काठमाडौँ, जेठ १६ गते । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिने आरोहण कार्यको सम्मानमा सगरमाथा दिवस मनाउने गरिएको हो । विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलो पटक सन् १९५३ मे २९ तारिख अर्थात् ७१ वर्षअघि आजकै दिन बिहान ११ बजेर १५ मिनेटमा पहिलो पटक सफल आरोहण भएको थियो ।
नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारी पहिलो पटक सगरमाथाको शिखरमा पुगेर विश्वलाई मानवीय साहस र क्षमताको परिचय दिनुभएको थियो । आरोही हिलारीको सन् २००८ जनवरी ११ र नोर्गेको सन् १९८६ मे ९ तारिखमा निधन भयो । हिलारीको निधनको सन्दर्भ पारेर नेपालमा सन् २००८ देखि सगरमाथा दिवस मनाउन थालिएको हो ।
तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथामा पहिलो मानव पाइला राखेको दिनको सम्झनामा १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथा आरोहणको ७१ औँ वर्षगाँठ मनाइँदै छ । अप्ठ्यारो बाटो छिचोल्दै सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला पुगेको खबर नेपालीले पाँच दिनपछि मात्रै पाए । सन् १९५३ जुन २ मा बेलायती महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेकको अवसरमा त्यो खबर बेलायतबाट सार्वजनिक गरिएको थियो । नेपालमा जेठ २१ गते (जुन ३)
गोरखापत्रमा प्राथमिकताका साथ छापिएको थियो । सगरमाथा आरोहणको खबरले विश्वभर ठुलो चर्चासँगै नेपालले सगरमाथाको देश भनेर ख्याति पायो । पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितका अनुसार विश्वमै सबैभन्दा धेरै आठ हजार मिटरभन्दा अग्ला हिमाल रहेको नेपालका लागि सगरमाथा दिवस धेरै दृष्टिकोणबाट महत्वपूर्ण छ ।
उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले हिमालमा पारेको असर न्यूनीकरण गर्न हिमाल, हिमाली क्षेत्र र जैविक विविधताको संरक्षण गर्न आवश्यक छ । पर्वतारोहण क्षेत्रबाट हवाई सेवादेखि होटलसम्म र यसमा आश्रित आरोहीदेखि भरियासम्मको जीवन जोडिएकाले हिमालका सम्भावनालाई उजागर गर्दै दिगो पर्वतीय अवधारणामा जोड दिन आवश्यक छ ।” उहाँले सगरमाथाको सान र गौरवलाई स्थायी बनाइराख्न वातावरण र पर्यावरणीय पक्षलाई ध्यानमा राखेर अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।
त्यसै गरी ३० औँ पटक सगरमाथा चुचुरोमा पुगेर कीर्तिमान राखेका आरोही कामिरिता शेर्पाले हिमाल बचाउन विश्वको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिमाललाई सुरक्षित राख्न मानव सृजित समस्या जस्तै प्राकृतिक स्रोतको अत्यधिक दोहन, ऊर्जाको अत्यधिक प्रयोग, बढ्दो औद्योगिकीकरणका साथै डढेलो, भूकम्प, ज्वालामुखी जस्ता प्राकृतिक प्रकोपलगायत कारण भइरहेको जलवायु परिवर्तनबारे विश्व नै गम्भीर हुन आवश्यक छ ।” उहाँले पृथ्वीको कुलिङ एजेन्टका रूपमा काम गर्ने हिमालका आधार शिविरमा प्रयोग हुने ग्यासचुलो, हिटरलगायतका उपकरणको प्रयोगमा समेत नियन्त्रण आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै छैटौँ पटक सगरमाथा आरोहण गरेर फर्किएका आरोही जेनजेन लामाले जलवायु परिवर्तनका कारण हिमालमा कम हिउँ पर्ने, हिउँ नजम्ने र द्रुत गतिमा हिउँ पग्लिँदै गएका कारण हिमाल सङ्कटमा पर्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “खुम्बु आइसफल क्षेत्रमा कम हिउँ भएका कारण यस पटक आरोहणका लागि बाटो बनाउनसमेत मुस्किल परेको छ । लुबुचे पिक क्षेत्रमा काला पत्थर देखिएका छन् ।” उहाँले जलवायु परिवर्तनको असरले
अहिले मात्रै नभएर कालान्तरमा वनस्पती, जीवजन्तु, चराचुरुङ्गीलगायत रैथाने बाली लोप हुँदै जाने र पर्यटनको क्षेत्रमा सङ्कट ल्याउन सक्ने बताउनुभयो ।
सगरमाथा आरोहणको सात दशक लामो यात्रामा सन् २०२२ सम्म सात हजार २२६ स्वदेशी तथा विदेशी पर्वतारोहीले सगरमाथा चढेर साहसिक विजय यात्रा पूरा गरिसकेका छन् । जसमध्ये ५१९ जना महिला रहेका छन् ।
आरोहणका क्रममा तीन सयभन्दा बढीको निधन भएको छ । सगरमाथा आरोहणको इतिहासमा २०७२ मा महाभूकम्प र २०७७ मा कोरोना महामारीका कारण कुनै मानव पाइला सगरमाथा चुचुरोमा पुगेनन् । त्यस्तै २०७१ को वसन्त ऋतुमा हिमपहिरो गएका कारण आरोहण रोकिएको थियो । पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनियरिङ इन नेपाल, फ्याक्ट्स एन्ड फिगर–२०२३’ का अनुसार सन् २०२२ सम्म ३६ वटा विषयमा सगरमाथामा कीर्तिमान कायम गरिएको छ ।
एकै जनाले दर्जनौँ पटक आरोहण गरेको यस चुचुरोमा दुवै खुट्टा गुमाएकादेखि दृष्टिविहीनसम्मले आरोहण गरेर कीर्तिमान बनाउनुभएको छ । सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीले नयाँ नयाँ कीर्तिमान थप्दै आउनुभएको छ ।सगरमाथा आरोहण गरेर कीर्तिमान राख्नेमा विश्वकै पहिलो महिला, नेपाली प्रथम महिला, फरक क्षमता भएका, दुवै खुट्टा गुमाएका, सगरमाथामा विवाह गर्ने जोडी, पाको उमेरकी महिला, उत्तर दक्षिण दुवै दिशाबाट आरोहण गर्ने महिला, सबैभन्दा ठुलो आरोहण दल, नेपाली प्रथम पत्रकार, सबैभन्दा पाको उमेर, बिनाअक्सिजन आरोहण, सगरमाथाको शिरबाट स्की, सगरमाथाको शिरमा २१ घण्टा, एचआइभी एड्सपीडित, सबैभन्दा छिटो र सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आरोही रहनुभएको छ ।