• २८ असार २०८२, शनिबार

वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य आरोपी पक्राउ

blog

कुलबहादुर शाही 

जाजरकोट, असार २७ गते । गत साउन २२ गते डिभिजन वन कार्यालय जाजरकोटका जिल्ला वन अधिकृत अमर प्रसाद साहमाथि कार्यकक्षमै कुटपिट गरेको आरोपमा एक जना मुख्य अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भेरी नगरपालिका–७ बस्ने बिराजन शाही रहेका छन् । 

उहाँलाई भेरी नगरपालिका–३ तल्लो थाप्ले स्थित कार्यालयमा कार्यरत अधिकृत साहलाई कार्यकक्षमै प्रवेश गरी हातपात गर्नुका साथै सरकारी कागजातहरू छरपस्ट पार्दै नष्ट गरिएको घटनामा संलग्न रहेको आरोपमा शुक्रवार बिहान ६ बजे नलगाड नगरपालिका–१० रावत गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीले जानकारी दिनुभयो । 

घटनामा संलग्न शाहीसहित अन्य केही व्यक्ति मुखमा कालो मास्क लगाएर अनधिकृत रूपमा कार्यालय प्रवेश गरी हातपात गरेका थिए । उनीहरू घटनापछि फरार भएका थिए । पक्राउ परेका शाहीलाई जिल्ला अदालत जाजरकोटबाट आपराधिक कार्यसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले सूचना अधिकारी डाँगीले बताउनुभयो ।