प्राविधिक सहायकको भरमा सञ्चालन भइरहेको छ । 

विशेषगरी भारतबाट आउने ठुलो परिमाणको तरकारी र फलफूलमा विषादी परीक्षणका लागि केन्द्रीय तरकारी मण्डी रानीतलाउमा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा जनशक्तिको अभावले नाम मात्रको विषादी परीक्षण भइरहेको छ ।

केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा जनशक्तिको अभावले तरकारी तथा फलफूलका सीमित नमुनामात्रै परीक्षण गर्न सकिएको र अधिकांश तरकारी र फलफूल परीक्षण बिनै बजारमा बिक्री भइरहेको छ । स्रोत साधन र जनशक्तिको अभावमा तरकारी तथा फलफूलका सीमित नमुनामात्रै परीक्षण गर्न सकिएको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिनुभयो ।

प्रयोगशालामा जनशक्तिको अभावले बजारबाट तरकारी तथा फलफूलका नमुना सङ्कलनमा समेत समस्या भइरहेको जनाउँदै प्राविधिक सहायक चौधरीले अधिकांशको परीक्षण हुन नसक्दा कीरा तथा रोगव्याधिबाट जोगाउन र उत्पादन बढाउन विषादी प्रयोग गरेको तरकारी सिधै बजारमा बिक्री भइरहेको बताउनुभयो । 

प्रयोगशालामा प्राविधिक सहायक चौधरी र एक जना कार्यालय सहयोगीमात्र कार्यरत छन् । जनशक्ति थप्न पटक पटक माग गरिए पनि थप नगरिएको जनाइएको छ । 

बालीमा प्रयोग हुने विषादीका प्रकार, मात्रा र बाली टिप्ने समयलाई बेवास्ता गरेर विषादीको प्रभाव नघट्दै टिपेर बजारमा पठाइएको तरकारी तथा फलफूलजन्य वस्तुमा विषादीको अवशेष धेरै भेटिने गरेको प्राविधिक सहायक चौधरीको भनाइ छ । 

भारतबाट आयातित तरकारी तथा फलफूल, रानीतलाउ तरकारी मण्डी, बीपीचोक तरकारी बजार र विभिन्न चोक तथा बजारमा ठेलामा राखेर बिक्रीवितरण हुँदै आएको छ । सोमध्ये अधिकांश परीक्षण नभएको हुने गरेको छ । 

प्राविधिक सहायक चौधरीका अनुसार ४५ प्रतिशतभन्दा बढी विषादीको मात्रा भेटिएका तरकारी तथा फलफूल स्वास्थ्यका लागि हानिकारक भएकाले उपभोग गर्न हुँदैन । त्यस्तै ३५ देखि ४५ प्रतिशतबीचको मात्रामा विषादी अवशेष प्रयोग भएको तरकारी तथा फलफूल केही दिन कुरेर मात्रै प्रयोग गर्न सकिन्छ । शून्यदेखि ३५ प्रतिशतसम्म विषादी भेटिए तरकारी तथा फलफूल प्रयोग गर्न तथा बिक्रीका लागि योग्य मानिन्छ । बाँके जिल्ला लगायत विभिन्न जिल्लामा उत्पादन भएका र भारतबाट आयात गरिएका तरकारी तथा फलफूलजन्य वस्तुको परीक्षण गर्दा विभिन्न नमुनामा विषादी भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले जनाएको छ ।