• १२ साउन २०८१, शनिबार

विद्यार्थी अभावमा विद्यालय समायोजन

blog

रमेश रावत

कमलबजार (अछाम), जेठ ६ गते । विद्यार्थी सङ्ख्या न्यून भएर सामुदायिक विद्यालयका कक्षाकोठा रित्तो हुन थालेपछि अछामको पञ्चदेवल विनायक नगरपालिकाले विद्यालय खारेज तथा समायोजन गर्न थालेको छ । सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएको छ ।

कक्षा सञ्चालनका लागि विद्यार्थी नभएपछि नगरपालिकाले चालु शैक्षिक वर्षमा १२ वटा विद्यालय खारेज गरेको छ  । १५ वटा विद्यालयलाई तह घटुवा गरेर समायोजन र १२ वटा बालविकास केन्द्रलाई स्थानान्तरण गरिएको छ । नगरपालिकाको केन्द्र रहेको वडाका विद्यालयमा समेत विद्यार्थी सङ्ख्या न्यून भएको नगरपालिकाले जनाएको छ ।

पञ्चदेवल विनायक नगरपालिका शिक्षा शाखाका अनुसार पाँच वर्षपहिले एक सयभन्दा बढी विद्यार्थी भएको नगरपालिकाको केन्द्रमा रहेको मदन–आश्रित आधारभूत विद्यालयमा कक्षा १ देखि ३ सम्म जम्मा १२ जना विद्यार्थी मात्र भएपछि नजिकको युवा वर्ष आधारभूत विद्यालयमा समायोजन गरिएको छ ।

सो विद्यालयमा अहिले बालविकास केन्द्र मात्र सञ्चालन गर्न अनुमति दिइएको छ । सोही वडाको पञ्चदेवल आधारभूत विद्यालय र भैरवनाथ आधारभूत विद्यालयसमेत समायोजन भएका छन् । पाँच वटा विद्यालय सञ्चालित सो वडामा हाल दुई वटा मात्र विद्यालय सञ्चालनमा छन् । 

नगरपालिकाको सबैभन्दा बढी वडा नं ४ मा सञ्चालित विद्यालय समायोजन भएका छन् । सो वडामा सञ्चालित १० वटा विद्यालयमध्ये पाँच वटा विद्यालय समायोजन गरिएको छ । आधारभूत तहमा पठनपाठन हुने अधिकांश विद्यालयलाई समायोजन भएका बालविकास केन्द्रमा झारिएको छ । तह व्यवस्थापन गरेका विद्यालयमा आवश्यकभन्दा बढी भएका शिक्षकलाई धेरै विद्यार्थी भएका विद्यालयमा स्थानान्तरण गरिएको छ । 

पञ्चदेवल विनायक नगरपालिकाका शिक्षा अधिकृत डम्बर थापाले भन्नुभयो, “तीव्र बसाइँसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नुले सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् भने विषयगत शिक्षक नपाउनु अर्को समस्या भएको छ । पञ्चदेवल  विनायक नगरपालिका मात्रै होइन, अछाममा मङ्गलसैन, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकाले पनि विद्यालय समायोजन गरेका छन् । 

अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दै जाँदा कक्षाकोठा रित्तो बन्न थालेका छन् । “पालिकाका केही आधारभूत र केही मावि तहकै विद्यालयमा पनि विद्यार्थी सङ्ख्या अति न्यून छ । बस्तीनजिकै अर्को विद्यालय नभएकाले मर्जर वा तह घटुवा गरिहाल्ने अवस्था पनि छैन,” पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले भन्नुभयो, “भौगोलिक रूपमा छरिएका बस्तीमा समस्या छ । कुनै कुनै ठाउँमा विद्यार्थी दैनिक तीन घण्टा हिँडेर विद्यालय आउजाउ गर्छन् । बस्ती छरिएर रहेकाले सबैलाई पायक पर्ने गरेर विद्यालय खोल्न पनि सकिँदैन ।” अधिकांश अभिभावक रोजगारीका लागि भारतमा जाने र आफूसँगै बच्चासमेत लैजाने गरेका कारणसमेत विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको सरस्वती माध्यमिक विद्यालयका अध्यक्ष नरेन्द्र न्यौपानेले बताउनुभयो ।