• ९ जेठ २०८१, बुधबार

औषधी ऐनप्रति एसओपिओएनको असन्तुष्टि

blog

काठमाडौँ, वैशाख १७ गते । सोसाइटी अफ फर्माकोलोजिस्ट अफ नेपाल (एसओपिओएन) ले छलफलमा रहेको औषधी ऐन २०८० विरुद्ध असन्तुष्टि जनाएको छ । समाजले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा छलफलमा रहेको औषधी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा (औषधी ऐन २०८०)ऐन विरुद्ध असन्तुष्टि जनाएको हो ।

औषधी व्यवस्था विभागले बन्न लागेको औषधी ऐन २०८० का विषयमा चिकित्सक तथा त्यसको छाता सङ्गठनको कुनै पनि आधिकारिक व्यक्तिहरूसँग छलफल नै नगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समक्ष पेस गरेको प्रति सोसाइटिको असन्तुष्टि रहेको सोसाइटीका अध्यक्ष डा.प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

विधेयक छलफल गर्दा विज्ञ र सम्बन्धित सरोकारवालासँग छलफल नै नगरी अगाडी बढ्दा औषधीको गुणस्तरमा राज्यले लिने नीति तथा कार्यक्रम प्रभावकारी हिसाबले अगाडी नबढ्ने डा.ज्ञवालीको भनाइ छ । साथै सोसाइटीले शुक्रबार उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवलाई ध्यानाकर्षण समेत गराएको उहाँले जानकारी दिनुभयो।

यस्तै, औषधी ऐनको केही बुँदा तथा परिभाषाहरू थप स्पष्ट गर्नुपर्ने देखिएकोले सोसाइटिका सरोकारवाला विज्ञसँग छलफल गर्न 'एसओपिओएन'ले मन्त्रालयसमक्ष माग गरेको छ। यदि जायज मागको सुनुवाइ नभएमा सोसाइटी कानुनी प्रक्रियामा जान बाध्य हुने समेत डा. ज्ञवालीले उल्लेख गर्नुभयो ।