काठमाडाैँ, फागुन ८ गते । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन की भन्ने शङ्का हटेको बताउनुभएको छ ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा चुनाव गराउन बनेको सरकारले शुरुवाती दिनहरूमा अनेकौँ चुनौतीहरू आइपरे पनि निरन्तरको संवाद र दलहरूसँगको सहकार्यपछि मुलुकमा निर्वाचन हुने बाटो बनेको बताउनुभएको हो ।
उहाँका अनुसार यो सरकार बनेको ५-६ हप्तासम्म निर्वाचन हुने हो की भन्ने आशङ्का आम मानिससँगै राजनीति वृत्तमा रहे पनि अहिले हटेर गएको बताउनुभयो । मुलुकलाई निर्वाचनमा लैजान अन्तरिम सरकारले कतिपय बजेटमा आएका विषयवस्तुलाई कार्यान्वयनमा नलगेको पनि प्रष्ट पार्नुभयो ।
अर्थमन्त्री खनालले भन्नुभयो, "जुन आशङ्का आम मानिससँगै राजनीति वृत्तमा सरकार बनेको ५–६ हप्तासम्म थियो । निवार्चन हुँदैन भन्ने थियो । जेलबाट भागेका कैदीहरू निस्केका छन् । हतियारहरू बाहिर छन् । पुराना पुस्ताका धेरै शासन सत्ता चलाएका नेताहरूलाई देख्नै चाहँदैनन् । उनीहरूसँग वार्ता नै गर्न चाहँदैनन् । परस्पर संवादको वातावरण नै छैन । यस्तो अवस्थामा यो सरकारले कसरी निर्वाचन गराउन सक्ला भन्ने एउटा ठुलो संशय मुलुक सामु थियो । त्यसलाई अत्यन्तै संयमतापूर्वक कुनै प्रतिरोध नगरी त्यो संशयलाई मेटाउन ठुलो चुनौती थियो । त्यो चुनौतीलाई बहन गर्नुपर्छ र त्यसलाई भड्किन नदिन कतिपय पर्यटन क्षेत्रसहित अरु धेरै कामहरू गर्न सकिएन ।"
अर्थमन्त्री खनालले दिगो पर्यटन विकास गर्न जरुरी रहेको समेत बताउनुभयो । खनालका अनुसार भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने जिम्मेवारी यो सरकारलाई भएकोमा कतिपय कुरामा सफलता प्राप्त भएको समेत बताउनुभयो ।