• १३ साउन २०८१, आइतबार

प्रदेश गौरवका आयोजनामा सडक र खानेपानी

blog

गोकर्ण दयाल

बैतडी, जेठ १६ गते । प्रदेश गौरवको सडक आयोजना लागु भएपछि गाउँमा चिल्लो सडक पुगेको छ । सतबाँझ–श्रीभाँवर–हाट हुँदै दार्चुला जोड्ने सडक कालोपत्रे सुरु भएपछि यहाँको ग्रामीण जीवन फेरिन थालेको छ । सडक निर्माणसँगै घण्टौँसम्म पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ । ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजलाई बजारीकरण गर्न मद्दत गरेको छ । 

प्रदेश गौरवको सतबाँझ–श्रीभाँवर सडक आयोजनाले तीन वटा पालिका जोडेको छ, बझाङको चिरवित्थड पुग्ने दुरीसमेत घटाइदिएको छ । मध्य पहाडी लोकमार्गको सतबाँझ सडकखण्डबाट उत्तर पूर्वी दिशामा पर्ने सुर्नया गाउँपालिका हुँदै पुर्चौडी नगरपालिकाबाट यो सडक दार्चुलाको देथला पुग्ने छ । 

सतबाँझदेखि श्रीभाँवरसम्म ३५ किलोमिटर सडकखण्डमध्ये २० किलोमिटर कालोपत्रेको काम अघि बढेको छ । ग्रामीण क्षेत्रमा चिल्लो सडक देखिन थालेको छ । श्रीभाँवरदेखि पुर्चौडी नगरपालिकाको हाटसम्म २१ किलोमिटर सडक फराकिलो पार्ने काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

प्रदेश गौरव सडकका रूपमा आर्थिक वर्ष २०७६/७७ देखि अघि बढेको उक्त सडक छोटो समयमै कालोपत्रे हुने जिल्लाकै पहिलो सडक हो । सतबाँझदेखि सुर्नया गाउँपालिका केन्द्रसम्म २० किलोमिटर सडक कालोपत्रेको काम चालु आर्थिक वर्षभित्र सम्पन्न हुने पूर्वाधार विकास कार्यालयका इन्जिनियर नरेश भुलले जानकारी दिनुभयो ।

यो सडक निर्माणमा बहुवर्षीय ठेक्कामार्फत करिब ४९ करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ । मध्यमहाडी लोकमार्गको झुलाघाटबाट बझाङ जान करिब ४५ किलोमिटरको दुरी कम हुने जनाएको छ । चन्द्रा एन्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले सडक कालोपत्रेको ठेक्का लिएको छ । गौरव आयोजनाको सडक चौडा गर्दै कालोपत्रे हुन थालेपछि ग्रामीण क्षेत्रको जीवनमा ठुलो प्रभाव पारेको सामाजिक अगुवा पदमराज अवस्थीले बताउनुभयो । 

आठ करोड लागतमा खानेपानी

खानेपानीको समस्याका कारण बुहारी नपाउने गाउँमा प्रदेश सरकारले आठ करोड लागतको लिफ्ट खानेपानी योजना सम्पन्न गरेको छ । सो योजना सम्पन्न भएसँगै घर घरमा खानेपानी पुगेको छ । 

सिगास गाउँपालिका–३, लगन, ठुलीसैनी र हल्कासैनी गाउँमा पहिलो पटक पानी लिफ्ट गरेर १३७ घरधुरीमा खानेपानी पुगेको हो । लिफ्ट खानेपानी योजना आव २०७७/७८ बाट सुरु भई आव २०७९/८० मा सम्पन्न भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख गोविन्दप्रसाद देवकोटाले लगन–ठुलिनी लिफ्ट खानेपानी योजना जिल्लाकै नमुना खानेपानी बनेको बताउनुभयो ।   

पानी लिन दुई घण्टा पैदल हिँडेर छिमेकी जिल्ला डडेलधुराको नवदुर्गा गाउँपालिका–५ मा पुग्नुपर्ने बाध्यता हटेको यहाँका स्थानीय बताउन छन् । खानेपानीको समस्याका कारण यस गाउँमा बुहारी भित्र्याउनसमेत समस्या रहेको भनाइ स्थानीयको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुन्दरसिंह धामी तीन किलोमिटर तल सिन्याखेत खोलाबाट लिफ्ट गरेर गाउँमा खानेपानी ल्याइएको बताउनुहुन्छ । मुहानसहित बिच बाटोमा ४० घनमिटरका चार वटा ट्याङ्की निर्माण गरिएका छन् ।

उहाँका अनुसार पानी वितरण हुने ठाउँमा ८० घनमिटरको ट्याङ्की बनेको छ । बस्तीमा १३७ धारा निर्माण भएका छन् । घारा निर्माण भएपछि पुस्तौँदेखि खानेपानीको समस्या झेल्दै आइरहेका मैनोला, लगन, हल्कासैनी, माझभ्वाँ, मैतोडा, ठुलसैनी, परचाल र चमडेखर्क गाउँका स्थानीय लाभान्वित भएका छन् । 

असी प्रतिशत घरधुरीमा खानेपानी 

यस जिल्लाको १० वटा स्थानीय तहका ८४ वडाका करिब ८० प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको सुविधा पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा मात्रै ४० वटा खानेपानीका योजना सम्पन्न गर्ने जनाएको छ । प्रत्येक वर्ष साना, ठुला र लिफ्ट खानेपानी योजना अन्तर्गत ४० भन्दा बढी योजना निर्माणाधीन अवस्थामा छन् ।