• १५ असार २०८२, आइतबार

एसइई नतिजा

सामुदायिक विद्यालयको नतिजा उत्कृष्ट

blog

शान्ति नमुना माविबाट एसइई दिएका विद्यार्थी । तस्बिर : कपिल ज्ञवाली

लुम्बिनी प्रदेश ब्युरो

लुम्बिनी, असार १५ गते । माध्यमिक शिक्षा (एसइई) को नतिजामा सामुदायिक विद्यालय उत्कृष्ट देखिएका छन् । विभिन्न जिल्लाबाट प्राप्त नतिजा अनुसार यहाँका सामुदायिक विद्यालयले विगतका वर्षमा भन्दा यस वर्ष नतिजा सुधारेका छन् ।

सिद्धार्थनगर समाचारदाताका अनुसार रुपन्देहीको तिलोत्तमामा रहेको सामुदायिक विद्यालय शान्ति नमुना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले एसइईमा चार जिपिए प्राप्त गरेका छन् । विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी थिए । विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले शान्ति नमुनाको यो नतिजा सम्भवतः नेपालकै सर्वोत्कृष्ट रहेको दाबी गर्नुभयो । शान्ति नमुनामा पाँच हजार विद्यार्थी अध्ययनरत छन् । 

न्यु इन्भारोमेन्ट तिलोत्तमा, होराइजन गौतम बुद्ध माविबाट एक/एक जना, न्यु लुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कुल देवदहबाट चार जनाले जिपिए चार ल्याएका छन् । रुपन्देहीबाट कुल ८८ जना विद्यार्थीले चार जिपिए ल्याएका छन् । 

सामुदायिकको उत्कृष्ट नतिजा 

बुटवल समाचारदाताका अनुसार माध्यमिक शिक्षा एसइई २०८१ को नतिजा अनुसार बुटवल पश्चिमका विद्यालयले पनि जिपिए चार ल्याउन सफल भएका छन् । 

बुटवलको न्यु होराइजन स्कुल बुटवलबाट ११ जना, अक्सफोर्ड मावि बुटवलबाट १० जना, कालिका मानवज्ञान माविबाट सात जना विद्यार्थीले चार जिपिए ल्याएका छन् ।

त्यस्तै बुटवल पश्चिमको नयाँगाउँ मावि बुटवलबाट तीन जना, न्यु लुम्बिनी बोर्डिङ स्कुलबाट चार जना, सैनामैना नमुना माविबाट चार जना, दीप बोर्डिङ स्कुल बुटवलबाट दुई जना, तिनाउ इङ्ग्लिस बोर्डिङ स्कुल बुटवलबाट दुई जना, गार्गी एकेडेमी बुटवलबाट एक जना, प्रभात इङ्ग्लिस बोर्डिङ स्कुल सैनामैनाबाट दुई जना र सुनगाभा बोर्डिङ स्कुलबाट एक जना विद्यार्थीले चार जिपिए प्राप्त गरेका छन् ।

त्यसै गरी बुटवल पश्चिमकै नवरत्न मावि बुटवलबाट दुई जना र रामापुर मावि सैनामैनाबाट एक जना, जनकल्याण मावि सैनामैनाबाट एक, ड्रिम भिजन स्कुलबाट एक, सैनामैना मेमोरियल माविबाट चार जना,  सिद्धेश्वर लालकुमारी मावि बुटवलबाट एक, नवीन औद्योगिक कदरबहादुर रीता मावि बुटवलबाट एक जना विद्यार्थीले चार जिपिए प्राप्त गरेका छन् । 

सार्वजनिक नतिजा अनुसार संस्थागत विद्यालयभन्दा सामुदायिक विद्यालयको नतिजा राम्रो देखिएको छ । रेसुङ्गा समाचारदाताका अनुसार गुल्मीको सत्यवती गाउँपालिका–५, हँसराको सत्यवती माविका दुई विद्यार्थीले चार जिपिए प्राप्त गर्नुभएको छ । विद्यालयबाट छात्रा ३७ र छात्र ३५ गरेर ७२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यस्तै उदय मावि चन्द्रकोट–४ का विद्यार्थी निसान भण्डारीले पनि चार जिपिए प्राप्त गर्नुभएको छ । कक्षा ८ सम्म संस्थागत विद्यालयपछि ९ र १० मा सामुदायिक विद्यालय उदय माविमा अध्ययनरत भण्डारीले अपेक्षा अनुसारकै नतिजा आएकोमा खुसी व्यक्त गर्नुभयो । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले सामुदायिक विद्यालयको सकारात्मक प्रतिस्पर्धाले खुसी दिलाएको बताउँदै उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गर्ने बताउनुभयो ।

बाँकेमा एक जना 

नेपालगन्ज समाचारदाताका अनुसार माध्यमिक शिक्षा (एसइई) मा बाँके जिल्लाबाट एक जना विद्यार्थीले मात्र चार जिपिए ल्याउन सफल भएका छन् । जिल्लाबाट यस पटक ६२.२३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका एकाइ प्रमुख धनसुदन चौलागाईंका अनुसार जिल्लाबाट सात हजार ९२१ जना विद्यार्थीले परीक्षा दिएकोमा चार हजार ९२९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख चौलागाईंले जिल्लामा चार जिपिए ल्याउने एक जना मात्र विद्यार्थी कोहलपुरस्थित बाल विद्या बोर्डिङ स्कुलका छात्रा सिर्जना डिसी रहेको बताउनुभयो ।

बढ्यो उत्तीर्ण दर

बिजुबार समाचारदाताका अनुसार माध्यमिक शिक्षा (एसइई) २०८१ को नतिजामा प्युठानले अघिल्लो वर्षको तुलनामा उल्लेखनीय सुधार गरेको छ ।

गत वर्ष १२.२७ प्रतिशत मात्र रहेको जिल्लाको उत्तीर्ण दर यस वर्ष ४८.८५ प्रतिशतमा पुगेको छ । शिक्षा विकास तथा समन्वय एकाइ प्युठानका प्रमुख दुर्गाबहादुर खड्काका अनुसार यसपालि जिल्लाको नतिजा अघिल्लो वर्षको तुलनामा ३६.५८ प्रतिशतले उक्लिएको छ ।

यद्यपि यो प्रगति उत्साहजनक भए पनि जिल्लाबाट चार जिपिए प्राप्त गर्ने विद्यार्थी भने कोही पनि छैनन् ।