• १० माघ २०८१, बिहिबार

खपत बढाउने अभियानमा सेना

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग आइतबार मन्त्रालयमा भेट गर्नुहुँदै प्रधानसेनापति प्रभुराम शर्मा ।नेपाली सेनाले पनि आयातित ऊर्जाको सट्टा विद्युत् खपत गर्ने रणनीति अख्तियार गर्ने भएको छ । खासगरी नेपाली सेनाका ठूला भान्छा (मेस)मा विद्युतीय चुलो र सम्भव भएसम्म सवारीसाधनलाई विद्युतीय बनाउन नेपाली सेनाले अभियान थालिसकेको जनाएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग आइतबार मन्त्रालयमा भएको भेटमा प्रधानसेनापति प्रभुराम शर्माले सोबारे जानकारी दिनुभएको हो । 

भेटमा मन्त्री भुसालले सुरक्षा निकायका भान्छालाई विद्युतीय बनाउन आवश्यक रहेको आँैल्याउनुभएको थियो । “सेनाको भान्छामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापन गर्नुपर्छ, त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तयारीका लागि सहयोग गर्न मन्त्रालय तयार छ,” मन्त्री भुसालले भन्नुभयो ।

मन्त्री भुसालले नेपाली सेनाले प्रयोग गर्ने सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्नेगरी निर्णय लिन पनि आग्रह गर्नुभएको थियो । 

आफूले निरन्तर विद्युत् खपत र निर्यातलाई जोड दिइरहेकोे चर्चा गर्दै मन्त्री भुसालले भन्नुभयो, “विद्युत् खपत बढाएर स्वदेशी ऊर्जालाई प्रवद्र्धन गर्नु हामी सबैको दायित्व हो । विद्युत् खपत हुँदा हाम्रो पुँजी बाहिर जाँदैन ।” 

नेपाली सेनाले पूर्वाधार विकासमा महŒवपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा जलविद्युत् परियोजनाको विकासमा पनि सेनाको योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।   

सो अवसरमा प्रधानसेनापति शर्माले नेपाली सेनाको भान्छा विद्युतीकरणतर्फ अगाडि बढेको जानकारी गराउँदै आगामी दिनमा त्यसलाई पूर्ण रूपमा लागू गर्दै लैजाने विश्वास दिलाउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले खाना पकाउन ठूलो स्टिमर प्रयोग गर्न सुरु गरेका छौँ । आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुलो प्रयोग गर्दै लैजाने छौँ ।” 

शर्माले नेपाली सेनाले प्रयोग गर्दै आएको पेट्रोलियम सवारीसाधनलाई विद्युतीयमा परिवर्तन गर्न पनि सुरु गरिसकेको जानकारी मन्त्रीलाई गराउनुभएको  थियो । “मैले विद्युतीय गाडी नै चढ्छु । आगामी दिनमा खरिद गर्ने सवारीसाधन पनि विद्युतीय नै हुनेछन्,” उहाँले भन्नुभयो ।

यसअघि ऊर्जामन्त्री भुसालले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग विद्युत् खपतका विषयमा विभिन्न चरणमा छलफल गर्नुभएको थियो । उहाँले ठूला होटलका साथै रेस्टुराँमा प्रयोग हुँदै आएको ग्यास चुलोलाई विद्युतीय चुलोले विस्थापन गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्न पहल गर्दै आउनुभएको छ ।

जलविद्युत्मा लगानी गर्न तयार

भेटका क्रममा प्रधानसेनापति शर्माले नेपाली सेनाले जलविद्य्त् क्षेत्रमा लगानी गर्न सक्ने बताउनुभएको छ । सरकारले नीतिगत व्यवस्थामार्पmत सहजीकरण गरिदिए नेपाली सेनाले जलविद्युत्मा लगानी गर्न सक्ने उहाँले बताउनुभयो । 

वातावरण संरक्षण र देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि विद्युत् खपत बढाउनुपर्ने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै उहाँले नीतिगत रूपमै सरकारले निर्णय गरे नेपाली सेनाले पनि जलविद्युत् विकासमा पनि लगानी गर्न सक्ने बताउनुभयो । छलफलमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उपस्थित हुनुहुन्थ्यो ।