• ८ पुस २०८१, सोमबार

रमजान र आत्मशुद्धिको प्रश्न

blog

अब्दुल सलाम खान

नमाज कायम गर्नु रमजानको रोजा राख्नु, जकात निकाल्नु र हज गरेको आधारमा इस्लाम बनेको छ । कोही यी आधारभन्दा बाहिर गएको छ भने ऊ मुसलमान होइन । यसै आधार स्तम्भमध्ये रमजानको रोजा राख्नु तेस्रो आधार स्तम्भ हो । रमजान भनेको के हो ? अहिले अरबी पात्रोको नवौँ महिना रमजानको (व्रत) चलिरहेको छ । हिजरी संवत् २ देखि प्रचलनमा रहेको रोजा राख्न सम्पूर्ण मुस्लिमलाई अनिवार्य गरिएको थियो । यो रोजा हरेक बालिग, समझदार महिला तथा पुरुषमाथि अनिवार्य गरिएको छ । कुनै रोग वा शरइ उज्र (इस्लामी विधिशास्त्रले तोकेको परिस्थिति)बाहेक रमजानको रोजा छोड्नु पाप हो । वृद्धवृद्धा, अशक्त रोगी, गर्भवती, रजस्वला भएकी, सुत्केरी वा दूध चुसाउने महिलाका लागि रोजा अनिवार्य गरिएको छैन ।

अरबी भाषामा ‘सौम’ भनिने रमजान महिनाको रोजामा कुनै विशेष समयमा खासखास वस्तुहरूबाट निश्चित सर्तका साथ सूर्योदय हुनुभन्दा पूर्वदेखि सूर्यास्तसम्म विशेषतः खानपिन, सम्भोगबाट चित्तलाई अलग राख्नु भन्ने बुझिन्छ । सौम भन्नाले पार्थक्य वा मौन हुनु हो । रमजानमा विश्वका सबै मुस्लिम एकैसाथ खानपिन गर्छन् । एकै समयमा खानपिनलाई छाड्छन् । अल्लाहको उपासना गर्छन् । यसर्थ रमजानको रोजा सामूहिक र विश्वव्यापी हुन्छ ।

रमजानको उद्देश्य 

रोजाको उद्देश्य दर्शाउँदै कुरआन भन्दछ, “हे विश्वासीहरू ! तिमीहरूमाथि रोजा अनिवार्य गरिएको छ, जसरी तिमीहरूभन्दा पहिलाका मानिसमाथि गरिएको थियो । जसबाट तिमीहरू ईशपरायण बन्नेछौ ।” (कुरआन, २ः१८३)रोजाको वास्तविक उद्देश्य दिनभर खानपिनलाई छाड्नु मात्रै होइन । यसले मानिसमा आत्मशुद्धि, सन्तुष्टि र अल्लाहको भय उत्पन्न गराउँछ । जसरी यो महिनामा कुविचार र कुकर्मबाट मानिस बच्छ, त्यही निरन्तरता अन्य ११ महिनामा पनि हुनुपर्ने व्यावहारिक प्रशिक्षण रोजाले दिन्छ । रोजाले मानिसलाई भलो र सदाचारी बन्न सहायता गर्छ । रोजा मनुष्यमा ईशपरायणता जन्माउने महत्त्वपूर्ण माध्यम हो । रोजाबाट मानिसको आत्मिक एवं चारित्रिक उत्थान हुन्छ । यसबाट आज्ञापालन, अनुशासन, नम्रता, सत्यप्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग र दयाजस्ता मानवीय आचरण एवं गुण जन्मन्छन् ।

इस्लामी रोजाले व्रतालुलाई व्रतको समयमा खानपिन र सहवासलाई मात्रै नभई अरू वस्तुलाई पनि अवैध घोषित गर्छ । ती वस्तु रोजाको उद्देश्य, तत्वज्ञान र नैतिकताका लागि हानिकारक छन् । इस्लामी कानुनले रोजालाई शिष्टाचार, अदब, अल्लाहसँगको प्रेम एवं संयमी दिल र वचनको पवित्रताको घेरामा घेरेको छ । तसर्थ रोजा धेरै सकारात्मक आदेशको सङ्गम हो । यो उपासना कुरआनको पाठ, अल्लाहको सम्झना, सहानुभूति र गरिबलाई मद्दत गर्ने महिना हो । यसर्थ रमजान उपासना, दया बरकतको  महिना हो ।

रमजान पवित्र महिना हो । यो दान, प्रतिदान र क्षमादानको महिना हो । यसमा गरिने प्रत्येक सुकर्मको ८० गुना नेकी प्रतिदान मिल्छ । अल्लाह व्रतालुको पुकार सुन्छ । जसले रोजामा विश्वास र सचेतना राख्दछ, उसका विगतका सबै पाप क्षमा हुन्छन् । रोजाको मूल उद्देश्य पुण्य फैलाउनु र पापलाई मेटाउनु हो । परन्तु रोजा बसेर पनि कुनै व्यक्ति पापमा लिप्त रहन्छ भने उसलाई भोक एवं तिर्खाको अतिरिक्त केही प्राप्त हुन सक्दैन । हरेक वस्तुको जकात (धर्मदान) हुन्छ । शरीरको जकात रोजा भएको कुरा अल्लाहको रसुल (मोहम्मद सल्ला)ले बताएका छन् ।

रोजाले भोक र तिर्खा सहने बानी बस्छ । मनुष्यले मनमाथि नियन्त्रण राख्न सक्छ । सामथ्र्यवान् र धनीलाई असमर्थ र गरिबले बेहोर्ने भोक र तिर्खाको अनुभव हुन्छन् ।

सट्टाको रोजा 

रमजानको महिनामा बिरामी परेका वा यात्रामा रहेकालाई रोजा नरहने अधिकार छ । निको भइसकेपछि वा यात्रा समाप्त भएपछि अर्काे वर्षको रमजान प्रारम्भ हुनुपूर्व नै छुटेको जति राख्नुहुँदैन । यस अवस्थामा छुटेका रोजा पनि अर्काे रमजानपूर्व नै राखिसक्नुपर्छ । कमजोर वृद्धवृद्धा छुटेको प्रत्येक दिनको रोजाको दिनको रोजाको अनुपातमा एक गरिबलाई खाना खुवाउनुपर्छ । समर्थ छैन भने पर्दैन ।

सेहरी 

रातको आखिर प्रहरमा सूर्याेदय हुनुपूर्व रोजाको नियतबाट खानपिन गर्नुलाई सेहरी भनिन्छ । सेहरी खानामा धेरै प्रतिदान र अभिवृद्धि रहेको बताइन्छ । रोजा राख्न नियत अनिवार्य गरिएको हुन्छ । सेहरी खान नपाए पनि रोजा भने अवश्य राख्नुपर्छ ।

इफ्तार 

सूर्यास्तपश्चात् रोजा तोड्नका लागि केही खानपिन गर्नुलाई इफ्तार भनिन्छ । इफ्तारमा ढिला गर्नुहुन्न । भनिन्छ– व्रतालुको पुकार इफ्तारको समयमा स्वीकार हुन्छ । अर्काेतर्फ व्रतालुलाई इफ्तार गराउनु अत्यधिक प्रतिदानको कार्य हो भन्ने मुस्लिमको विश्वास छ ।

तराविह

रमजान महिनामा विशेष किसिमको नमाज पढिन्छ, जसलाई तराविह भनिन्छ । यो नमाज रातमा पढिने नमाज हो । प्रायः तराविहमा सम्पूर्ण कुरआनको पाठ गरिन्छ तर यस्तो पढ्नु अनिवार्य छैन ।

एतकाफ 

रमजान महिनालाई १०–१० दिन गरी तीन भागमा विभाजन गरिएको छ । प्रत्येक भागलाई ‘अशरा’ भनिन्छ । पहिलो अशरा रहमतका (दया)को, दोस्रो मगफिरत (मुक्ति)को र तेस्रो स्वर्गमा स्थान बनाउने हुन्छ । व्रतालु गाउँ वा सहरका मस्जिदमा रमजानको अन्तिम अशरामा एतकाफ (अल्लाहको उपासनाका लागि एकान्तवास)मा बस्छन् । एतकाफमा व्रतालु मस्जिदमा बसेर अल्लाहको खुब गुणगान गर्छ । एतकाफमा बस्ने व्यक्तिले प्राकृतिक आवश्यकताबेगर मस्जिदबाट बाहिर निस्कनुहुँदैन ।

शबे कद्र  

अल्लाहले रमजानको तेस्रो भागमा आफ्नो तŒवज्ञान र दयालाई निहित गरेको विश्वास गरिन्छ । रमजान महिनाको आखिरी भागमा “शबे कद्र” अर्थात् सम्मानित रातमा मानव जातिको मार्गदर्शनका लागि सर्वशक्तिमान् अल्लाहका तर्फबाट हजरत मुहम्मदमाथि कुरआन अवतरित गर्न प्रारम्भ गरिएको थियो । यसलाई ‘लैलतुल कद्र’ पनि भनिन्छ । यस दिव्य रातिलाई हजारौँ महिनाभन्दा उत्तम भनेर कुरआनले वर्णन गरेको छ । यस रातमा ईशदूत पलनहारको निर्देशनअनुसार हरेक कार्यको व्यवस्थाका लागि अवतरित हुन्छन् भन्ने विश्वास गरिएको छ । कद्रको रातमा नै संसारका मामला एवं मनुष्यको भाष्यको फैसला हुने बताइन्छ । यसैगरी कद्रको रातले मनुष्यलाई क्षमा, कृपा, प्रतिदान र शान्ति प्रदान गर्ने दान हो । कद्रको रात रमजान महिनाको आखिरी भागको बिजोर (२१औँ, २३औँ, २५औँ, २७औँ र २९औँ) रातमध्ये एक रात भएको बताइन्छ ।

कुरआनको अवतरण 

रोजा र कुरआनबीच घनिष्ठ सम्बन्ध छ । रमजान त्यो महिना हो, जसमा कुरआन अवतरित गरियो । कुरआन भन्छ– रमजान त्यो महिना हो, जसमा मानिसको मार्गदर्शनका लागि र सत्य र असत्यको अन्तरका प्रमाणको साथ कुरआन अवतरित गरियो । अतः तिनीहरूमध्ये जोकोही यस महिनालाई पाउँछौ भने यस महिनाको रोजा राख । यसर्थ यो महिनामा धेरैभन्दा धेरै कुरआनको पाठ गर्नुपर्दछ । मनव जातिको मार्गदर्शन तथा सत्य र असत्यबीच स्पष्ट अन्तर गर्नका लागि अल्लाहले कुरआन हजरत मोहम्मदमाथि १७ अगस्ट, सन् ६१० बाट अवतरण हुन सुरु गरे । परिस्थिति र जुन अन्तरवस्तुमा मार्गदर्शक वा आदेशको आवश्यकता भयो । त्यसैअनुसार कुरआनको अवतरणको प्रारम्भ भएको हो । यो सिलसिला मार्च, सन् ६३२ सम्म रह्यो । कुरआनमा कुल ११४ सूरह (अध्याय) र ६६६६ आयात (श्लोक) छन् ।

सदका­ए­फित्र  

सदका­ए­फित्र तथा जकात (धर्मादान)द्वारा इस्लाम सामाजिक न्यायको व्यावहारिक आर्थिक उदाहरण प्रस्तुत गर्छ । इदको नमाजभन्दा पहिला नै सदका­ए­फित्र दिनुपर्छ । सदका­ए­फित्रबाट सङ्कलित रकम गरिब, मजदुर तथा बेसहारा मानिसलाई दिनुपर्छ । जोसँग प्रचलित साढे सात तोला वा ५२ तोला सुन वा साढे ५२ तोला चाँदी मूल्यबराबरको चलअचल सम्पत्ति छ, त्यस्ता व्यक्तिले आफू र आफ्नो परिवारका सदस्यको फित्र दिनुपर्छ । यसको मात्रा पनि इस्लामले निर्धारण गरिदिएको छ । पौने दुई सेर गहुँ वा साढे तीन सेर जौ वा यसको पिठो वा यसको मूल्यबराबरको कुनै अनाजप्रति व्यक्तिको दरले गरिबलाई दिनुपर्ने हुन्छ । यस हिसाबले यस वर्ष नेपालमा यसको मात्रा प्रतिव्यक्ति ७० रुपियाँ तोकिएको छ । त्यस्ता व्यक्ति सद्काको हकदार हुन्छन्, जसमाथि सद्का अनिवार्य छैन । यस दानबाट रोजामा भएका केही सानातिना त्रुटि माफ हुने विश्वास गरिएको पाइन्छ ।

जकात 

जकातको अर्थ पवित्र गर्नु वा असल पार्नु हो । कुनै व्यक्तिसँग भएको सुन, चाँदी, अन्न वा जनावर इस्लामी विधिशास्त्रले तोकेको सीमा पुगिसकेको छ भने त्यस्तो व्यक्तिको सञ्चित रकमको निश्चित परिणाममा समुदायको अधिकार हुन जान्छ । यसलाई नै जकात भनिन्छ । जकात दिन प्रचलित चाँदीको मूल्यको हद साढे ५२ तोला वा साढे सात तोला  वा यसको मूल्यबराबरको नगद रुपियाँ, एक वर्षसम्म सञ्चित रहिरह्यो भने त्यसको मालिकले १०० को २.५ प्रतिशतका दरले जकात निकाल्नुपर्छ । जनवार र उब्जनीमा माटोको क्षमता तथा सिँचाइका आधारमा जकात निकाल्नुपर्ने हुन्छ  । आयस्रोत नहुने, गरिब, नोकरको स्वतन्त्रता, ऋणीको कर्जा तिर्न आदिमा जकातबाट सङ्कलित रकम प्रयोग गर्न सकिन्छ ।

उपसंहार  

जीवनमा सबै सफल हुनुपर्छ भन्ने छैन । सफल हुन कर्म गर्न जरुरी छ । रोजा यस्तो कर्म हो, जो मनुष्यलाई लोक एवं परलोक दुवैमा सफलता दिन्छ । यो रोजा मनुष्यका सबै ज्ञानेन्द्रियलाई कुकर्म गर्नबाट रोकेर सत्यतर्फ प्रवृत्त गराउँछ । साथै मनुष्यभित्र ईशपरायणता र त्यागी भावना उत्पन्न गराउँछ । रमजान महिनाको रोजा केवल भोको वस्तुको नाम होइन । यो त कुकर्मबाट टाढा रहने र पुण्य फैलाउने उपमा हो । यसैगरी रोजा उपासना, जनसेवा एवं मानव कल्याण हो । यसर्थ, यस पवित्र कर्मको मूल उद्देश्यलाई आत्मसात् गरी आफ्नो जीवनमा कार्यान्वयन गर्नु अति उत्तम हुन्छ । यसमा हामी सफल भयौँ भने हाम्रो विचार तथा समाज बदलिनेछ । जताततै शान्ति फैलनेछ । समय बितेको थाहै हुँदैन । रमजानको २९ वा ३० दिनको समय बितिसकेको हुन्छ । त्यसै दिन अरबी पात्रोको १०औँ महिना सौवालको खुर्पे चन्द्रमा देखिइसकेको हुन्छ । यो खुर्पे चन्द्रमाले रमजानको समाप्ति र इदुल फित्रको खुसियालीको सङ्केत दिन्छ । त्यति बेला इदुल फित्रको खुसीको महोत्सवका लागि सबै समाज नै उद्यत भइसकेको हुन्छ ।   




Author

अब्दुल सलाम खान