• २० असार २०८१, बिहिबार

१७ औँ गणतन्त्र दिवस विशेष

गणतन्त्रले जनताको पहुँच बढाएको छ : पूर्व राष्ट्रपति भण्डारी

blog

काठमाडौं, जेठ १४ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रले जनताको पहुँच राज्यको संरचनासम्म पुगाएर मौलिक हक सुनिश्चित गरेको बताउनुभएको छ । गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । 

मुलुकमा गणतन्त्र स्थापना भएपछि शिक्षामा नागरिकको पहुँच बढेको, शासन प्रक्रियामा सहभागिता भएको र संविधानतः मौलिक हकको सुनिश्चितता भएको उहाँको भनाइ छ । जनताको अधिकार सुनिश्चित गर्न अझै बाँकी रहेकाले राजनीतिक दल र सत्तामा  रहेकाहरूले त्यसबारे गम्भीरतापूर्वक काम गर्नुपर्ने उहाँको सुझाव छ ।

“व्यक्तिलाई पदको बढी तृष्णा बढेर आएको देखिन्छ, देश र जनताभन्दा पनि व्यक्तिगत स्वार्थका लागि काम गरेको देखिन्छ, यो राम्रो होइन” उहाँले भन्नुभयो, “सबैभन्दा बढी भूमिका नेतृत्वको हुन्छ, राष्ट्रिय आवश्यकता पहिचान गरेर काम गर्नुपर्छ । नेतृत्व तहमै राष्ट्रिय मुद्दामा समानता नआउँदा समस्या आएको छ ।”

सबैभन्दा बढी भूमिका नेतृत्वको हुन्छ, राष्ट्रिय आवश्यकता पहिचान गरेर काम गर्नुपर्छ । नेतृत्व तहमै राष्ट्रिय मुद्दामा समानता नआउँदा समस्या आएको छ ।

‘देशमा विकासै नभएको त होइन, सोचेजस्तो नभएको सत्य हो’ भन्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, “३० वर्षअघि देशको अवस्था कस्तो थियो र आज कस्तो छ भन्नेमा केही फरक त छ नै । नागरिकको सोचमा परिवर्तन आएको छ, चेतना वृद्धि भएको छ, पूर्वाधार विकास भएको छ । तथापि पर्याप्त हुन सकेको छैन ।” विकास त भयो तर दिगो विकास हुन नसकेको उहाँको भनाइ छ ।

नयाँ संविधानले महिला अवसरको ढोका खोलेको चर्चा गर्नुहुँदै भण्डारीले थप्नुभयो, “मातृत्वका कारणले महिलामा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी उद्धारका लागि प्रसूति उद्धार कार्यक्रम सुरु गरिएको छ ।” ‘राष्ट्रपति महिला उत्थान’ नाम दिएर सो कार्यक्रम राज्य कोषबाटै सञ्चालन गरिएको उहाँले चर्चा गर्नुभयो । सो काम नेपाली महिलाको पक्षमा प्रभावकारी साबित भएको उहाँले बताउनुभयो । 

संविधानअनुसारको कानुन निर्माण अझै हुन नसक्नु राम्रो नभएको चर्चा गर्नुहुँदै उहाँले समयमै ऐन कानुन संसदबाट बनाउन नेतृत्वले हेक्का राख्नुपर्ने सुझाउनुभयो । दिगो विकासको काममा अनेक सङ्कटहरू आइपर्नु देशको समृद्धिको बाधक भएको चर्चा गर्नुहुँदै उहाँले त्यसमा नेतृत्व तह नै सचेत हुनुपर्ने बताउनुभयो । यसमा मिडियाले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । 


मुलुकको विकास नहुनुमा शासन व्यवस्था दोषी नरहेको भन्नुहुँदै उहाँले भन्नुभयो, “यसमा व्यक्तिहरूको काम गर्ने शैली र कमजोर भूमिका दोषी हो । योजनासहित इमान्दार प्रयास भएमा देशको विकास सम्भव छ । जुन अहिलेसम्म हुन सकेको छैन ।” अहिले भएको शासन व्यवस्थाबाटै मुलुकको दिगो विकास सम्भव रहेको बताउनु हुँदै उहाँले देशको अर्थतन्त्र बलियो बनाउन सबै लाग्नुपर्ने सुझाव दिनुभयो ।

देशको अर्थतन्त्र बलियो बनाएर युग सुहाउँदो विकास आवश्यक रहेको चर्चा गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, “देशको विकासका लागि युवापिढीको मनोभावना बुझेर योजना बनाएर काम गर्नुपर्छ ।” 

पूर्व राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीको सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । समृद्ध राष्ट्र र सुखी नेपालीको नारालाई सार्थक बनाउन स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीको सामूहिक प्रयासको खाँचो रहेको भन्दै उहाँले सबैमा त्यसका लागि आव्हान गर्नुभयो । लोकतन्त्रको उन्नत रूप गणतन्त्र भएको चर्चा गर्नुहुँदै उहाँले राजनीतिक हिसाबले गणतन्त्र ठुलो उपलब्धि भएको बताउनुभयो । प्रस्तुत छ पूर्व राष्ट्रपति भण्डारीसँग गरिएको भिडियो संवाद :

भिडियोमाः मनोजरत्न शाही, सपना थामी र केशब गुरुङ

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।