• २८ वैशाख २०८१, शुक्रबार

बझाङमा ४३ प्रतिशतले गरे मतदान

blog

प्रकाशविक्रम शाह

धनगढी, वैशाख १५ गते । बझाङ क्षेत्र नम्बर १ (क) मा दिउँसो २:३० बजेसम्म ४३ प्रतिशत मतदान भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले दिउँसो सो समयसम्म २६ हजार १९६ मत खसेको बताउनुभयो ।  

उहाँले प्रदेश सभा (१) को निर्वाचन क्षेत्रभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताउनुभयो । बिहानसम्म न्यून मात्रामा मतदान भएको थियो । अहिले मतदाता आउनेक्रम बढ्न थालेका बताइएको छ । 

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टका अनुसार सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता छन् । 

प्रहरी नायव उपरीक्षक शाहका उपनिर्वाचन हुने प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदानस्थल र ९३ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । मतदान शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली मतदान केन्द्रमा खटिएको प्रहरी नायव उपरीक्षक शाहले बताउनुभयो । 

सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएको पछि सो क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो । ११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट मुख्य दलहरू क्रमशः नेपाली कांग्रेसले स्व. सिंहको जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमन भण्डारी, नेकपा (माओवादी केन्द्र ) का जनक बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।