• १३ असार २०८२, शुक्रबार

काठमाडौँका युवालाई सीपमूलक तालिम

blog

समापन समारोहमा सहभागी मङ्गलादेवी सिंह फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहलगायत ।

काठमाडौँ, असार १३ गते। काठमाडौँ महानगरपालिका–१४ नम्बर वडा कार्यालयले युवालाई सीपमूलक तालिम दिएको छ।नेपाल पेन काठमाडौँ मिडियासँगको सहकार्यमा युवालाई फोटो तथा भिडियोग्राफी र भिडियो इडिटिङ तालिम दिएको हो।

वडाभित्रका युवालाई सीपमूलक प्रशिक्षणमार्फत आत्मनिर्भर गराउने उद्देश्यले पाँच दिनको फोटो र भिडियोग्राफी र १० दिनको भिडियो इडिटिङ तालिम जनपथ माध्यमिक विद्यालय, कलंकीको सभाहलमा सञ्चालन गरिएको हो ।

समापन समारोहमा मङ्गलादेवी सिंह फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले भिडियोग्राफी र इडिटिङ जस्तो प्रविधिमैत्री सीपले काठमाडौँका सांस्कृतिक सम्पदालाई विश्वबजारमा पु‍र्याउन सहयोग गर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, “संस्कृतिको सही प्रस्तुति भए मात्र पनि जीविकोपार्जन सम्भव छ ।” उहाँले आगामी वर्षदेखि तालिमलाई एड्भान्स तहमा विस्तार गर्न सुझाव दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि काठमाडौँ–९ का नेपाली कांग्रेस सभापति जयकृष्ण महर्जनले वडाले सञ्चालन गरेका विविध तालिममध्ये यो कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्दै सीमित प्रतिभालाई एड्भान्स कोर्समार्फत् व्यवसायिक क्षेत्रमा स्थापित गराउन बजेट छुट्याउनुपर्नेमा जोड दिनुभयो।

वडा अध्यक्ष सुमन श्रेष्ठले २०८२/८३ को बजेटमा एड्भान्स भिडियोग्राफी, फोटोग्राफी र भिडियो इडिटिङ समेट्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा प्रशिक्षक मनोज राजभण्डारी र अजय शर्मा, वडा सचिव जयदेव घिमिरे, वडा सदस्य अच्युत सापकोटा र समाजसेवी बिनोद डङ्गोललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।