• २ असार २०८१, आइतबार

थारु समुदायमा बालविवाह अन्त्यका लागि बरघरसँग साझेदारी

blog

कार्यक्रममा सहभागी थारु आयोगका अध्यक्ष लगायत। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ १० गते। थारु समुदायमा बाल विवाह न्यूनीकरण अभियानलाई प्रभावकारी बनाउन बरघरसँग साझेदारी गरेर अगाडि बढ्नुपर्नेमा विशेष जोड दिइएको छ।  

थारु आयोगले नेपालगन्जमा प्लान इन्टरनेशल नेपालसँगको सहकार्यमा आयोजना गरेको ‘बाल विवाह न्यूनीकरणमा बरघरको भूमिका विषयक’ प्रादेशिक गोष्ठीमा सहभागी बाँके, बर्दिया, सुर्खेत र दाङका बरघर थारु लगायतले समुदायमा व्याप्त रहेको बालविवाह, भागी विवाह, चाँडो विवाह अन्त्यका लागि बरघरको भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।

उहाँहरूले बालविवाह न्यूनीकरण गर्नका लागि बनेका ऐन, कानुन प्रभावकारी नहुँदा समाजका कुसंस्कार, कुरीतिको रूपमा रहेको बालविवाहको अन्त्य हुन नसकेको औँल्याए।

कार्यक्रममा आफ्ना धारणा राख्दै थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले बाल विवाह न्यूनीकरण गर्न बरघर ऐन आवश्यक रहेको बताउनुभयो । थारु समुदायमा व्याप्त रहेको बालविवाह, चाँडै हुने विवाहको अन्त्यका लागि बरघरको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने भन्दै अध्यक्ष चौधरीले बरघर ऐन पारित गरेर बाल विवाह न्यूनीकरण गर्न भूमिका खेल्न स्थानीय निकायसँग आग्रह गर्नुभयो। 

आयोगका अध्यक्ष चौधरीले देशका अन्य भागको तुलनामा थारु समुदायमा चुनौती बनेको बालविवाह र दाइजो प्रथा जस्ता सामाजिक विकृति अन्त्य गर्न सबैले सामूहिक रूपमा लाग्न जरुरी रहेको बताउनुभयो। 

बालविवाहको कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी समस्या देखिने, लैङ्गिकहिंसा, यौनजन्यहिंसा, बालश्रम, बेचबिखन जस्ता हिंसाले बालिका थप पीडामा पर्ने गरेको अध्यक्ष चौधरीले बताउनुभयो। 

थारु आयोगका सदस्य सुबोध सिंह थारुले बालविवाह अन्त्यका लागि थारु आयोगले हरप्रकारको सहयोग गर्ने बताउनुभयो। राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनीषा थारुले धार्मिक सोच र अन्धविश्वासले छोरी चेलीको विवाह छिटो गरिदिने समाजको चरित्र औँल्याउँदै थारु समाजमा छोरीको शिक्षामा लगानी गर्न नखोज्नुको पछाडि धार्मिक तथा सामाजिक कारण रहेको बताउनुभयो। 

बर्दिया राजापुर शान्तिनगरकी बरघर शान्ति चौधरीले सामाजिक सञ्जालका कारण बालविवाहको घटना बढ्दो रहेको अनुभव सुनाउँदै सानो उमेरमा विवाह गर्दा जीवनमा धेरै कठिनाइ हुने भएकोले सचेतना आवश्यक रहेको बताउनुभयो। 

प्लान इन्टरनेशनल नेपालका पश्चिम क्षेत्रीय कार्यालय सुर्खेतका प्रबन्धक मिना पराजुलीले बरघरहरूले समाजको हितको लागि सामूहिक निर्णय लिने भएकोले थारु समाजमा रहेको बालविवाह न्यूनीकरणका लागि बरघरको भूमिका अहम् हुने हुँदा बालविवाह अन्त्यका लागि सहकार्य गरिएको बताउनुभयो। 

प्लान इन्टरनेशनल नेपालका नीति प्रभाव प्रबन्धक इरशाद अन्सारीले थारु समाजमा रहेको बरघरको प्रभावलाई बाल विवाहविरुद्धको सचेतनामा परिचालन गर्दा सकारात्मक परिणाम देखिने अपेक्षा गरिएकोले पहिलो पटक थारु आयोगसँग सहकार्य भइरहेको बताउनुभयो। 

कार्यक्रममा बाँके युनेस्को क्लबका निमित्त कार्यकारी निर्देशक महेश नेपालीले लुम्बिनी प्रदेशमा बाल विवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाहको अवस्था बारे प्रस्तुति गर्दै २४.४ प्रतिशतले पहिलो विवाह १५ देखि १७ वर्षको उमेरमा गर्ने गरेको, ७.४ प्रतिशतको पहिलो विवाह १० देखि १४ को उमेर समूहमा हुने गरेको, ०.४ प्रतिशत बालबालिकाहरूको १० वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको तथा ३६.२ प्रतिशतको विवाह १८ देखि २० वर्षको उमेरमा हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो। 

सो कार्यक्रममा थारु कल्याणकारी बाँकेका सभापति विनोद थारु, बेसका केन्द्रीय सदस्य सङ्गीता थारु लगायतले पनि आफ्नो धारणा राख्नुभएको थियो।