• ११ वैशाख २०८२, बिहिबार

लोपोन्मुख रेड पान्डा संरक्षण गरिँदै

blog

राजकुमार भट्टराई

खोटाङ, वैशाख १८ गते । खोटाङका केही वनमा लोपोन्मुख वन्यजन्तु रेड पान्डाको संरक्षणका लागि चोरीसिकारीविरुद्ध जिल्लास्तरीय एकाइ स्थापना गर्ने कार्यव्रmम ल्याइएको छ ।  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१०, पाथेका र केपिलासगढी गाउँपालिका–१, फेदीका सामुदायिक वनमा पाइने रेड पान्डा संरक्षणका लागि चोरीसिकारीविरुद्ध एकाइ स्थापना गर्ने तयारी गरिएको हो । पूर्वी नेपालमा समुदायमा आधारित रेड पान्डा संरक्षण परियोजना अन्तर्गत चालु आर्थिक वर्ष रेड पान्डा संरक्षणसम्बन्धी कार्यशाला आयोजना गरेर चोरीसिकारीविरुद्ध एकाइ स्थापना गर्ने जानकारी दिएको छ । 

जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, डिभिजन वन कार्यालयलगायतलाई समेटेर रेड पान्डाको चोरीसिकारीविरुद्ध एकाइ स्थापना गर्ने कार्यव्रmम ल्याइएको जनकल्याण समाज नेपाल, लामीडाँडाका अध्यक्ष वीरेन्द्र मगरले जानकारी दिनुभयो । रेड पान्डा नेटवर्कको आर्थिक सहयोगमा जनकल्याण समाजले आव २०७९/८० देखि फेदीको फुङ्गालुङ र बगाले सामुदायिक वन तथा पाथेकाको मेरुङ र कोप्चे सामुदायिक वनमा समुदायमा आधारित रेड पान्डा संरक्षण कार्यव्रmम सुरु गरेको हो । 

समाजले रेड पान्डाको अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, वासस्थान व्यवस्थापन, दिगो जीविकोपार्जन र निरन्तर अनुगमनका कार्यव्रmम सञ्चालन गर्दै आएको छ ।  

चालु आवमा रेड पान्डा संरक्षण कार्यक्रमका लागि रेड पान्डा नेटवर्कबाट २८ लाख रुपियाँ बजेट प्राप्त भएको जनकल्याण समाजले जनाएको छ । प्राप्त बजेटबाट रेड पान्डाको बसोबास रहेको स्थानमा कुवा निर्माण गर्ने, अन्य छिमेकी सामुदायिक वनमा रेड पान्डाको बसोबास भए÷नभएको सर्वेक्षण गर्ने, गत वर्ष चार सामुदायिक वनमा दुई/दुई जनाका दरले नियुक्त गरिएका आठ वन अभिभावकलाई तालिम दिने, क्यामरा ट्र्यापिङ गर्ने, आगलागी व्यवस्थापनका लागि तालिम आयोजना गर्ने, दिगो जीविकोपार्जनको सम्भाव्यताका लागि सर्वेक्षण गर्ने, रेड पान्डा संरक्षण छात्रवृत्ति प्रदान गर्नेलगायतका कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ । 

यस्तै चोरीसिकारीविरुद्ध गस्ती टोली परिचालन गर्ने कार्यव्रmम ल्याइएको छ । रेड पान्डाको संरक्षणका लागि गत आवमा पाथेका र फेदीमा १५/१५ जनाको गस्ती टोली गठन गरिएको थियो । गस्ती टोलीले रेड पान्डाको वासस्थान निरीक्षण गर्नेदेखि सिकारी र उनीहरूले थापेका पासोको निगरानी गर्ने अध्यक्ष मगरले जानकारी दिनुभयो ।

फेदीको फुङगालुङ, बगाले, चिलिम लाहुरे र छिमालुङ सामुदायिक वनमा लोपोन्मुख वन्यजन्तु रेड पान्डाको बसोबास रहेको छ । यस्तै पाथेकाको कोप्चे भालुखोप सामुदायिक वनमा क्षेत्रमा पर्ने चुलीडाँडा देउराली जङ्गल, दोर्पा चिउरीडाँडाको सिस्नेहर्कटे, निर्मलीडाँडाको गोपिनी नायपा सामुदायिक वनमा रेड पान्डाको बसोबास रहेको दाबी गरिएको छ । रेड पान्डा नेटवर्कले एक दशकअघि गरेको अनुसन्धानमा फेदी, पाथेका, खार्ताम्छा र सुङ्देलमा रेड पान्डाको बसोबास रहेको पुष्टि भएको थियो । फेदीमा रेड पान्डालाई स्थानीय साम्पाङ (राई) भाषामा ‘कुँदो’ भनेर चिन्ने गरिन्छ । 

गुराँस, खस्रु, निगालो र मालिङ्गो मिश्रित वनमा पाइने रेड पान्डाको संरक्षणबाट हिमाली क्षेत्रको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने र जीविकोपार्जनमा सहयोग पुग्ने भएकाले संरक्षण अभियान थालिएको हो ।