• १२ साउन २०८१, शनिबार

१३ करोड लागतको खानेपानी आयोजना सम्पन्न नहुँदै जीर्ण

blog

मान्म ल्याएको खानेपानीको पायप । तस्बिर: प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालिकोट, जेठ ८ गते । १३ करोड ७१ लाख २९ हजार लागतमा निर्माण भएको कालिकोट सदरमुकाम मान्मा बजारको खानेपानी आयोजना निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ । विसं. २०७८ सालमा निर्माण सुरु गरिएको खानेपानी आयोजना काम चलाउको रूपमा मात्रै भएको भन्दै दिगो बनाउन स्थानीयवासीले माग गरेका छन् । 

वर्षौँदेखि खानेपानी समस्या झेल्दै आएको मान्मावासीले बृहत् खानेपानी आयोजना निर्माणले यहाँका स्थानीयबासी खुसी छन् तर यो आयोजना सुरुवातीमै कमजोर बनेको आरोप छ । कालीकोटको सदरमुकाम मान्म बजारमा चुली हिमालको पानी पुगेको छ ।  पिउने पानीको अभाव झेलिरहेका कालिकोट सदरमुकाम मान्मका नागरिकका लागि चुलीको पानी पुगेपछि केही राहत भएको हो । २०७८ सालबाट निर्माण सुरु गरिएको चुलिमालिका बृहत् खानेपानी आयोजनाको पानी सदरमुकाम मान्म झारिएको छ । आयोजनाको पानी गत शुक्रवार सदरमुकामको ट्याङ्कीमा झारेपछि सदरमुकामका नागरिकको मुहार खुसी देखिएको छ । 

खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २८ करोड लागत अनुमानसहितको ठेक्का आह्वान गरेको भए पनि निर्माण कम्पनीले १३ करोड ७१ लाख २९ हजार बजेटमा निर्माण गर्ने सम्झौता गरेको थियो । ४५ प्रतिशतभन्दा बढी घटेर लिएको ठेक्काबाट आयोजना गुणस्तरीय नहुनेमा यहाँका नागरिक ढुक्क छन् । सुरुमा भौगोलिक अवस्था थाहा नहुँदा यस्तो समस्या भएको निर्मा कम्पनीले स्वीकार गरेको छ । 

निर्माण कम्पनी पराजुली कन्स्ट्रक्सन प्रालिले यो आयोजना निर्माण गरेको थियो । ४५ प्रतिशतभन्दा बढी घटेर दरभाउ पेस गरी कम्पनीले आयोजना निर्माण गर्ने सम्झौता गरेको थियो । आयोजनाको पाइपलाइनको लम्बाइ १० किलोमिटरभन्दा बढी छ । 

मान्मका स्थानीय अगुवा चतुर्भुज न्यौपानेले दिगो रूपमा पानी पिउने गरी आयोजना बन्नुपर्ने र यसको नियमन कडाइका साथ हुनुपर्ने माग राख्नु भयो । २८ करोडको आयोजना ठेकेदारले १३ करोड ७१ लाखमा निर्माण गर्ने भनेर ठेक्का पारे पनि अहिले कमसल सामाग्री प्रयोग गर्न नपाइने भन्दै तत्काल अनुगमन गर्न माग गर्नुभयो । 

यो आयोजनाले मान्माका वडा नं १ देखि ४ सम्मका १३ सय घरमा एक घर एक धारा निर्माण गरी   पानी पुग्नेछ । सदरमुकाम मान्ममा एक लाख २५ हजार लिटरका दुई वटा, ५० हजार लिटरका दुई वटा, ४० हजार लिटरको एक वटा र २५ हजार लिटरको एक वटा गरी जम्मा ६ वटा ट्याङ्की छन् ।