• ३ असार २०८१, सोमबार

लापिलाङ–बाबरे सडकखण्ड कालोपत्रे सुरु

blog

दोलखा समाचारदाता

दोलखा, जेठ १३ गते  ।  दोलखाको कालिञ्चोक गाउँपालिकाको उत्तरी क्षेत्रको मुख्य गाउँ लापिलाङ–बाबरे सडकखण्ड कालोपत्रेको काम सुरु भएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकमार्फत सुनखानी–साङ्बा सडकको लापिलाङदेखि बाबरेसम्मको खण्डमा कालोपत्रेको काम सुरु भएको कार्यालयका इन्जिनियर प्रतीक पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार कार्यालयले सो सडकखण्डको ढलानसहित १५ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का लगाएकामा वैशाख दोस्रो सातादेखि कालोपत्रेको काम सुरु भएको हो । कालिञ्चोक गाउँपालिका–६, लापिलाङको पाटागाउँस्थित दुधपोखरी पहिरोदेखि कालिञ्चोक गाउँपालिका–२, बाबरेको लप्सीबोटे सडकखण्डमा कालोपत्रेको काम भइरहेको छ । अहिले बाबरेको लप्सीबोटेबाट कालोपत्रेको काम सुरु गरी लामीडाँडाको खुरुले खोलासम्म झन्डै तीन किलोमिटर कालोपत्रे गरिसकिएको छ । कार्यालयका इन्जिनियर पौडेलले भन्नुभयो, “यही गतिले काम भए र मौसमले साथ दिए एक महिनाभित्र सडक कालोपत्रे सम्पन्न हुने अपेक्षा छ । १५ किलोमिटर सडकमध्ये सिमसार क्षेत्र, कमजोर भूगोल भएको ठाउँमा ढलानसमेत हुने छ ।”

तीन किलोमिटर ढलानको काम पनि अझै डेढ किलोमिटर बाँकी छ । ढलान छाड्दा १२ किलोमिटर कालोपत्रे गर्नु पर्छ । लापिलाङ पहिरो क्षेत्रमा सडकसमेत दुई वर्षअघि बगाएकाले त्यहाँ सडक अन्यत्रबाट ट्र्याक खोलिएको छ । पूर्वाधार विकास कार्यालयले दुई वर्षअघि उक्त सडकको वाल, नालीसहित कालोपत्रे गर्न निर्माण कम्पनी केएस सुनकोशी जेभीले झन्डै १७ करोड घटेर २७ करोड रुपियाँ लागतमा सम्झौता गरेको थियो ।

निर्माण कम्पनीका प्रतिनिधि कुशल खड्काले कालोपत्रेका लागि सम्पूर्ण उपकरण र निर्माण सामग्री पर्याप्त मात्रामा तयार गरेकाले मौसमको साथ र कुनै काबुबाहिरको परिस्थिति सिर्जना नभए जेठ मसान्तभित्र कालोपत्रेको काम सकिने दाबी गर्दै विगत वर्षका बाढीपहिरोलगायतका प्राकृतिक प्रकोप र बिचमा सरकारले व्रmसर उद्योग बन्द गर्दा काममा केही ढिलाइ भएको बताउनुभयो । आक्सफाल्ट कङ्व्रिmट प्रविधिको कालोपत्रे भइरहेको उक्त सडक सम्पन्न हुँदा दोलखाका उपल्ला उत्तरी गाउँहरू सदरमुकाम चरीकोटसँग नजिकिने छन् । सडक कालोपत्रे सम्पन्न हुँदा उत्तरी बस्तीहरू लापिलाङ, लामीडाँडा, बाबरे, कालिञ्चोक हुँदै खोपाचागुको साङ्बा बजार, बिगु गुम्बा, चिलङ्खा र आलम्पुका यात्रुलाई सहज हुने छ ।