सिरहा, जेठ १४ गते । हुलाकी लोकमार्ग अन्तर्गत १३ वर्षदेखि निर्माणाधीन सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण गर्न आगामी बजेटमा बजेट सुनिश्चितताको माग गर्दै सिरहाका स्थानीय आन्दोलित भएका छन् ।
पुल निर्माण सङ्घर्ष समिति गठन गरी तीन दिनदेखि स्थानीयवासी चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । स्थानीयवासीले गत शनिबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए । आइतबार विरोधस्वरुप बजार बन्द गराए । आज सिरहा सदरमुकाममा बिहान ८ देखि ११ बजेसम्म चक्काजाम र त्यसपछि सम्पूर्ण सरकारी कार्यालय बन्दको कार्यक्रम गरेको सङ्घर्ष समितिका संयोजक रवीन्द्रकुमार साहले जानकारी दिनुभयो ।
सङ्घर्ष समितिले गत शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको थियो । आव २०८१/८२ को नीति तथा कार्यक्रममा कमला पुल प्राथमिकतामा नपरेकाले जेठ १५ मा सार्वजनिक हुने बजेटमा कमला पुल निर्माणको सुनिश्चितता गरी बजेट विनियोजन गर्न दबाबस्वरुप आन्दोलन गर्नुपरेको सङ्घर्ष समितिका संयोजक साहले बताउनुभयो ।
“वर्षौँदेखि पुल नबन्दा यहाँका जनताको दुःख र पीडा असह्य भएको छ । हामीले सास्ती खेप्न नसकेर पटक-पटक आन्दोलन गर्दा पनि सरकारले सुन्दैन,” साहले भन्नुभयो, “प्रधानमन्त्रीको पूर्व प्रतिबद्धता अनुसार यसपालि बजेटमा कमला पुल निर्माणको सुनिश्चितता हुनुपर्छ । नभए हामी सशक्त आन्दोलनमा उत्रिन्छौँ ।” पुल निर्माण गर्न निर्माण कम्पनीले विभिन्न बहाना बनाइ एक वर्षदेखि ढिलासुस्ती गर्दै आएको तथा निर्माण कम्पनी र बिमा कम्पनीबिचको विवादले समयमै पुल बन्ने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो ।
सम्झौता भएको १२ वर्षपछि निर्माण भएको कमला पुल सञ्चालनमा नआउँदै तीन वर्षअघि दुई ठाउँमा भासिएको थियो । गत वर्ष वैशाख २४ गते हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’बिच २०८१ असार मसान्तसम्म पुलको पुनः निर्माण गर्ने सम्झौता भएको थियो । निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाले सम्झौता अनुसार काम सम्पन्न गर्न प्राविधिक कारणले सम्भव नरहेको बताउनुभयो ।
बिमा कम्पनीबाट पाउनुपर्ने पाँच करोड बराबरको रकम नपाएको र हाल यस विषयको विवाद काठमाडौँ जिल्ला अदालतमा विचाराधीन भएकाले आर्थिक सङ्कटमा परेको उहाँले जानकारी दिनुभयो । पुल निर्माण सुरु भएयता १३ वर्षबिचमा उच्चस्तरको सरकारी अनुगमन तथा निरीक्षण पटक पटक भएपनि स्रोत अभावका कारण निर्धारित समयमा पुल निर्माण हुन सकेको छैन । मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको आयोजनाअन्तर्गत वि.सं.२०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने गरी कमला पुलको ठेक्का लागेको थियो । रासस