• १२ साउन २०८१, शनिबार

राजीनामा स्वीकृत भएपछि पनि प्रअको जिम्मेवारी तोकियो

blog

विद्यालयमा भएको अभिभावक भेला । गाउँपालिकालाई हस्तक्षेपकारी भूमिका नखेल्न माग गर्ने लिखित निर्णय गरेको थियो । तस्बिर: गोरखापत्र

विष्णुप्रसाद पोखरेल

दमक, जेठ ९ गते । झापाको कमल गाउँपालिका वडा नं. ६ मा रहेको श्री वाणी माध्यमिक विद्यालयको प्रधानाध्यापक सम्बन्धीको विवादमा गाउँपालिकाले हस्तक्षेपकारी भूमिका खेल्दै व्यवस्थापन समितिलाई राजीनामा दिएका प्रधानाध्यापकलाई नै फेरि निमित्त प्रधानाध्यापकको जिम्मेवारी तोकेको छ ।

विद्यालय व्यवस्थापन समितिले नियुक्त गरेका प्रधानाध्यापकलाई अस्वीकार गर्दै गाउँपालिकाले विवाद समाधान नभएसम्मका लागि र नयाँ प्रधानाध्यापक नियुक्ति नभएसम्मका लागि भन्दै गाउँ कार्यपालिकाको बैठकले राजीनामा स्वीकृत भइसके पनि लक्ष्मीप्रसाद डाँगीलाई नै प्रधानाध्यापक नियुक्ति गरेको हो ।

डाँगीले विद्यालयका अर्का शिक्षक तेजनाथ भट्टराईलाई निमित्त दिएर राजीनामा दिनुभएको थियो । विद्यालय व्यवस्थापन समितिले प्रक्रिया अनुसार विद्यालय सुधार प्रस्ताव माग गरेर त्यसका आधारमा जगन्नाथ फागोलाई प्रधानाध्यापक नियुक्त गरेको थियो । गाउँपालिकाले त्यसलाई सदर नगर्दा विद्यालयका शिक्षकहरूको तलब लगायत खाता बन्द हुँदा दैनिक काम कारबाही नै प्रभावित बनेको बताइन्छ ।

विद्यालय व्यवस्थापन समितिको निर्णय विपरीत गाउँपालिकाले विवाद समाधानका लागि भन्दै राजीनामा स्वीकृत भइसकेका प्रधानाध्यापकलाई नै पुन प्रधानाध्यापक नियुक्ति गरेपछि अभिभावकहरु भने रुष्ट बनेका छन् । अभिभावकले भेलाले विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर्न र हस्तक्षेप नगर्न लिखित रूपमा नै माग गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिको क्षेत्राधिकारभित्र पर्ने प्रधानाध्यापक नियुक्ति कार्यपालिका बैठकले गर्ने अवस्था विवादका कारण सिर्जना भएको कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले बताउनुभयो । उहाँले क्षेत्राधिकारको विषयमा कार्यपालिका बैठकले निर्णय गरेकाले कार्यपालिकालाई नै यस विषयमा जानकारी हुने जनाउनुभयो ।

कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले कार्यपालिकाको बैठकले प्रधानाध्यापक नियुक्ति असार मसान्तसम्मका लागि मात्र गरेको बताउनुभयो । बारम्बार हामीले राजीनामा दिएका र अन्य निमित्त पाएका २ जना गरेर तीनै जनालाई बोलाउँदा नआएपछि हामीले यो निर्णय लिनुपरेको हो, उहाँले भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण भण्डारीले विद्यालय सुधारका लागि सुरु गरिएका प्रयासलाई निस्तेज पार्नका लागि प्रधानाध्यापक नियुक्ति प्रक्रियामा विवाद सिर्जना गरिएको बताउनुभयो । हामीले प्रक्रियागत रूपमा र शिक्षा नियमावली अनुसार प्रधानाध्यापक नियुक्ति गरेका हौँ, उहाँले भन्नुभयो । व्यवस्थापन समितिको निर्णयमा गाउँपालिकाले हस्तक्षेप गर्नु राम्रो नभएको उहाँले जनाउनुभयो ।