• ३ असार २०८१, सोमबार

त्यो क्रान्तिको प्रतीक

blog

गोविन्दबहादुर मल्ल गोठाले नेपाली कथा जगत्को प्रथम चरणका यशस्वी कथाकार हुन् । सुब्बा ऋद्धिबहादुर मल्लका छत्रछायामा हुर्केका उनले जीवनको प्रारम्भिक क्षणमै साहित्य सिर्जनाको अनुकूल वातावरणसित एकाकार हुने सुअवसर पाए । सुब्बा ऋद्धिबहादुर मल्लले आधुनिक नेपाली आख्यान साहित्यको प्रथम चरणमै फ्रान्सेली तथा बङ्गाली साहित्यका केही सुन्दर कृतिहरू अनुवाद गरी भिक्टर ह्युगो, रवीन्द्रनाथ ठाकुर, सरत्चन्द्र चटर्जी जस्ता विशिष्ट साहित्यकारलाई नेपाली साहित्यका पाठकमाझ परिचित गराएका थिए । उनले ती महान् स्रष्टाहरूका अमर कृतिहरूलाई नेपाली भाषामा अनुवाद गरी उनीहरूका कृति ‘नोटे«ड्यामको कुम्भे’, ‘गोरा’, ‘डुङ्गा डुब्यो’, ‘शेष प्रश्न’ जस्ता सुन्दर कृतिहरूलाई विश्व साहित्यको फूलबारीबाट ल्याएर नेपाली साहित्यको ब्याडमा रोपे । भाषासेवी, जोरगणेश प्रेसका संस्थापक, युगद्रष्टा, उद्योगी पिताका लाडप्यारमा हुर्किएका, बाहिरबाट हेर्दा अलिकति सोझो जस्तो देखिने तर भित्री मनका भने निकै बाठा कुशल चिन्तक, अल्पभाषी, मानवतावादी गोठालेले समयक्रममा आफूलाई कलमका एक जना कुशल जादुगर साबित गरे । खास गरी मानिसका मनका आन्तरिक उतारचढाव, द्वन्द्व, सङ्घर्ष, पीडा आदिलाई शब्दका माध्यमले उद्घाटन गरेर राम्ररी केलाउन सक्ने उनले अभावग्रस्त जिन्दगी भोगिरहेका, तल्लो तहको निम्नस्तरीय जीवन भोगिरहेका आममानिसका दुःखदर्द केलाउने प्रयत्न गरे । यसका अतिरिक्त उनले ती आममानिसका पक्षमा आवाज उठाएर आफूलाई समाजको पीडित वर्गको पक्षमा आफ्नो पक्षधरतासमेत प्रदर्शन गरे । उनी नेपाली समाजको तल्लो सतहमा रहेका आममानिसप्रति सहानुभूति भएका मानिस थिए । उनले जनताका लाइनमा रहेका तिनै मानिसका कथाव्यथालाई उदाङ्गो पारेर देखाउने प्रयत्न गरे । मानिसका आन्तरिक मनोभावनाका कुशल चित्रकार गोठालेले आफ्ना कथामा सामाजिक र राजनीतिक परिवर्तनका चाहना र परिघटनालाई उद्घाटन गर्ने प्रयत्न गरेका छन् ।  

‘त्यो क्रान्तिको प्रतीक’ पूर्वदीप्ति शैलीमा संरचित नेपाली व्रmान्तिको प्रारम्भिक कालमा सिर्जना गरिएको उहाँको एउटा राजनीतिक–मनोवैज्ञानिक कथा हो; जसले कथाकारलाई समाख्याताका रूपमा प्रस्तुत गरेर तत्कालीन शासक वर्गको सान रवाफ, आदिबारे व्यङ्ग्यात्मक वर्णन तथा त्यसको विरुद्धमा नेपाली जनमानसमा भुसको आगोसरी भित्रभित्रै पmैलँदै गएको जनव्रmान्तिको उभार र राज्यसत्ता परिवर्तनको सङ्केतलाई औँल्याउने काम गरेको छ । कथाकार गोठालेले कथाको प्रारम्भमै यस कथाको समाख्याताका आवरणमा राणाहरू मानसिक द्वन्द्व र उथलपुथलको भुमरीमा नाच्न थालेको एउटा प्रसङ्ग यसरी उल्लेख गरेका छन्, “केही न केही जरुर हुने छ । हाम्रो वर्ग वा घरपरिवारको पहाड जस्तो शक्ति एक न एक दिन चुर चुर हुने छ र हाम्रो चहकमहकमा प्रेत नाच्ने छ ।” त्यस्तो अभिव्यक्तिसँगै राणाहरू दृढ र निर्भीक जनतासित भित्रभित्रै कतिसम्म डराउँदै गएका थिए र आफ्नो पतन नजिकिँदै गएको देख्न थालेका थिए भन्ने कुरा पनि कथाकारले अभिव्यक्त गरेका छन् । 

राजाको भन्दा पनि बढी सानसौकतमा सुखसयल भोग गरिरहेका राणाहरू जनतामा आएको जागरणदेखि एकदम तर्सेका थिए । उता जनता भने निर्भीकतापूर्वक सङ्गठित रूपमा दिनप्रतिदिन अगाडि बढिरहेका थिए । ती जनताका बिचबाट आएका तिनका सन्ततीहरू क्रन्तिका प्रतीक थिए भन्ने कुरा पनि यहाँ स्पष्ट रूपमा उल्लेख भएको छ । कथाकारले यहाँ प्रस्तुत गरेको जनताको प्रतिनिधि राणासँगै दरबार स्कुलमा पछिल्लो बेन्चमा बसेर चुपचाप सुन्ने र अरूको बदमासी वा उपद्रो पनि आफूले नै स्वीकार गर्ने निर्भीक पात्रमा लौहपुरुष गणेशमानको प्रतिविम्ब देख्न सकिन्छ । राणा शासनको पतन दिनप्रतिदिन नजिकिँदै गइरहेको र त्यसरी नै आफ्नो वर्गको पतन पनि त्यही रफ्तारमा नजिकिँदै आइरहेको, आफ्नो वर्गीय विनाशको प्रलयकारी भुमरीको उभार लहरका रूपमा अगाडि बढेर आइरहेको कुरा समाख्याताले वर्णन गरेको समेत कथामा देखाइएको छ । नेपाली जनता र सिङ्गो राष्ट्रलाई शोषण र दमन गरेर सङ्कलन गरेको राणाहरूको धनदौलतमा धमिरा लाग्न सुरु भएको र त्यो व्रmमशः क्षय हुँदै गइरहेको कुरा पनि कथामा वर्णन गरिएको छ । पुस्तान्तरणका क्रममा राणाहरूको सान तथा रोब व्रmमशः ओरालो मार्गतिर लागिरहेको र जनव्रmान्तिको लहर भने मौलाउँदै गएको कुरा पनि यहाँ उल्लेख गरिएको छ । हिजोको आफ्नो रोब बचाउन आफ्ना जिन्सी सामानहरू बिक्री गर्न बाध्य राणाहरू ती कुराप्रति आमजनतालाई भने कुनै सरोकार नरहेको कुरासमेत कथामा उल्लेख छ । भौतिक रूपमा राणाहरू खोव्रmो हुँदै गइरहे पनि फोस्रो आडम्बर देखाउन उनीहरू अझै लालायित भइरहेको कुरा कथामा प्रदर्शन गरिएको छ । 

कथाकार गोठालेद्वारा यस कथामा राणाहरू पतनको मार्गमा अगाडि बढिरहेको र जनताका झुत्रेझाम्रे छोराहरू शासकका रूपमा विकसित हुँदै गइरहेको यथार्थ प्रस्तुत गरिएको छ । यस कथाको नायकको नाम पनि कथाकारले यहाँ गणेशमानकै नामको झल्को दिने गरी कृष्णमान राखेका छन्; जुन नेपाली साहित्यका सामान्य पाठकले समेत कथा पढेपछि अनुमान लगाउन सक्छन् । हेर्दामा खासै अनुहार नपरेको त्यस बालकसित स्कुलका शिक्षकहरू मात्र होइन, राणाहरू पनि भित्रभित्रै डराएर पिल्सिएको आभास पाइन्छ । आफूले गर्दै नगरेको गल्ती पनि स्वीकार गरेर कृष्णमानले गल्ती गर्नेलाई भित्रभित्रै अपराध बोध गर्न विवश पार्छ । अरूलाई जोगाउन अरूको गल्ती आफूले कबोल गर्ने जब्बर चरित्रको कृष्णमानदेखि भित्रभित्रै सबै डराउँछन् । कथालाई मांसल बनाउन अरू सानातिना कुराहरू थपिएका भए पनि कथाको केन्द्रबिन्दु यही एक अल्पभाषी बालक हो; जसलाई गोठालेले व्रmान्तिको प्रतीकका रूपमा चित्रण गरेका छन् । निष्कर्षमा कथाकार गोठालेले यस कथामा जनताको छोरो कृष्णमानको निर्भीकता र निडरपन तथा समाख्याताका रूपमा प्रस्तुत गरिएको राणा शासकको छोराको बिचको द्वन्द्वको सुन्दर चित्रण गरेका छन्; जसले उनलाई जनताको पक्षमा कलम चलाउने यथार्थवादी मनोविश्लेषक कथाकारका रूपमा स्थापित गरेको छ ।