• २ असार २०८१, आइतबार

दुर्गममा खाद्यान्न वितरण सुरु

blog

मुक्तिकोट खाद्यान्न वितरण केन्द्रबाट चामल लिँदै गरेका स्थानीय ।

बडीमालिका समाचारदाता 

बाजुरा, जेठ १० गते । बाजुराको अति दुर्गम गाउँपालिका स्वामीकार्तिक खापर गाउँपालिका–१, मुक्तिकोटमा खाद्यान्न बिक्रीवितरण सुरु गरिएको छ । नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले मुक्तिकोट बिक्री केन्द्रमा पाँच सय क्विन्टल चामल आपूर्ति गरेर बिक्रीवितरण सुरु गरेको हो । स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले मुक्तिकोटबाट पायक पर्ने स्वामीकार्तिक खापर–१ र २ का स्थानीयका लागि प्रतिकेजी ६६ रुपियाँका दरले मोटा चामल बिक्रीवितरण सुरु गरिएको बताउनुभयो । 

मुक्तिकोटमा पहिलो चरणमा गत फागुनमा पाँच सय क्विन्टल र अहिले पनि पाँच सय क्विन्टल चामल आपूर्ति गरेर बिक्रीवितरण गर्न थालिएको हो । गाउँपालिकाका अध्यक्ष रोकायाका अनुसार खाद्यान्न बिक्री केन्द्र तोकिएको मुक्तिकोटबाहेक अन्य ठाउँबाट बिक्री गरिएको पाइएमा कारबाही गरिने भएको छ । आफू निर्वाचित भएर आइसकेपछि पटक पटक मन्त्रालय धाएर लामो समयको प्रयासले मुक्तिकोटमा चामल बिक्री केन्द्र स्थापना गर्न सफल भएको अध्यक्ष रोकायाको भनाइ छ । मुक्तिकोटबाट पालिकाको केन्द्रसम्म आउन एक दिन लाग्छ भने खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडसम्म चामल किन्न आउन दुई दिन लाग्छ । गाउँमा खेतीयोग्य जमिन नभएका कारण अधिंकाश स्थानीय छिमेकी देश भारत गएर मजदुरी गर्ने र त्यहाँबाट आएको पैसाले चामल किन्नका लागि चार दिनको पैदल बाटो आवतजावत गर्नुपर्ने समस्या रहेको छ । सोही समस्यालाई ध्यानमा राखी गरी गाउँपालिकासँगको समन्वयमा नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले मुक्तिकोट बिक्री केन्द्र सुरु गरिएको अध्यक्ष रोकायाले बताउनुभयो । साथै मुक्तिकोट गाउँका स्थानीयलाई गाउँमै रोजगारी सिर्जनाका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सुरु गरेको छ ।