• ७ असार २०८१, शुक्रबार

हलो क्रान्तिको नयाँ रूप महिलाले गोरु जोते

blog

गोकर्ण दयाल

बैतडी, जेठ ४ गते ।

‘कि त जोत हलो, कि त छोड थलो, 

होइन भने अब, छैन तिम्रो भलो !’ 

डडेलधुराका किसान नेता भीमदत्त पन्तले माथिका हरफबाट हलो क्रान्ति गरेको ७० वर्षपछि स्थानीय महिलाले गोरु जोतेर हलो क्रान्ति पुनः ब्युँताएका छन् । हलो क्रान्ति गरेको अभियोगमा तत्कालीन सरकारले नेता पन्तलाई मृत्युदण्ड दिएको थियो । 

भीमदत्त पन्त जन्मेको डडेलधुरासँग सीमा जोडिएको बैतडीको पाटन नगरपालिका–१०, मटे गाउँकी ३४ वर्षीय पार्वती भट्टले हलो जोतेर कुप्रथा तोड्नुभएको छ । पछौटेपनमा बाँचेको समाजमा अहिले पनि ‘महिलाले हलो जोत्न हुँदैन, मलामी जान र खेतमा बिउ छर्नुहुँदैन’ भन्ने मान्यता रहेको छ । 

त्यस्तै ‘घर छाउने, धुरी नाघ्ने काम पनि महिलाले गर्नुहुँदैन,’ भन्ने गलत मान्यता कायमै रहेका बेला भट्टले गाउँमा हलो क्रान्ति सुरु गर्नुभएको हो ।  आफूले हलो जोतेपछि गाउँमा अशुभ (पीडा) हुन्छ भनेर हल्ला फैलिएको पार्वतीले बताउनुभयो ।

गाउँका अधिकांश महिलाले हलो जोत्ने काम गर्नुहुँदैन भनेर सुझाव दिन थालेका छन् । पार्वतीका श्रीमान् मुटु रोगबाट पीडित हुनुहुन्छ । घरमा औषधी किन्ने पैसा नहुँदा भारतमा मजदुरी गरेर उतै उपचार गर्न हिँडेका श्रीमान् दत्तराम भट्ट घर फर्किन सक्नुभएको छैन । 

उहाँका एक छोरी कक्षा १० मा र छोरा सात कक्षामा पढ्छन् । घर धान्न मुस्किल भएका बेला खेत बाँझो राख्नुभन्दा आफैँले हलो जोतेर कसैको केही नबिगारेको पार्वतीले बताउनुभयो । जङ्गली जनावर दुम्सी र बँदेल नलागे वर्षभरि खान पुग्ने  अन्न फल्ने गरेको उहाँले बताउनुभयो । 

“गाउँ छिमेकका अधिकांश पुरुष रोजगारीका लागि भारत गएपछि सहयोग माग्ने अवस्था  छैन,” उहाँले भन्नुभयो, “किसानको छोरीले हलो जोत्न सक्छ भन्ने आँट आएपछि गोरु नारेर हलो जोतेर मकै छर्ने काम सकेँ ।” 

विसं २०२९ मा कविता पौडेलले पनि हलो जोतेर अन्धविश्वासका विरुद्ध क्रान्ति नगरेको होइन, यद्यपि पौडेलको हलो जोत्ने क्रान्तिको प्रभाव पनि ५२ वर्षपछि सुदूरपश्चिमको बैतडी आइपुगेको छ । महिलाले हलो जोतेको देखेर गाउँका अधिकांशले आलोचना गरे पनि पाटन नगरपालिका–१० का छिमेकी विष्णुदत्त भट्टले भने गाउँमा पहिलो पटक हलो जोतेर पार्वतीले राम्रो काम गरेको बताउनुभयो । 

“समाजले जे सुकै भने पनि पार्वतीले अन्धविश्वास तोडेर हलो जोतेको देख्दा खुसी लागेको छ,” उहाँले भन्नुभयो । बैतडीका अधिकांश गाउँका पुरुष रोजगारीका लागि भारत जाने गरेका छन् । खेतीपाती गर्ने बेला गोरु जोत्नका लागि अनिवार्य गाउँ फर्किन्छन् । खेतीपातीको काम सकेर पुनः भारत जाने चलन छ । पार्वतीको हकमा भने उहाँका श्रीमान् मुटु रोगी भएकाले घर फर्किन सकेका छैनन् । पीडामै भए पनि पार्वतीले हलो जोतेर सकारात्मक सन्देश दिएको महिला अधिकारकर्मीले बताएका छन् ।  

यसरी दबाइएको थियो हलो क्रान्ति 

किसान नेता पन्तले हलो क्रान्तिसँगै ‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबका दिन आया ठालुको काल आयो’ भन्ने स्थानीय भाषाको गीत रचना गर्दा तत्कालीन सरकारले उहाँलाई २०१० साल साउन १७ गते पक्राउ गरेर सिपाहीद्वारा टाउको काटेर डडेलधुराको खलङ्गामा झुन्ड्याइएको बताइन्छ । किसानको पक्षमा क्रान्ति गर्दा पन्तलाई दिएको मृत्युदण्डले सुदूरपश्चिमको डडेलधुरा र बैतडीका किसान शोकमा डुबेका थिए । किसान आन्दोलन दबाइएपछि हुनेखाने वर्गका मानिसले गरिब समुदायका व्यक्तिलाई हलिया राखेर दास प्रथाका रूपमा श्रम शोषण गर्ने प्रथा रहेको थियो । २०६५ सालमा भने हलिया प्रथा उन्मूलन गरिएको थियो । 

गणतन्त्रले फर्कायो हलियाको खुसी   

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नेपाल सरकारले हलिया प्रथा उन्मूलन गर्न २०६५ भदौ २१ गते हलिया मुक्त राष्ट्र घोषणा गरेर सुदूरपश्चिमका २० हजार हलियालाई दास प्रथाको चङ्गुलबाट मुक्ति दिएको हो । 

मुक्त भएका हलियामध्ये हालसम्म करिब १६ हजार हलिया परिवारलाई नेपाल सरकारले पुनस्र्थापना गरिसकेको छ । मुक्त हलियाले हरेक वर्ष भदौ २१ गते हलिया मुक्ति दिवस मनाएर खुसी साट्दै आएका छन् । पुनस्र्थापना हुन बाँकी हलियाको आवश्यक कागजपत्र सरकारलाई बुझाइएको मुक्त हलिया एवं हलिया मुक्ति समाजका पूर्वअध्यक्ष राजुराम भुलले बताउनुभयो ।