• ४ असार २०८१, मङ्गलबार

गाजाको राफाह शिविरमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो

blog

राफाह (प्यालेष्टिनी क्षेत्र), जेठ १४ गते । प्यालेष्टिनी क्षेत्रको राफाहनजिकै विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको गाजाको नागरिक सुरक्षा निकायले सोमबार जनाएको छ ।

नागरिक सुरक्षा निकायका वरिष्ठ अधिकारी मोहम्मद अल–मुघैरले एएफपीसँग भन्नुभयो, “दक्षिणी गाजापट्टीको राफाह सहरको उत्तरपश्चिममा रहेको शरणार्थी टेन्टमा इजरायली सेनाले गरेको अन्धाधुन्ध हवाई फायरका कारण ४० जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन् ।”

“हवाई आक्रमणपछि शिविरमा बस्दै आएका दर्जनौँ व्यक्तिको शरीर क्षतविक्षत र मृत अवस्थामा देखिएको साथै उल्लेख्य सङ्ख्यामा घाइते बालबालिका, महिला र वृद्धवृद्धा शिविरमा त्रसित अवस्थामा भेटिएका छन्,” उहाँले भन्नुभयो ।

उहाँले उद्धारकार्यमा ठुलो चुनौती आएको बताउनुभयो ।

अल–मुघैरले भन्नुभयो, “शिविरमा इन्धनको अभाव छ । शिविरमा जाने सडकहरू ध्वस्त भएका छन् । यसले यी लक्षित क्षेत्रहरूमा नागरिक सुरक्षा वाहनहरूको आवागमनमा बाधा पुर्‍याएको छ ।” रासस/एएफपी