• ४ जेठ २०८१, शुक्रबार

तातो हावाले स्वास्थ्यमा समस्या

blog

काठमाडौँ, वैशाख १८ गते । एक सातायता बढेको तातो हावाका कारण मानव स्वास्थ्यमा समस्या देखिन थालेको छ । पश्चिम र पूर्वी तराईका धेरै जिल्ला उच्च तापक्रमको रेड जोनमै परेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । देशका विभिन्न भूभागमा तातो हावाको लहर अझै करिब एक साता कायम रहने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । 

यस्तै क्रम जारी रहे मानिसमा ‘हिट स्ट्रोक’ हुन सक्ने उच्च सम्भावना रहेको चिकित्सकले बताएका छन् । देशव्यापी आगलागी तथा डढेलोसँगै भारत र पाकिस्तानमा चलिरहेको ‘लु’ को प्रभाव नेपालको मौसममा परेकाले मानव स्वास्थ्यमा असर बढ्न थालेको हो । शरीर शिथिल हुने, रुघाखोकी लाग्ने, ज्वरो आउने, फ्लु लाग्ने, दम तथा मिर्गाैलाका समस्या बढ्नेलगायतका समस्या देखिन थालेको चिकित्सक डा. अरुण सेढाईंले बताउनुभयो ।

उहाँका अनुसार बाहिरको तापक्रम बढेपछि शरीरले एउटा तहसम्म तातो नियन्त्रण गर्न सक्छ । उहाँले भन्नुभयो, “शरीरले थेग्न नसकेपछि हिट स्ट्रोक हुन सक्छ ।” मानिसको शरीरमा तापक्रम सन्तुलनमा राख्ने हाइपोथलामस नामको अङ्ग हुन्छ । त्यसले अत्यधिक तापक्रम थेग्न नसक्दा तापक्रम व्यवस्थापन गर्ने शारीरिक प्रणालीमै असन्तुलन आउँछ । खराबी बढ्दै जाँदा अन्य स्वास्थ्य समस्याले घेर्न थाल्ने र मानिस बेहोस भएर ढल्ने डा. सेढाईंले बताउनुभयो ।  

तापक्रम सन्तुलनमा राख्न नसकिए खानालाई ऊर्जामा बदल्ने मेटाबोलिजम प्रक्रियालगायत सबै प्रणालीमा समस्या बढेर उच्चस्तरको जलवियोजन हुन सक्छ । बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा श्वासप्रश्वास, मधुमेह, मिर्गौला, दम, मुटुका रोग तथा पक्षघात भएका व्यक्ति उच्च जोखिममा पर्छन् । 

तापक्रम बढ्दै जाँदा टाउको दुख्ने, चिढचिढाहट हुने, प्यास बढी लाग्ने, पसिना धेरै बगेर शरीरको लवण खेर जाने लक्षण नै लु अर्थात् तातो हावा बहँदा देखिन्छ । शरीरमा नुन र पानीको मात्रा सन्तुलनमा राख्न दिउँसोको समयमा घरबाहिर हिँडडुल नगर्न र निस्कनै परे छाताको अनिवार्य प्रयोग गर्ने तथा रुखको छहारी र अन्य शीतल ठाउँमा बस्न सुझाव दिनुभयो । अत्यधिक पानीको सेवन गर्नुपर्ने भए पनि मुटु र मिर्गौलाका बिरामीले चिकित्सकसँग परामर्श गरेर मात्र सन्तुलनपूर्वक सेवन गर्नु पर्छ । हिट स्ट्रोकबाट बच्न एक पुरिया जीवनजललाई एक लिटर पानीमा हालेर पिउने र त्यो पनि नसके घरमै रहेको नुन–चिनी–पानी, मौसम अनुसारको चिसो बनाउने फलफूल र जुसको सेवनको मात्रा बढाउनु पर्छ । 

हिट स्ट्रोकको सही पहिचान र उपचार समयमा हुन सकेन भने मानिसको स्वास्थ्य जटिल हुन्छ । उहाँले थप्नुभयो, “त्यसले ह्वात्तै रक्तचाप घट्छ र बेहोसीपना बढ्छ ।” त्यस्तोमा अस्पताल भर्ना गरेरै उपचार गराउनुपर्ने उहाँले बताउनुभयो । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालका अनुसार पनि एक साताभन्दा बढी समय तातो हावा चल्ने क्रम जारी रहने भएकाले स्वास्थ्य सतर्कता अपनाउन सुझाउनुभयो । उहाँले भन्नुभयो, “पानी कहिले पर्छ, तातोले मर्न लागियो भनेर फोन आएर हैरान भएका छौँ ।” तर अझै केही साता नेपालमा पानी पर्ने प्रणाली बनेको छैन ।

तातो हावाको लहर लु भारत र पाकिस्तानको उत्तरमा उच्च छ । त्यतैको हावासँगै स्थानीय रूपमा बढेको डढेलोको असरले नेपालमा तातो बढेको उहाँले बताउनुभयो । लुम्बिनी प्रदेश र मधेश प्रदेशका जिल्लालाई तातो हावाको रेड जोनका रूपमा रेकर्ड गरिएको छ । लुम्बिनीको तिलोत्तमा, भैरहवा, लुम्बिनी, तौलिहवा, भगवानपुर, नेपालगन्जको सिक्टा, नेपालगन्ज बजार तथा मधेश प्रदेशको वीरगन्ज र रौतहटको गौरलगायतका जिल्लामा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम छ । त्यस्तै तराईकै मन्सुमारा क्षेत्र, जनकपुर तथा सुदूरपश्चिमका धेरै जिल्लामा ३९.८, ३९.६ तथा ३९ डिग्री सेल्सियसभन्दा माथि तापक्रम उक्लँदै गरेको महाशाखाले जनाएको छ ।