अनिल पराजुली
हेटौँडा, वैशाख २१ गते। पर्यटन प्रवर्द्धन र कला जागरणका लागि हेटौँडामा तीनदिने कला महोत्सव हुने भएको छ। सटर्डे प्लेनएअरको आयोजनामा आगामी जेठ ३ देखि ५ गतेसम्म कला महोत्सव हुन लागेको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा हुने कला महोत्सवबाट उठेको रकमको ५० प्रतिशत मानव सेवा आश्रममलाई सहयोग गरिने कला व्यवस्थापक दिवेशमान प्रधानले जानकारी दिनुभयो।
काठमाडौं, पोखरा सहितका स्थानबाट करिब ५० कलाकारको सहभागितामा हुने कला महोत्सवमा इतिहास र संस्कृतिविद्हरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ।हेटौँडा उपमहानगरपालिकाको प्रमुख ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको प्राचिनता, मौलिकता र जीवन्तता कायम रहनेगरी ललितकलाको माध्यमबाट तिनको संरक्षण र प्रवर्धनमा टेवा पुयाउने आयोजकले बताएका छन्।
हेटौँडाको सिद्धार्थ हलमा चित्रकला प्रदशनी हुने तथा भुटनदेवी मन्दिर, पुष्पलाल पार्क, सहिद स्मारक पार्कमा चित्रकला कार्यशाला हुनेछ।
तीन दिन चल्ने कला महोत्सवमा चित्रकला प्रर्दशनी, कार्यपत्र प्रस्तुति, प्रत्यक्ष चित्रकला सिर्जना, खुला चित्रकला कार्यशाला, कला संवाद लगायतकाको कार्यक्रम हुनेछ। कला महोत्सवमा आएका कलाकारलाई मकवानपुरको पर्यटकीय र धार्मिक स्थानको भ्रमण समेत गराइने आयोजकले लक्ष्य राखेको छ। चित्रकला प्रदर्शनी करिब दुई हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ।