• ४ असार २०८१, मङ्गलबार

दाफा खलः

blog

देशको परिस्थिति र आवश्यकताका आधारमा परम्परागत रूपमा सिर्जना हुँदै आएको शास्त्रीय राग, परम्परागत बाजाको ताल र शब्दहरूको संयोजन नै दाफा हो । परम्परागत खिं (मृदङ्ग) बाजा बजाई स्तोत्र (भजन) गीत गाउनुलाई दाफा भजन भनिन्छ । दाफा भन्नाले खिं बाजाका साथमा अन्य विभिन्न वाद्य सामग्री प्रयोग गरी गाइने, बजाइने साङ्गीतिक विधालाई भनिन्छ । दाफामा परम्परा र ऋतु अनुसार बाँसुरी, पोङ्गा, डमरुलगायतका बाजा पनि बजाउने चलन छ । दाफा सबै शास्त्रीय रागमा आधारित भएका हुन्छन् । यो मानिसहरूको समूहमा गाउने गरिन्छ; जसलाई दाफा खलः भनिन्छ । दाफामा मूल रूपमा प्रयोग गरिने बाजाहरू खिं, ताः, झ्याली र पोङ्गाको तालमा समूहमा बसेर पालैपालो भजन गाउनु दाफाको प्रमुख विशेषता हो । चो, लंताल, प्रताल, जति, पलेमा, अस्त्र, गह आदि तालमा बजाउने यस दाफा बाजामा मालश्री, धनाश्री, वसन्त, श्रीभूपाली, प्रथमाञ्जली आदि रागका आधारमा थरी थरीका भक्ति गीत गाउने यो मौलिक शास्त्रीय परम्परागत सामूहिक भक्ति सङ्गीत हो । दाफाले शास्त्रीय तथा लोकगीत परम्परालाई जीवन्त बनाइराखेको छ । 

दाफाको इतिहास

विभिन्न भक्ति गीतको रचनाबाट दाफा भजन गाउने परम्परा विकास भएको देखिन्छ । मानव सभ्यताको विकासका व्रmममा रचिएका भक्ति गीत, सङ्गीतले दाफाका रूपमा मान्यता पाएको छ । मानव सभ्यताको विकाससँग जोडिएको दाफा भजन गाउने कार्यको ऐतिहासिक विकासक्रम हेर्दा लिच्छविकालतिर दृृष्टि पु-याउनु सान्दर्भिक देखिन्छ । लिच्छविकालमा यज्ञ, वेदाध्यन, स्तोत्र लेखन कार्यको सुरुवात भइसकेको थियो । लिच्छविकालको हाँडीगाउँको सत्यनारायणस्थानको अभिलेख (वसन्तदेव ताका) को त्रिहत्तरौँ हरफमा वैदिक परम्पराको जोडदार रूपमा समर्थन गर्दै ‘भगवतो व्दैपायनस्य स्तोत्रङकृतमनुपरमेन’ भनी अनुपरम (भौम गुप्तका पिता) ले  भगवान् द्वैपायनको स्तुति गाएको पाइन्छ ।  (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, २०३० आषाढ, पृष्ठ १५८–१६४)  

यस समयमा बाजाले प्रवेश पाइसकेको कुरा ललितपुर, लेलेको शिवदेव (प्रथम) र अंशुवर्माको संवत् ५२६ को अभिलेखबाट पुष्टि हुन्छ । उक्त अभिलेखमा ‘वादित्त्रगौष्ठिकानाम्मा १०’ अर्थात् बाजा गुठीका गुठियारलार्ई १० मानिका आयस्ता तोकिएको कुरा उल्लेख गरेको छ । (ऐ. पृष्ठ २८२–२८९) यो आयस्ता लेम्बटिद्रङ्गको इलाकामा खेत हुने व्यक्तिले गुठीका लागि दिनु पथ्र्याे । त्यस समयमा बाजा बजाउने र सिकाउने कार्य गुठीबाट हुने गरेको प्रस्ट छ । 

प्राचीन परम्परा अनुसार राजाको दैनिक कार्य मङ्गल बाजाद्वारा सुरु गरिन्थ्यो । अंशुवर्माको संवत् ३० को हाँडीगाउँस्थित अभिलेखको पन्ध्रौँ हरफमा ‘नान्दीशङ्खवादयोः पु २५’ उल्लेख भएबाट नान्दीका लागि विशेष बाजा बजाइन्थ्यो र यसका लागि भाग २५ पुराण (मुद्राको एकाइ) छुट्याइएको थियो भन्ने कुरा थाहा पाइन्छ । (ऐ. पृष्ठ ३०१–३०८) त्यस्तै गोरखनाथ गुफाको शिवदेवको संवत् १२२ को अभिलेखमा पनि 

‘वादित्त्र’ को उल्लेख भएको छ । (ऐ. पृष्ठ १५८–१६४) त्यसबेला राजाले दैनिक कार्य गर्दा र मन्दिर, दरबारमा पूजा गर्दा बाजा बजाउनु पथ्र्यो भन्ने कुरा प्रस्ट भएको छ । 

लिच्छविकालदेखिको इतिहास बोकेको बाजा संस्कृति ठकुरी मल्लहरूको शासनकालमा उत्कर्षमा पुगेको देखिन्छ । एघारौँदेखि सत्रौँ शताब्दीसम्म नेपालमा दाफा भक्ति गीत, सङ्गीतको रचना गर्ने र गाउने कार्य बढ्न थालेको पाइन्छ । परम्परागत शास्त्रीय सङ्गीत, नृत्य र नाटक यस समयमा सञ्चालन भएका थिए । यसै समयमा दाफाको विकास भएको देखिन्छ । १२ औँ शताब्दीमा भारतमा जन्मेका जयदेवले संस्कृतमा ‘गीत गोविन्द’ रचना गरेका थिए । काठमाडौँको हनुमानढोका दरबारमा अहिले पनि वसन्तपञ्चमीका दिन सरस्वतीको पूजासमेत गरी वसन्त रागमा गीत गोविन्द गाउने परम्परा छ । गीत गोविन्दका श्लोकहरूले वसन्त ऋतुमा राधा र कृष्णको दिव्य प्रेमलाई वसन्त रागमा सङ्गीतमय प्रस्तुतिका साथमा प्रस्तुत गर्ने गरेको विश्वास गर्न सकिन्छ । 


मल्लकालमा धेरै नाटक लेखेर मञ्चन गर्ने कार्य थालनी भइसकेको थियो । राजा अरि मल्लदेव (नेसं ३२१ देखि ३३६ सम्म) को समयमा ‘मही रावणवध’ नाटक रचेर मञ्चन गरिएको र सो नाटकमा भक्ति गीत रहेको कुरा डा. साफल्य अमात्यको लेख (मधुपर्क, २०६६ भदौ) मा उल्लेख गरिएको छ । नेपाल भाषामा भक्ति गीतहरूको रचना नेसं ६१६ मा राय मल्लको समयदेखि नै विकसित भइसकेको इतिहासको अध्ययनबाट देखिन्छ । भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिरको वर्णन गरिएको राजा भूपतीन्द्र मल्लको भक्ति गीत र विस्काः जात्रामा गाइने राजा रणजित मल्लको भक्ति गीत अझै पनि त्यहाँ गाउने गरिन्छ । नेसं ७४८ मा राजा जगज्योतिर मल्लको ‘गीता पञ्चशिका’ र नेसं ६२२ मा राजा जगतप्रकाश मल्लको ‘पद्यसमुचय’ का भक्ति गीतले धेरै प्रसिद्धि पाएको कुरा इतिहासमा पढ्न पाइन्छ । सिद्धिनरसिंह मल्लले ‘श्री सिद्धिनरसिंह स्वामीको गीत’ शीर्षकमा रचेका २२ वटा भजनको हस्तलिखित ग्रन्थ नेपाल राष्ट्रिय अभिलेखालयमा राखिएको छ । उनले ३२ रागमा रचेका भक्ति गीतलाई विभिन्न परम्परागत बाजाको तालमा पाटनको कार्तिक डबलीमा प्रत्येक वर्षको ज्येष्ठ पूर्णिमाका दिन गाइने प्रचलन अहिले पनि रहिआएको छ । कार्तिक नाचका अवरसमा पनि यी भजन गाइने गरेको तथ्य हामीसामु छँदै छ । 

नाचमा परम्परागत दाफा

मल्लकालदेखि प्रचलनमा आएको काठमाडौँ किलाघःको देवी नाच, नरदेवीको श्वेतकाली नाच, पाटनको कार्तिक नाच, भक्तपुरको देवी नाचमा नातेश्वर र सम्बन्धित देवीको स्तुति वन्दना गर्ने र नाच नचाउने गरिन्छ । नाचमा परम्परागत दाफा गाउने गरिन्छ । नेसं ७८४ मा काठमाडौँको तलेजु मन्दिरमा राजा प्रताप मल्लले बनाएको पौभाः चित्रमा तलेजु परिसरको धार्मिक गतिविधिमा राजाले छोराको तौल बराबरको गरगहना र चाँदी तौलिरहेको र सबै मिलेर दाफा गाएको दृश्य पनि छ । त्यो दृश्यमा महिला भने देखिँदैनन् । त्यतिबेला दाफा भजनमा महिला सरिक हुन नहुने परम्परा रहेको बुझ्न सकिन्छ ।  

मल्लकालको चार सय वर्षको अवधिमा भक्ति गीत धेरै नै रचिएका थिए । राजाहरू स्वयं यसमा पारङ्गत तथा सोखिन थिए । यस समयमा संस्कृत, मैथिली, नेवाः, भोजपुरी, अवधी भाषामा पनि भजन रचिएका थिए । त्यतिबेलाको जयदेवको ‘गीत गोविन्द’ लाई नेवाः भाषा र अक्षरमा सारिएको हस्तलिखित ग्रन्थ र राजा भूपतीन्द्र मल्लले लेखेको मैथिली भाषाका गीतहरूको सङ्ग्रह नेपाल राष्ट्रिय अभिलेखालयमा छ । इतिहासमा ज्योतिर मल्ल सङ्गीत शास्त्र जान्ने राजाका रूपमा देखिएको छ । श्रीनिवास मल्ल, योगनरेन्द्र मल्ल, भूपतीन्द्र मल्ल, विष्णु मल्ल, जयप्रकाश मल्ल, महिन्द्र मल्ल, रणजित मल्ल, भूपालेन्द्र मल्लकी रानी ऋद्धिलक्ष्मीको भजन उपत्यकामा गाउने प्रचलन रहेको छ । अठारौँ शताब्दीका कवि अमृतानन्द पण्डितले रचेका भक्ति गीतहरू र कवि विद्यापतिका भक्ति गीतहरू अहिले प्रसिद्ध छन् ।

दाफा गाउने तरिका 

परम्परागत खिं बाजालाई मुख्य बाजा मानी सोही बाजाका साथ अन्य परम्परागत बाजा प्रयोग गरी त्यसैको तालमा बजाउने सङ्गीत र गाइने शास्त्रीय रागहरूको संयोजन नै दाफा हो । दाफा गाउँदा बजाइने खिं, ताः, पोङ्गामा सबै सुर, ताल बज्नु पर्छ । खिं र ताः बाजाको ताल चुक्न गएमा भजन गाउने व्यक्तिहरू अल्मलिने गर्छन् भनी दाफाका जानकारहरू भन्ने गर्छन् । दाफामा विभिन्न बाजा बजाउने र गीत गाउने व्यक्तिले खिंको ताललाई पछ्याएर गाउँदै र बजाउँदै जानुपर्ने देखिन्छ । सबै तालमा खिं बाजाका विविध अङ्ग जस्तै– छाती, मात्वा, चाकः, घोंचाक, गौ, न्ह्या आदि समावेश भएको हुन्छ । गीतको बिच बिचमा 

‘हाँदे’ शब्दको प्रयोग गरिएको हुन्छ । गीत गाउँदागाउँदै सुरमा जान गाह्रो हुने कारणले त्यस्तो समस्या हटाउनको यो शब्दको सहारा लिने गरिन्छ । समूह नाइकेले ‘हाँदे’ शब्दलाई जुन सुरमा गाउँछ, बाँकीले पनि त्यही सुरमा गाउँछन् । त्यसैले दाफा गाउने र बाजा बजाउने सबै कुशल हुनु पर्छ । दाफा गाउनुपूर्व शास्त्रीय राग गाउनुपर्ने मान्यता छ । त्यसपछि सोही रागमा रचिएका विभिन्न गीतमा ताल मिलाई गाउने र सोही तालमा नाच्ने परम्परा अहिलेसम्म रहिआएको छ ।   

दाफा भजनमा गाइने गीत विभिन्न समय, परिस्थिति र ऋतु अनुसार फरक फरक हुने गर्छ । विभिन्न समयमा मनाइने जात्रा, पर्व, उत्सवमा फरक फरक गीत गाउनुपर्ने मान्यता छ । ऋतु अनुसार गीत पनि फरक फरक गाउने प्रचलन छ । ग्रीष्म ऋतुमा मनाइने कुमार षष्ठी (सिठी) देखि घण्टाकर्ण चतुर्दशीसम्म धातु, पुवारे, सिन्हाज्या, वर्षा ऋतुमा घण्टाकर्ण चतुर्दशीदेखि ञँला पूर्णिमासम्म तकज्या, शरद ऋतुमा सिल्हु गाउने गरिन्छ । त्यस्तै हेमन्त ऋतुको बडादसैँमा मालश्री, शिशिर ऋतुको श्रीपञ्चमीमा स्वला मदुम मचाः, वसन्त ऋतुको श्रीपञ्चमीदेखि बुद्धपूर्णिमासम्म वसन्त, तप्पा, होली गाउने गरिन्छ । शास्त्रीय रागहरू पनि समय अनुसार गाउने प्रचलन छ । ऋतु र समय अनुसार गाउनु नै दाफाको मौलिकता हो । यसमा समय, परिस्थितिको राम्रोसँग ख्याल गरिएको हुन्छ । समय अनुसार नै शब्दहरूको रचना गरिएको हुन्छ । 

भक्ति गीतहरूमा सङ्गीत नभरेसम्म त्यो केवल कविता र श्लोकको रूपमा मात्र सीमित रहने  गर्छ । भक्ति गीत र सङ्गीतको शास्त्रीय मेल नै दाफा हो । यस्ता दाफा शास्त्रीय रागहरूमा आधारित रहेर गाउने गरिन्छ । राजा सिद्धिनरसिंह मल्लका ३२ रागमध्ये ‘श्यामधनी’ नामको राग ‘मेघ मल्हार’ गाएपछि वर्षा हुने जनविश्वास छ । सङ्गीतको प्रत्येक राग कुनै न कुनै रससँग सम्बद्ध हुन्छन् । जस्तै– राग ‘भीमपलासी’ वीर रससँग तथा ‘मालकौँस’ सम्बन्ध शान्त रससँग हुन्छ । वसन्त, मधुऋतुको आगमनमा उल्लास र उत्साहको सृष्टि हुन्छन् तथा ‘मेघ’ र ‘मल्हार’ राग वर्षा ऋतुको आगमनमा खुसी प्रकट गर्छन् । ‘भैरवी’ को माध्यमबाट भक्ति र प्रेमको भावना मिल्छ । राग ‘तोडी’ को स्वरमा करुणा रसको आभास मिल्छ । ‘देश’ र ‘सोरठ’ जस्तो रात्रि गाउने रागले विरह तथा प्रेमको भाव पैदा गर्छन् भने राग ‘दरबारी’ ले गम्भीरताबाट व्यक्तिमा भावुकता पैदा गर्छ । (भक्तपुर मासिक, वर्ष ४०, अङ्क १०, २०८० भाद्र, पृष्ठ ४४, ४५) त्यसैले दाफामा सङ्गीतको विशेष महìव रहेको हुन्छ ।

विशेषतः दाफामा विभिन्न राग तथा तालहरू प्रचलन रहेको कुरा यससम्बन्धी ठ्यासफु (पुस्तक) बाट पाइएको छ । जयश्री, माल, भूपाली, कोला, सारङ्ग, विभाष, कौसिक, सोरथ, नत, इमल, वल्लारी, मालश्री, वसन्त, मालुवा, भैरव, धनाश्री, विजय, कौमाद, आशावरी, षटमञ्जरी, केवट, श्री, श्याम, गौरी, काफी, सिन्हाज्या, बाह्रमास, नाटक, मञ्जरी, गाली, धातु, जजवन्ती, ब्याँचुली, तितलमोद, विलावल, भक्त आदि राग तथा पलेमा, धलञ्जली, तिमा, चो, अस्तरा, थकता, नवमा, पञ्चमा, रूप, पञ्चताल, बाह्रमा, सातमा, जति, लवंता, चो एकता, ब्रह्मताल, चल्ती, प्रता, गन्ध, दोमा प्रता, प्रतिमण्ठ, चो जति आदि ताल रहेको पाइएको छ । त्यसैले दाफा गाउने व्यक्तिहरूमा शास्त्रीय राग र तालको ज्ञान हुनु जरुरी छ । 

गीतमा समय, परिस्थिति, जात्रा, पर्व अनुसार फरक फरक गाउने गरेको पाउँछौँ । यस्ता गीत ठाउँ अनुसार फरक फरक रचना गरिएको र सोही अनुसार गाउने गरेको पाइन्छ । एक ठाउँमा गाइने गीत अर्को ठाउँमा नगाउने अवस्था पनि हुन्छ । भूपतीन्द्र मल्ल, रणजित मल्लद्वारा रचिएको भजन भक्तपुरमा बढी प्रचलनमा रहने देखिन्छ । ‘चम्पापुरी नगरमे वज्रवाराही देवीमाई’ गीत चापागाउँको दाफा भजनमा गाइने गरेको पाइन्छ । नेसं ९०० ज्येष्ठ मास कृष्णपक्षमा राजा राजेन्द्रविव्रmम शाहका शासनकालमा रचिएको ‘पाताल बिज्याक निये न्हेस दं याव’ गीत वज्रवाराही देवीलार्ई समर्पण गरिएको छ । राजा विष्णु मल्लको पालामा रचिएको ‘नसं चास्ये मो लं ल्हुय भिमस्येन दरशन याये’ गीतमा व्यापारीले भीमसेनको दर्शन, पूजा गर्नुपर्ने र प्रसाद लिनुपर्ने वर्णन गरिएको छ । रणजित मल्लको शासनकालको ‘राम राम गथे’ गीतमा विदेशको बास भएकाले पिँजडाको चरा जस्तै भएको र नवदुर्गा, गणेशसँग बिन्ती गरी अपराध क्षमा गरिदिनु भन्ने कुरा परेको छ । ललितपुरका राजा श्रीनिवास मल्लको शासनकालमा रचिएको ‘हादे तनमानि देव सकलें न’ गीतमा देशका विभिन्न ठाउँका देवदेवीले देशको रक्षा गर्नु भनिएको छ । 

दाफा शाहकालमा पनि निकै लोकप्रिय भएको देखिन्छ । पृथ्वीनारायण शाह स्वयंले पनि बाबा गोरखनाथको एउटा भजन रचेको पाइन्छ, ‘बाबा गोरखनाथ सेवक सुषदाये, भजुहुँ तो मनलाये । बाबा चेला चतुर मन्छिन्द्रनाथको, अधबुध रूप बनाये ।’ राजा रणबहादुर शाहले देवी भगवतीको प्रार्थनाका लागि दुईवटा मालश्री रचेका छन् । तीमध्ये एउटा मालश्री अझै दसँै ताका गाइएको सुन्न पाइन्छ । यिनै राजाका पालामा रचिएको शितला माजुको गीत अहिले पनि दाफामा गाउने गरिएको छ । राजाले आफ्नो छोरा गीर्वाणयुद्धविव्रmम शाहलाई तःकै (विफर) नसरून् भन्दै सबै शिशुलाई काठमाडौँ उपत्यका कटाई तामाकोशीपारि पु¥याएको पीडादायी गीत दुई सय वर्षदेखि गाउँदै आइरहेको छ । ‘स्वामी जुजुया धर्म मदया कची मचा वाके छोत, वनेमाल तामाखुसि पारि । नेपालया छत्रपति श्री रणबहादुर परजात अति दुःख सिल’ शब्दको यो गीतमा विफरको महामारीका कारण प्रजाले दुःख पाएको ऐतिहासिक पीडाको भयावह मृत्युको गाथा उल्लेख गरिएको छ । 

समूहमा मिलेर दाफा गाउनु अहिले परम्परा नै बनिसकेको छ । राजाको प्रशस्ती गाइएको भजन दफामा गाउने प्रचलन रहेको छ । बागमती, विष्णुमती नदी, चोभार, फुल्चोकी, स्वयम्भू डाँडा जस्ता प्रकृति, पञ्चबुद्ध, पशुपति, टीकाभैरव, सिकाली, हरिसिद्धि, वज्रवाराही, धार्मिक तीर्थस्थल आदिको वर्णन पनि दाफामा गरेको पाइन्छ । ‘मायादेवीया काय अति न सुन्धर’ गीतमा भगवान् बुद्धको बारेमा वर्णन गरिएको छ । देशको शासनव्यवस्थाको कालव्रmम पनि दाफा गीतमा उल्लेख हुने हुँदा यस विषयमा पनि जानकारी पाउन सकिन्छ ।

नेवाः सभ्यताको अमूर्त सम्पदा

लिच्छविकालदेखिको इतिहास बोकेको परम्परागत दाफा मल्लकालदेखि हालको अवस्थासम्म निरन्तरता पाएको देखिन्छ । नेपालको काठमाडौँ उपत्यकाभित्रको नेवाः बस्तीमा गुँला, दसैँ, देवदेवीको जात्रा, उत्सवमा टोल टोलमा बिहान वा साँझ इष्टदेवको मन्दिर वा द्यः छेँअगाडि रहेको पाटीमा दाफा गाउने गरेको देख्न सकिन्छ । दाफा प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीका दिनदेखि गाउन सुरु हुन्छ । दाफा नेवाः सभ्यताको अमूर्त सांस्कृतिक सम्पदा हो । दाफा गाउने कार्य मात्र नभई यो समाजलाई एकताबद्ध बनाइराख्ने कडी हो, एउटा सङ्गठन हो । 

नेपाल संस्कृतिमा धनी छ । विभिन्न जात्रा, पर्व, मेला, उत्सव, पूजापाठ नै देशको संस्कृतिका उपज हुन् । यी विभिन्न संस्कृतिसँगै जोडिएर आउने दाफा भजन पनि एक मौलिक संस्कृति हो । पितापुर्खाहरूले लामो समयदेखि उपयोग गर्दै आएको दाफा भजन अहिलेको अवस्थासम्म आइपुग्दा अमूर्त सांस्कृतिक सम्पदा बन्न पुगेको छ । आधुनिक गीत, सङ्गीतको विकासपछि विस्तारै दाफा गाउने प्रचलनमा कमी आउन थालेको छ । 

मानिसले जन्मेसँगै विभिन्न धर्म, संस्कृति, परम्पर्रा अँगाल्दै जीवनलाई अगाडि बढाउँदै लगेको हुन्छ । मानव सभ्यताको विकाससँगसँगै गीत, सङ्गीतले पनि समाजमा स्थान पाउँदै आएको अवस्था   छ । समुदायमा गुठी स्थापना गरी त्यसैमार्फत बाजा सिकाउने र विभिन्न अवसरमा दाफा गाउने र यसको सञ्चालन तथा संरक्षण गुठीबाट हुँदै आइरहेको इतिहास हामीसामु छ । दाफा संस्कृतिको धरोहर हो तर गुठीप्रति मानिसको चासो घट्दै गएको र गुठी विस्तारै मासिँदै गएका कारण दाफा भजनमा पनि सङ्कट आउन थालेको छ । परम्परागत बाजा तथा शास्त्रीय रागको ज्ञान, सिपको कमीले पनि दाफाप्रति मानिसको रुचि घट्दै गएको छ ।

संरक्षणको पहल जरुरी

दाफामा गाइने गीत तथा प्रयोग हुने बाजाहरू आफैँमा मौलिक छन् । पुर्खाहरूले सुन्दै, सार्दै आएको हस्तलिखित ठ्यासफु नयाँ पुस्ताका लागि अभिलेख हो । नेपालको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ र विश्वको सांस्कृतिक अधिकारसम्बन्धी महासन्धि, १९७२ ले यस्ता महìवपूर्ण अभिलेख तथा दाफा गाउने विविध मौलिक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । समुदाय, समूह वा व्यक्तिहरूले सम्पदाका रूपमा महìव दिएको वस्तु, उपकरण, महìव दिएको ज्ञान, अभिव्यक्ति अमूर्त सम्पदा हुने भन्दै अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ ले परिभाषा गरेको छ । दाफा संस्कृति यसै अमूर्त सांस्कृतिक सम्पदाभित्र पर्छ । इतिहाससँग जोडिएको दाफा संस्कृति व्यक्ति र समाजको पहिचान हो । यसले आदिवासी नेवाःहरूलाई धनी बनाएको छ । आदिवासी तथा जनजातिसम्बन्धी महासन्धि, १९८९ ले आदिवासीको सामाजिक, सांस्कृतिक पहिचान, परम्पराको सम्मान गरेको छ । सङ्घीय शासनव्यवस्थामा कला, संस्कृतिको संरक्षण, उत्थान तथा विकास गर्नु राज्यको दायित्वभित्र पर्छ । सांस्कृतिक अधिकारका रूपमा रहेको दाफा संस्कृतिको संरक्षणका लागि प्रत्येक स्थानीय तहबाट आवश्यक पहल गर्नु जरुरी छ । 

लिच्छविकालमै बाजा बजाउन र सिकाउनका लागि गुठीको सुरुवात भइसकेको थियो । गुठी र दाफाको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । दाफा खलः विभिन्न परम्परागत गुठीमा आश्रित भएर रहेको हुन्छ । अहिले गुठी परम्परा बिस्तारै हराउँदै जान थालेकाले समुदायबाटै नयाँ पुस्तालाई बाजाको प्रशिक्षण दिँदै जानुपर्ने देखिन्छ । यसका लागि दाफा गीत, सङ्गीतमा दखल भएका ज्येष्ठ नागरिकहरू सिकाइको स्रोत बन्न सक्छन् । सबैको साथ, सहयोगबाट यसलाई निरन्तरता दिँदै गएको खण्डमा प्राचीन दाफा संस्कृतिले संरक्षित हुने मौका पाउँछ । समाजलाई एकताबद्ध बनाइरहन मद्दत पनि गर्छ । सभ्यताको विकासव्रmमसँगै हुर्कंदै आएको मौलिक संस्कृतिले देशको विशिष्ट पहिचान बनिरहन्छ ।