रमेश विश्वकर्मा
गुल्मी, कात्तिक ११ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङबिच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा मङ्गलबार भएको भेटमा प्रदेशमा सुशासन सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन र विकास सहकार्यका विषयमा विस्तृत छलफल भएको छ।
भेटका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारहरूले आफ्ना निर्धारित कार्यक्रम कार्यान्वयनको प्रक्रियामा अघि बढिरहेको जानकारी गराउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
उहाँले सङ्घीयतालाई सुदृढ बनाउने र नागरिकको जीवनस्तर सुधार गर्ने दिशामा प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताउनुभयो।
उहाँले प्रदेश सरकारले अघि सारेका कार्यक्रमलाई निरन्तरता दिइरहेको र बेलायती सरकारबाट निर्दिष्ट कार्यक्रमलाई पनि स्थायित्वका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
सङ्घीयतालाई बलियो बनाउने, जनतासँग जोडिएका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र सुशासन प्रवर्धनका क्षेत्रमा आपसी सहकार्यको आशा गरिएको उहाँको भनाइ थियो।
मुख्यमन्त्री आचार्यले प्रदेशको आर्थिक अवस्था जटिलतातर्फ उन्मुख रहेको जानकारी दिँदै चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गर्नुपरेको जानकारी गराउनुभयो। त्यसभित्र जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध भएका कार्यक्रमहरूमा कटौती नगर्ने नीति लिइएको स्पष्ट पार्नुभयो।
सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले पाँच वर्षे रणनीतिक योजना तयार पारेको जानकारी दिँदै उहाँले पाँच लाख रुपियाँभन्दा माथिका योजना खुला प्रतिस्पर्धाबाट कार्यान्वयन गरेर पारदर्शिताको अभ्यास गरिएको बताउनुभयो।
उहाँले आगामी पाँच वर्षभित्र सुशासन र सेवा प्रवाहमा आमूल परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो। मुख्यमन्त्री आचार्यले युवाको आवाज सुन्न र तिनका मुद्दा सम्बोधन गर्न प्रमुख सचिवको संयोजकत्वमा समिति गठन गरिएको जानकारी पनि दिनुभयो।
भेटका क्रममा बेलायती दूतावासका प्रतिनिधि लङले नेपाल र बेलायतबिचको सम्बन्ध अझ सुदृढ बनाउने र दुबै सरकार मिलेर सुशासन, विकास र सङ्घीय अभ्यास सुदृढीकरणका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।