• १२ साउन २०८१, शनिबार

भारतीय बाटो हुँदै व्यास

blog

लोकेन्द्र जोशी

दार्चुला, जेठ ४ गते । व्यास गाउँपालिका–१ का व्यासी सौका समुदाय दार्चुला सदरमुकाम खलङ्गाबाट भारतको बाटो हुँदै व्यास पुगेका छन् । व्यासी सौकाको कुन्चा छाङरु, व्यास र टिङ्करमा बसोबास रहेको छ । 

छाङरुबाट १२ किलोमिटर दुरीमा रहेको टिङ्कर गाउँमा गत बुधबार पहिलो पटक कुन्चा पुगेको स्थानीयले बताएका हुन् । कुन्चा खलङ्गाबाट भारतको धार्चुला हुँदै पाँच दिन लगाएर पुनः नेपाल भित्रिने स्थान हो । धार्चुलाबाट महाकाली नदीको किनारैकिनार सीतापुलसम्म र त्यहाँबाट टिङ्कर खोलाको किनारैकिनार पैदल बाटो भएर टिङ्करका बासिन्दा कुन्चा पुगेको  वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । 

उच्च हिमपात र जाडोका कारण ती गाउँका स्थानीय हिउँदमा दार्चुला खलङ्गामा बसाइँ सर्दै आएका छन् । हरेक वर्ष चैत, वैशाखमा भने आफ्नो थातथलो फर्किने गर्छन् । व्यासमा आफ्नो मौलिक संस्कृति र परम्परा अनुसार स्थानीयले पूजापाठ, पशुपालन र खेतीपाती व्यवसाय गर्दै आएका छन् । खलङ्गाबाट टिङ्करका लागि गाईवस्तु, खाद्यान्न र बन्दोबस्तीका सामानसहित हिँडेको समूह गाउँ पुगिसकेको स्थानीय नगेन्द्र तिङ्करीले बताउनुभयो ।

वैशाखदेखि कात्तिकसम्मको बसाइ गाउँमै हुने भएकाले स्थानीयले गाईवस्तुसँगै खाद्यान्न र बन्दोबस्तीका सामान पनि बोकेर लैजानुपर्ने समस्या रहेको छ । स्वदेशी भूमि प्रयोग गरी हिँड्ने बाटो मर्मत नहुँदा व्यासवासीले भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । 

स्थानीय योगेश बोहराले भारतीय बाटो प्रयोग गर्नुपर्दा भारतीय सुरक्षाकर्मीको दुव्र्यवहार सहनुपर्ने बाध्यता रहेको दुःखेसो राख्नुभयो । कुन्चा सार्ने बाटो भारत सरकारको निषेधित क्षेत्रमा पर्ने हुँदा व्यास जाँदा यहाँका स्थानीयले भारतीय पक्षको बहुयात्रा अनुमति लिएर जान पाउँछन् । गत वैशाखमा गृह सचिवको नेतृत्वमा सुरक्षा अङ्गका प्रमुखहरूले व्यास क्षेत्रको भ्रमण गरेका छन् तर पनि कुन्चा, छाङरु, व्यास र टिङ्कर बस्ने नेपाली नागरिक भारतको बाटो भएर आफ्नो भूमि आउनुपर्ने बाध्यता रहेको छ ।