• २ असार २०८१, आइतबार

एक सय ४३ वटा खोप केन्द्र छनौट

blog

खोप अभियानबारे सञ्चालन भएको अभिमुखीकरण कार्यक्रम । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, जेठ ९ गते । जिल्लाभर पोलियो रोग विरुद्ध खोप अभियान सञ्चालन गर्न एक सय ४३ विद्यालयलाई खोप केन्द्रका रूपमा छनौट गरिएको छ । बुधबार उक्त खोपबारे जानकारी दिन आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सो जानकारी गरिएको हो । 

जिल्लाका गाउँपालिकाका स्वास्थ्यकर्मीहरूको समन्वयमा सात वटै गाउँपालिकाकाका ४४ वडाका १४३  विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर खोप अभियान सञ्चालन गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । यसमा नाम्खा गाउँपालिका १५ वटा, सिमकोटमा २६ वटा, खनर्पुनाथमा १७, सर्केगार्डमा ३० वटा चङ्खेली गाउँपालिकामा २२ वटा, अदानचुलीका १७ र ताँजाकोटका गाउँपालिका १६ वटा खोप केन्द्रहरू निर्धारण गरिएको छ । 

२०७३ देखि २०७५ सालसम्म उक्त खोप लगाउने छुटेको पाँचदेखि आठ वर्ष उमेर समूहका बालबालिका दुई हजार ७१४ जना रहेको र उनीहरू सबैलाई खोप लगाइनेछ । खोप अभियान सञ्चालन गर्नका लागि १४३ जना स्वास्थ्यकर्मी २८६ जना स्वास्थ्य स्वयम सेविका र १४३ जना शिक्षकलाई परिचालन गरिनेछ । सबै खोप केन्द्रमा जेठ १३ गतेदेखि १९ गतेसम्म खोप लगाउने कार्यतालिका तय गरिएको छ । 

आईपिभी खोप सुईबाट लगाइनेछ । यो खोप लगाउने क्रममा बालबालिकालाई दुख्ने, रातो हुने, सुनिने, ज्वरो आउने, एलर्जी हुने सम्भावना हुने र जो आफैँ निको हुने अस्पतालका चिकित्सक सुरज सिंहले बताउनुभयो । केही गरी खोप अवधिमा बालबालिका बिरामी भई हालेको अवस्थामा दक्षिणी क्षेत्रमा हेर्ने गरी एक जना चिकित्सकको नेतृत्वमा टोली खटाइने छ भने दक्षिणी क्षेत्रका लागि अर्को टोली अनुगमनका लागि खटाइने छ । खोपका लागि ५३० भायल भ्याक्सिन जिल्लामा आई पुगेको छ । 

कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले खोपलाई सफल बनाउनु पर्ने बताउनुभयो । छुटेका बालबालिकाहरूका लागि यो खोप महत्त्वपूर्ण भएको कारण गाउँपालिका र अभिभावकले सहयोग गर्नु पर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले खोप कार्यक्रम बालबालिकाका लागि निक्कै महत्त्वपूर्ण भएको कारण यसलाई सफल पार्ने कार्य सबै क्षेत्र लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका कावा प्रमुख सरिता रावत, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, सुरक्षा निकाय, सञ्चालनकर्मी लगाएको सहभागिता रहेको थियो ।