• ३ असार २०८१, सोमबार

जङ्गली जनावरका कारण वैकल्पिक खेती

blog

वैकल्पिक खेती गरेर बेसार उत्पादन गर्दै कम्दी कोरिडोरका महिला । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, जेठ १३ गते । वर्षभरि मेहनत गरेर तयार पारेको फसल क्षणभरमै जङ्गली जनावरले खाइदिनाले पीडित बनेका बाँके कम्दी कोरिडोरका अधिकांश किसान वैकल्पिक खेतीतिर लागेका छन् । 

पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएसँगै जनावरहरू आहारा खोज्दै गाउँ पस्न थालेर खेतबारीमा क्षति पु¥याउन थालेपछि यहाँका महिलाहरू बेसार खेतीतर्फ आकर्षित भएको आस्था सामुदायिक वन उपभोक्ता समूहका सदस्य पूर्णकला गिरीले बताउनुभयो । 

अन्नबालीको उत्पादन लिन नसकेका किसानले बेसार खेतीबाट राम्रो आम्दानी लिन थालेको सामुदायिक वन उपभोक्ता समूहका सदस्य गिरीले बताउनुभयो । 

जङ्गली जनावरले धान, मकै, गहुँलगायत अन्नबाली नोक्सान गरिदिँदा परम्परागत तबरले खेती गर्दै आएका किसानले विकल्पका रूपमा बेसार खेती सुरु गरेका छन् । कोहलपुर नगरपालिका–७, सल्यानी टोलमा रहेको आस्था सामुदायिक वन उपभोक्ता समूहमा १८ जना महिलाले बेसार उत्पादन सुरु गरेका छन् ।

सामुदायिक वनमा आबद्ध उपभोक्ताको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले तराई भूपरिधिले किसानलाई निःशुल्क रूपमा बेसारको बिउ तथा तालिमसँगै एक लाख १० हजारको बेसार पिस्ने र प्याकिङ गर्ने मेसिनसमेत उपलब्ध गराएको तराई भूपरिधि कार्यक्रमका फिल्ड सुपरभाइजर तिलक चौधरीले बताउनुभयो ।