• ८ जेठ २०८१, मङ्गलबार

महाकुम्भ मेलाको विधिवत समापन

blog

भक्तजनहरुद्वारा महाकुम्भ मेलाको समापन स्नान गरिदै । तस्बिरः बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, वैशाख २८ गते । सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पूर्ण महाकुम्भ मेला विधिवत रुपमा सम्पन्न भएको छ । कुम्भ परिसर क्षेत्रमा रहेको सप्तकोशी नदीमा शुभमुहुर्तमा विधिवत् रुपमा अन्तिम महास्नान गरी मेला सम्पन्न भएको हो । 

कुम्भ स्नान गर्न जगत्गुरु बालसन्त मोहन शरण देवाचार्य, नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल, वराहक्षेत्र नगर प्रमुख रमेश कार्की, प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोख्रेललगायत हजारौँको संख्यामा बजागाजासहित शुक्रवार बिहान शुभमुहुर्तमा चतरा कुम्भ परिसरमा रहेको कौशीकी नदीमा महामस्नान गरिएको छ ।  

कुम्भ मेलाको समापन स्नान गर्न बाजगाजासहित भजन किर्तन गर्दै हजाराँैको सङ्ख्यामा रहेका श्रद्धालु भक्तजनसहित धर्मगुरुहरुले कोकाह कौशीकी संगममा स्नान गरेका छन् । 

स्नानमा धर्माचार्य, सन्तमहन्त, पीठाधीश, मठाधीश, भक्तजनहरु लगायतले कौशिकी नदीमा पूजा अर्चना गरी समापन स्नान  गरिएको छ । बाह्रवर्से पूर्ण महाकुम्भ समापन स्नान गर्न अघिल्लो दिन भक्तजनहरु कुम्भ नगरी चतरा धाममा आइपुगेका थिए । कुम्भ स्नानपश्चात चतराधामस्थित कुम्भ घडामा जल अर्पण र पूजा अर्चना गरी एक महिने महाकुम्भ मेला सम्पन्न भएको मूल आयोजक समितिका महासचिव ओम शर्माले जानकारी दिनुभयो । 

गएको चैत २७ गतेदेखि सुरु भएको कुम्भ मेला वैशाख २८ गते ३२ औँ दिनमा सम्पन्न भएको हो । विश्वकै पाँच स्थानमा मात्र लाग्ने कुम्भ नेपालको एक मात्र स्थान चतराधाममा लाग्ने गरेको छ । भारतको चार स्थानमा कुम्भ लाग्दैआएको छ । बाह्र वर्षपछि लागेको महाकुम्भमा स्नान गरेमा शारीरिक रोग कष्टहरुबाट छुटकारा पाउने धार्मिक विश्वासका साथ भक्तजनहरु कुम्भमा स्नान गर्न कुम्भ नगरी चतरा धाम आएका थिए ।

कुम्भको पाँच स्नानमध्ये प्रारम्भ कुम्भ स्नान बैशाख २७ गते, प्रथम कुम्भ शाही स्नान बैशाख १ गते, द्वितीय कुम्भ शाही स्नान बैशाख ११ गते र तृतीय कुम्भ शाही स्नान बैशाख २६ गते र वैशाख २८ गते समापन स्नान गरिएको थियो ।  

प्राचीन हरिद्वार चतराधाममा २०५९ सालेखि कुम्भको आयोजना हुँदैआएको छ । चतराधाममा प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र बाह्र वर्षमा पूर्ण कुम्भ मेला लाग्नेगरेको छ । कुम्भ मेलाको ३२ औँ दिनसम्म ३० लाख बढी भक्तजनले कुम्भ स्नान र वराह भगवानको दर्शन गरेको कुम्भ मूल आयोजक समितिले जनाएको छ । कुम्भ मेलाको समुदघाटन गत चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो ।