• ७ जेठ २०८१, सोमबार

कुमाल गाउँमा बालरोग विशेषज्ञ सेवा

blog

अर्जुन काफ्ले 

स्याङ्जा, वैशाख २६ गते । पुतलीबजार नगरपालिका–३ कुमाल गाउँमा रहेको जिल्ला अस्पतालमा बाल रोग विशेषज्ञ सेवा सुरु भएको छ । बालरोग विशेपज्ञ डा. विनोद गैरे अस्पतालमा आउनु भएदेखि सो सेवा सुरु भएको मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले बताउनुभयो ।

अस्पतालमा बालरोग सेवा सुरु भएसँगै बालबालिका बिरामी भएर पोखरा लगायतका ठाउँमा जानुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ । अस्पतालमा बिरामी बालबालिकाको चाप बढी हुने गरेको बताउँदै डा. अधिकारीले बालरोग विशेषज्ञ सेवाले थप सहज भएको बताउनुभयो ।

बालरोग विशेषज्ञ सेवा सुरु भएसँगै अब २८ दिन सम्मको बच्चालाई एनआईसीयु, १४ वर्षसम्मको बालबालिकाले पीआइएसीयू तथा वार्ड, ओपिडी सेवा पाउने डा. गैरेले बताउनुभयो ।

उहाँले विद्यार्थीलाई विद्यालय जान सहज होस् भनेर बिहान ७ बजेबाट सेवा दिन लागेको बताउनुभयो । बाल विशेषज्ञ सेवा थालेपछि जिल्लाका विकट ठाउँबाट बाल उपचारका लागि आउने अपेक्षा अस्पतालले गरेको छ । 

अस्पतालमा अहिले स्त्रीरोग विशेषज्ञ सेवा, ल्याब, दन्तरोग विशेषज्ञ सेवा, माइनर अपरेसनलगायतको सेवा पाउने गरिन्छ । यहाँ सोडियम पोटासियम टेस्ट, मिर्गौला  उपचार सेवा, कलेजोको ब्याक्टेरिया कल्चर सेवा, मुटुको हर्ट अट्याक जाँच, डिजिटल एक्स-रे, भिडियो एक्स-रे, इसिजी सेवा चौबिसै घण्टा पाइने गर्छ ।