• ४ जेठ २०८१, शुक्रबार

छारे भीरमा सडक निर्माण

blog

छारेमा ट्रयाक खोल्ने कार्य भएको सडक । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, वैशाख १८ गते ।
जिल्लाका असजिलो चट्टानी भीर रहेको कर्णाली करिडोरअन्तर्गत पर्र्ने छारे भीरमा चट्टान फोडेर सडक निर्माण कार्य भएको छ । भीरमा होल खोप्ने, विस्फोट गर्ने, मेशिन लगाएर निर्माण गर्ने लगायतका काम सुरु भएपछि सडकको ट्रयाक खोल्ने कार्य पूरा भएको हो ।

दुली कुनादेखि लालीबगरसम्मको सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाका योजना प्रमुख अम्रित पराजुलीले छारे भीरमा प्रारम्भिक ट्रयाक खोल्ने कार्य पूरा भएको बताउनुभयो ।

उहाँका अनुसार सडकको ९० प्रतिशत काम सम्पन्न भएको छ । योजना प्रमुख पराजुलीले छारे क्षेत्रको पाँच सय मिटर चट्टानी भीरलाई विस्फोट गरेर सडक निर्माण गरिएको जानकारी दिनुभयो । अब सडकको ग्रेड मिलाउने, साइटमा ग्यावीन लगाउने, साँघुरो सडकलाई चौडा गर्ने कार्य भइरहेको उहाँको भनाइ छ ।

हाल सडक पाँचदेखि सात मिटर चौडा गरिएको छ । ५० मिटर अग्लो भीरलाई झेरेर सडक निर्माण गरिएको छ । सेनाले डेढ वर्षमा विस्फोट गरी सडक निर्माण गर्ने कार्य गरेको हो ।

सडकको ट्रयाक खोल्ने कार्य पूरा भए पनि संरचना निर्माण गर्ने कार्य भइरहेका कारण अझै केही दिन यातायात भने सुचारु गरिने छैन । बिहान बेलुका मानिस र खच्चड हिँड्न दिएपनि दिउँसो काम गर्ने समयमा भने रोक्ने गरिएको छ ।

२०७८ साल चैत महिनाबाट सेनाले सो क्षेत्रमा काम सुरु गरेको थियो । आगामी असार मसान्तसम्म सो सडक निर्माण गरी हस्तान्तरण गर्ने योजना सेनाको छ ।