• १२ साउन २०८१, शनिबार

विद्यार्थीलाई साइकल वितरण

blog

लीलाराज खड्का 

बिर्तामोड, वैशाख ३० गते । झापाको झापा गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीलाई गाउँपालिकाले साइकल प्रदान गरेको छ ।  

गाउँपालिकाले गत २०७५ सालदेखिनै गाउँपालिकाले हरेक वर्ष पालिकामा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरिँदै आएकोमा यस वर्षदेखि भने कक्षा ९ का सबै छात्र-छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताउनुभयो । यस आर्थिक वर्षमा समेत गाउँपालिकाले साइकल खरिदका लागि ४० लाख रुपियाँ बजेट विनियोजित गरेको र यस वर्ष कक्षा ९ का ३४३ जना विद्यार्थी सबैलाई एक एक थान साइकल वितरण गरेको अध्यक्ष थपलियाले बताउनुभयो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले गाउँपालिकामा केन्द्र र प्रदेश सरकारबाट प्राप्त हुने शिक्षामा सशर्त बजेट बाहेकपनि ३ करोड रुपियाँ बजेट गाउँपालिकाले शिक्षामा विनियोजित गरेको र यसमध्येको प्रमुख बजेट विद्यालयमा अध्ययनरत छात्रछात्रालाई साइकल वितरण गर्नमा खर्च गरिएको बताउनुभयो । साइकल प्राप्त गरेपछि आफूहरूलाई समयमै स्कुल पुग्न र घर आउन मद्दत मिलेको स्थानीय जनता माविका छात्र विनोद मुर्मुले बताउनुभयो । 

साइकल वितरणपछि आफ्नो शिक्षा लिन र विद्यालयमा जान आउनमा लाग्ने समय बचेको स्थानीय डिल्लीराज माविका विद्यार्थी मेरिना मुर्मुले बताउनुभयो । झापा गाउँपालिकामा ५ वटा मावि विद्यालय रहेको र पालिकाबाट साइकल वितरणपछि सबै विद्यार्थीहरूको अध्यापनमा मद्दत मिलेको जनता माविका सहायक प्रधानाध्यापक टिकाप्रसाद कट्टेलले बताउनुभयो । 

पालिकाले कक्षा ११ र १२  मा अध्ययनरत सबै विद्यार्थीलाई छात्रवृति प्रदान र स्नातक तहमा समेत प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि समेत विशेष छात्रवृति प्रदान गरिरहेको झापा गाउँपालिका वार्ड नम्बर ५ का वडाध्यक्ष सखिचन्द ठाकुरले बताउनुभयो ।