• ७ जेठ २०८१, सोमबार

नीति तथा कार्यक्रम जेठ १ गते

blog

काठमाडौँ, वैशाख २८ गते । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आगामी जेठ १ गते प्रस्तुत गर्ने भएको छ । नीति र कार्यक्रम राष्ट्रपतिबाट सङ्घीय संसद्को अधिवेशनमा प्रस्तुत हुने छ ।

संवैधानिक व्यवस्थाबमोजिम सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते नीति तथा कार्यक्रम वाचन गरी संसद्मा प्रस्तुत गर्नुहुने छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

मन्त्री शर्माका अनुसार मन्त्रीपरिषद्ले प्रहरी नायब महानिरीक्षक उमेशप्रसाद जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै अन्तर्राष्ट्रिय क्रिकेट, कराँते, तेक्वान्दो, कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने निर्णय भएको छ । समाज कल्याण परिषद्को रिक्त उपाध्यक्षमा नन्दलाल माझीलाई मनोनयन गर्ने निर्णय भएको छ । यस्तै मन्त्रीपरिषद् बैठकले भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।