• १२ साउन २०८१, शनिबार

खोटाङमा पोलियोविरुद्धको आइपिभी खोप अभियान

blog

राजकुमार भट्टराई

खोटाङ, जेठ ९ गते । खोटाङमा जेठ १३ गतेदेखि पोलियोविरुद्धको आइपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । १३ देखि जेठ १५ गतेसम्म पोलियोविरुद्धको आइपिभी खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

२०७३ साल वैशाखदेखि २०७५ साल असोजसम्ममा जन्मिएका तर पोलियोविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई राष्ट्रिय अभियान अन्तर्गत सो खोप दिने तयारी गरिएको हो । जन्मेको ६ वर्षदेखि ८ वर्षपछि जिल्लाका ७ हजार ७१३ जना बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनकुमार चौंलागाईले बताउनुभयो ।

स्वास्थ्य कार्यालयले जेठ ८ गते जिल्ला स्तरिय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीहरुको अभिमुखीकरण कार्यक्रम गर्दै पोलियोविरुद्धको खोप अभियान तयारीका वारेमा जानकारी दिएको हो । पक्षघात गराउन सक्ने पोलियोविरुद्धको तीन दिने खोप अभियान सञ्चालनका लागि जिल्लामा २७६ वटा खोप केन्द्र निर्धारण गरिएको छ । हरेक खोप केन्द्रमा एक÷एक जना खोप दिने स्वास्थ्यकर्मी खटाइने स्वास्थ्य कार्यालयले जनाएको छ । प्रत्येक खोप केन्द्रमा दुई÷दुई जनाका दरले ५५२ जना स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय प्रमुख चौंलागाईले बताउनुभयो । यस्तै, ९९ जना स्थानीय सुपरिवेक्षक र प्रतेक वडाका कम्तीमा तीन स्थान हुनेगरी २३७ स्थानमा छुट बच्चाको द्रुत सर्वेक्षण स्थान तोकिएको छ । 

स्वास्थ्य कार्यालयका अनुसार केपिलासगढी गाउँपालिकाका ५८९ जना, ऐसेलुखर्क गाउँपालिकाका ५५७ जना, रावाबेँसी गाउँपालिकाका ४४३ जना, हलेसी तुवाचुङ नगरपालिकाका १ हजार २४८ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २ हजार ११२ जना, साकेला गाउँपालिकाका ४४९ जना, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ६९५ जना, खोटेहाङ गाउँपालिकाका ६८८ जना, जन्तेढुंगा गाउँपालिकाका ५०९ जना र बराहपोखरी गाउँपालिकाका ४२३ जना बालबालिकालाई खोप दिने तयारी गरिएको छ । 

२०७३ जेठदेखि २०७५ भदौको बिचमा आइपिभी खोपको अभाव हुँदा बालबालिका सो खोपबाट वञ्चित भएका थिए । सो अवधिमा खोप लगाउन छुटेका बालबालिकालाई पोलियो लाग्ने जोखिम भएकाले खोप अभियान सञ्चालन गर्न लागिएको हो । जिल्ला स्तरिय खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पोलियो रोगबाट बच्न र बचाउनका लागि आ–आफ्नो बालबालिकालाई पायक पर्ने केन्द्रमा लगेर आइपिभी खोप लगाउन आग्रह गर्नुभएको छ ।