• १४ असार २०८१, शुक्रबार

भेरी अस्पतालमा ठुलो आन्द्राको क्यान्सरको दूरबिन प्रविधिबाट शल्यक्रिया

blog

चिकित्सकको साथमा दुरविन प्रविधिबाट शल्यक्रिया गरिएकी हस्ता शर्मा, उनका आफन्त। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार ९ गते। नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक ठुलो आन्द्राको क्यान्सरको दूरबिन प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ। विगत डेढ वर्षदेखि पेटको समस्याले पीडित पञ्चपुले नगरपालिका–१ की ७५ वर्षीया हस्ता शर्माको भेरी अस्पतालमा सफल शल्यक्रिया गरिएको हो।

पीडितका छोरा ललित शर्माले दिनुभएको जानकारी अनुसार लामोसमयदेखि पत्थरी भयो भन्दै प्रदेश अस्पताल सुर्खेत, लगायत सुर्खेतका विभिन्न अस्पतालमा उपचार गराउँदै आए पनि वास्तविक रोग भने भेरी अस्पतालमा आएपछि मात्र पत्ता लागेको हो। उहाँले आमाको ठुलो अन्द्रामा क्यान्सर भएको पुष्टि भएको बताउनुभयो। 

सुर्खेतका विभिन्न अस्पतालमा उपचार गर्दा सबै ठाउँमा पत्थरीको सिकायत हो भन्दै औषधि गरिएको जनाउँदै शर्माले अहिले भेरी अस्पताल पुगेर अल्ट्रासाउण्ड   (भिडियो एक्स-रे) गर्दा केही नदेखिएपछि सिटिस्क्यानबाट मात्र वास्तविक रोग पत्ता लागेको बताउनुभयो। 

भेरी अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रिक तथा ल्याप्रोस्कोपिक सर्जन डा. कृष्ण मोहन अधिकारीसँग जाँच गराएपछि मात्र रोग पत्ता लागेको र डा. अधिकारी कै नेतृत्वमा दूरबिन प्रविधिबाट भेरी अस्पतालमै सफल शल्यक्रिया गरिएको पीडितका आफन्तले बताए। 

पश्चिम नेपालको इतिहासमा नै आन्द्रको क्यान्सरको जटिल अवस्थाको सफल शल्यक्रिया त्यो पनि दूरबिन प्रविधिबाट पहिलो पटक भएको डा. अधिकारीले बताउनुभयो। 

भेरी अस्पतालमा पहिलो पटक गरिएको सो शल्यक्रियामा जनरल सर्जन डा.सन्तोष सिर्पाली र कमर हसन अन्सारी, एनेस्थेसिस्ठ डा. पारस पाण्डेलगायतको सहभागिता रहेको थियो।