• १४ असार २०८१, शुक्रबार

पहिचानका लागि मातृभाषा संरक्षण गर्न आग्रह

blog

कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार १० गते । आदिवासी जनजातिको पहिचान बचाउन मातृभाषाको संरक्षणमा अगुवाहरूले सुझाव दिनुभएको छ । मातृभाषा पत्रकारिता मार्फत मातृभाषा संरक्षणमा योगदान दिन अगुवाहरूको माग छ ।  

इन्डिजिनियस मिडिया फाउण्डेसनले सोमबार काठमाडौँमा आयोजना गरेको मातृभाषा पत्रकारिता प्रवर्धनका लागि क्षमता विकास विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरूले सो आग्रह गर्नुभएको हो । 

भाषा आयोगका सदस्य तथा पत्रकार सुरेशकिरण मानन्धरले मातृभाषालाई जोगाउन जरुरी रहेको बताउनुभयो । उहाँले मरणासन्न अवस्थामा पुगेका भाषा समेत पत्रकारिताको माध्यमबाट पुनरजिवित गर्न सकिने भन्नुहुँदै मातृभाषामा संवाद, विचार आदानप्रदानले मातृभाषा संरक्षणको अभियान बलियो हुन सक्ने बताउनुभयो ।


आदिवासी जनजाति आयोगका सदस्य सूर्य गुरुङले दुईदेखि तीन वटा भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा राख्ने व्यवस्था भएको, यस बाहेक अन्य भाषालाई के गर्ने भन्ने विषयमा स्पष्ट हुन नसकेको बताउनुभयो । अल्पसङ्ख्यक भाषालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा कानुनी रूपमा सम्बोधन हुनुपर्ने उहाँको भनाइ छ । 

थारु आयोगका सदस्य सुबोधसिंह थारुले मातृभाषा साहित्य मार्फत जाती समुदायको पहिचान जोगाउन जरुरी रहेको बताउनुभयो । भाषा, साहित्य र संस्कृति जोगाउन नसकिए आदिवासीको पहिचान गुम्ने उहाँको भनाइ छ । मातृभाषा पत्रकारिताको माध्यमबाट आदिवासीको मातृभाषा संरक्षणमा योगदान दिन उहाँले आदिबासी पत्रकारसँग आग्रह गर्नुभयो ।

आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का कार्यवाहक अध्यक्ष लक्की चौधरीले मातृभाषा जोगाउने सबैभन्दा बढी दायित्व सम्बन्धित समुदायको भएको बताउनुभयो । आदिवासीको भाषा, संस्कृतिका कारण नेपाल विश्व समुदायमा विविधतामूलक देश भनेर पहिचान बनाएको बताउँदै उहाँले मातृभाषा जोगाउन सकेमात्र आदिवासीको पहिचान जोगिने बताउनुभयो । फोनिजले सोका लागि स्थापनाकालदेखि कार्यरत रहेको उहाँले जानकारी दिनुभयो । 


वरिष्ठ पत्रकार गणेश राईले कार्यपत्र प्रस्तुत गर्दै मातृभाषी पत्रकारिता समस्यामा भएकाले राज्यको तर्फबाट यसमा लगानी बढाउनुपर्ने र जातीय समुदाय र संस्थाहरू त्यसमा चिन्ता लिनुपर्ने उहाँको सुझाव छ । मातृभाषी पत्रकारिता गर्न चुनौती धेरै भएकाले त्यसलाई जोगाई राख्न समुदायले पनि योगदान दिनुपर्ने उहाँको भनाइ छ । राज्यले गर्ने लगानी शून्यप्राय भएकाले त्यसमा सरकारको ध्यानाकर्षण गराउनुपर्ने उहाँको भनाइ छ । 

फाउण्डेसनका अध्यक्ष जगतमान लामाले मातृभाषा पत्रकारिताको विकासका लागि राज्यले नीतिगत ढङ्गले सम्बोधन गर्नुपर्ने बताउनुभयो । विभिन्न सङ्घर्ष, दुख र चुनौतीका बाबजुद निरन्तरको प्रयासका कारण मातृभाषामा पत्रकारिताको अवस्था आजको अवस्थासम्म आइपुगेको उहाँको भनाइ छ ।