• २७ वैशाख २०८१, बिहिबार

पत्रकारिता पेशा थप मर्यादित बनाउनुपर्छ : अध्यक्ष बस्नेत

blog

प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रम । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), बैशाख १५ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता पेशालाई थप मर्यादित बनाएर लैजानुपर्ने बताउनुभएको छ ।

कपिलबस्तुको गोरुसिङ्गेमा आयोजना गरिएको यूट्युब, अनलाइनसहित पत्रकारिताका चुनौती र आचारसंहिताको सवाल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । पत्रकारले मर्यादित र विश्वसनीय पत्रकारिता गर्नुपर्ने उहाँको भनाइ छ ।  

अध्यक्ष बस्नेतले पत्रकारले बनावटी पत्रकारिता गर्न नहुने बताउनुभयो । पत्रकारले तथ्यमा रहेर पत्रकारिता गर्नुपर्ने उहाँको भनाइ छ । पेसालाई मर्यादापूर्ण, विश्वसनीय बनाउन गहनरूपमा छलफल र मनन गर्नुपर्नेमा उहाँको जोड छ ।

नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यले पत्रकारले विश्वसनीयता र सबैले पत्याउने ढङ्गले असल पत्रकारिता गर्नुपर्ने बताउनुभयो । यस क्षेत्रभित्र बाहिर र भित्र देखिएका समस्या समाधान गर्नुपर्ने बताउँदै उहाँले साझा समस्या पहिचान गरेर समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ठाकुरप्रसाद बेलबासेले पत्रकार आचारसंहिताको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । पत्रकार महासंघ कपिलबस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका पदाधिकारी, सरकारी निकायका अधिकारी, जनप्रतिनिधिलगायत जिल्लाका पत्रकारको सहभागिता रहेको थियो । 

कार्यक्रम नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाको संयोजन र प्रेस काउन्सिल नेपालको आयोजनामा भएको थियो ।