• ८ जेठ २०८१, मङ्गलबार

दोस्रो ओखलढुङ्गा महोत्सव सम्पन्न

blog

शेरबहादुर राई

ओखलढुङ्गा, वैशाख १८ गते । दोस्रो ओखलढुङ्गा महोत्सव सम्पन्न भएको छ । गत वैशाख ५ गतेबाट जिल्ला सदरमुकाममा सञ्चालन भएको दोस्राे ओखलढुङ्गा महोत्सव–२०८१ सम्पन्न भएको हो । 

जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडीबुटीसहित समग्र उद्योग व्यवसायको प्रवद्र्धनका लागि आयोजित महोत्सव १२ दिन सञ्चालन गरिएको थियो । ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घको आयोजना तथा एआइके ग्रुप काठमाडौंको सह आयोजनामा १० दिनका लागि आयोजना गरिएको महोत्सवको दुई थप गरेर सोमबार समापन गरिएको उद्योग बाणिज्य सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताउनुभयो । 

कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारको प्रमुख आतिथ्यमा महोत्सव समापन भएको अध्यक्ष मास्केले बताउनुभयो । महोत्सवमा ५० भन्दा बढी लत्ताकपडा, खाद्य, भाँडाकुडा, कृषि औजार, विद्युतीय सामग्रीलगायत खेलकुद र मनोरञ्जनका स्टलहरु राखिएका थिए । महोत्सवमा ज्योति मगर, प्रीति आले, दुर्गेश थापा, सुबोध गौतम, बालकुमार श्रेष्ठलगायतका चर्चित कलाकारले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । 

वैशाख ५ गते ओखलढुङ्गाका सङ्घीय सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको प्रमुख आतिथ्यमा महोत्सव उत्घाटन भएको थियो । १२ दिनसम्म सञ्चालन भएको महोत्सवमा कति सङ्ख्याका दर्शकले अवलोकन गरे र कति आर्थिक कारोबार भयो यसको विवरण आयोजकले सार्वजनिक गराएको छैन । महोत्सवको आय व्यय सार्वजनिक गर्न सरोकारवालाहरुले आयोजकसँग माग गरेका छन् ।