• ३ असार २०८१, सोमबार

‘परिस्थिति पेचिलो बन्दै छ’

blog

काठमाडौँ, जेठ १२ गते  । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राजनीतिक परिस्थिति असाध्यै पेचिलो बन्दै गएको टिप्पणी गर्नुभएको छ । उहाँले आधारभूत रूपमा दलहरू एकै ठाउँमा रहे पनि लगातारको संसद् अवरुद्ध हुनुले बाहिर नकारात्मक सन्देश गएको बताउनुभयो । 

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलले संसद् सञ्चालनमा अवरोध गरेपछि उहाँले कसैले नचाहँदा नचाहँदै परिस्थिति पेचिलो बन्दै गएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “एकथरीका माननीयज्यूहरू उठ्ने, अर्कोथरीका बस्ने नियमित नै भइसकेको छ । जे भए पनि आधारभूत रूपमा हामी एकै ठाउँमा छौँ । प्राप्त उपलब्धि गुम्ने त होइन भन्नेमा सबै चिन्तित पनि छौँ ।” 

उहाँले विगतमा सार्वजनिक यातायातमा चढ्दा ‘लोगो’ फुकालेर चढ्ने गरेको भन्दै आएकोमा अबको गतिविधिले त झन् के पो हुने हो भन्ने चिन्ता सबैमा हुनुपर्नेतर्फ सचेत गराउनुभयो । 

राष्ट्रिय सभाले जेठ ११ गते शुक्रबार नीति तथा कार्यव्रmममाथि छलफल हुने कार्यसूची तय गरेको थियो । शुक्रबार नै छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनुहुने कार्यसूची थियो तर प्रतिपक्षी कांग्रेससहितका दलको अवरोधले राष्ट्रिय सभाको शुक्रबारको बैठक कार्यसूचीमा प्रवेश गर्न पाएन । नीति तथा कार्यक्रममाथि छलफल हुन नपाएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । सभाका अध्यक्ष दाहालले भन्नुभयो, “जनताले खोजेको र चाहेको विषयवस्तुमा हामीले संसद्मा प्रवेश गर्न पाएका छैनौँ । नीति तथा कार्यक्रममाथि छलफल हुन पाएको छैन । बजेट प्रस्तुत हुने दिन आइसक्यो । अप्ठ्यारो छ ।”

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसयता जेठ ८ गते प्रतिपक्षी दलको विरोध र नाराबाजीबिच प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम टेबुल गर्नुभयो तर सो प्रस्तावमाथि छलफल हुन सकेको छैन । राष्ट्रिय सभाको अर्को बैठक जेठ १३ गते आइतबार बस्ने गरी स्थगित भएको छ ।