• १५ असार २०८१, शनिबार

बागमती प्रदेशमा एकाउन्न प्रतिशत मात्र खर्च

blog

मकवानपुर समाचारदाता

हेटौँडा, असार १२ गते । बागमती प्रदेश सरकारले गत जेठ महिनासम्ममा चालु आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन गरेको बजेटको ५१ प्रतिशत मात्र खर्च गरेको पाइएको छ । चालु आव सकिन एक महिना बाँकी हुँदा प्रदेश सरकारको ३२ अर्ब २९ करोड ८१ लाख ८१ हजार ४५३ रुपियाँ अर्थात् ५१.५१ प्रतिशत खर्च भएको हो । 

प्रदेश सरकारले चालु आवका लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँ बजेट विनियोजन गरेकोमा गत वैशाख मसान्तसम्ममा ४१ प्रतिशत र चैत मसान्तसम्ममा ३५ प्रतिशतभन्दा कम खर्च भएको थियो । 

प्रदेश सरकारले चालु आवको वैशाखसम्ममा कुल बजेटको ४१.२६ प्रतिशत अर्थात् २५ अर्ब ८७ करोड ६१ लाख १० हजार ८५३ रुपियाँ खर्च गरेको थियो । चालु आवका लागि चालुतर्फ २६ अर्ब ४२ करोड १२ लाख ४५ हजार, पुँजीगततर्फ ३५ अर्ब ७८ करोड ७८ लाख ३३ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपियाँ विनियोजन गरिएको थियो । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले गत जेठ महिनासम्ममा पुँजीगततर्फ ५०.३१ प्रतिशत चालुतर्फ ५४.११ प्रतिशत खर्च भएको जनाएको छ ।

गत वैशाख महिनासम्ममा पुँजीगततर्फ ३८.३८ प्रतिशत, चालुतर्फ ४५.९५ प्रतिशत खर्च भएको थियो । बजेट खर्चमा कमजोर रहेको प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको बजेट खर्च भएको छैन । वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको बजेट विगतका वर्षमा खर्च अनुसार उपलब्धि नदेखिएकाले चालु आवमा खर्च नगरिएको जनाउँदै आएको मन्त्रालयले आगामी आवमा पनि वित्तीय व्यवस्थातर्फ विनियोजन गरेको छ ।

काम सम्पन्न भएका योजनाको बिल भुक्तानी, बिल फरफारकलगायतका काम असार महिनामा पनि हुने र खर्च प्रतिशत बढ्ने मन्त्रालयको दाबी छ ।