• २७ वैशाख २०८१, बिहिबार

लायन्स अन्तर्राष्ट्रिय डिस्टिक ३२५ एनको दोस्रो राष्ट्रिय सम्मेलन नेपालगन्जमा सुरु

blog

लायन्स अन्तर्राष्ट्रिय डिस्टिक ३२५ एनको दोस्रो राष्ट्रिय सम्मेलन उदघाटन गर्दै । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख १५ गते ।
 समाज सेवामा अग्रणी स्थान बनाउन सफल रहेको लायन्स अन्तर्राष्ट्रिय डिस्टिक ३२५ एनको दोस्रो राष्ट्रिय सम्मेलन नेपालगन्जमा शनिबार सुरु भएको छ ।

अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले उद्घाटन गर्नुभएको सो सम्मेलनमा करिब एक हजार लायन्स सदस्यहरू सहभागी रहेको सम्मेलन आयोजक समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

एकवर्षे कार्यकाल रहने लायन्समा यो सम्मेलनले लायन वर्ष २०२४/२०२५ का लागि नयाँ नेतृत्व समेत चयन गर्ने र डिस्टिकले वर्षभरी गरेका कामको समीक्षा गरी आगामी कार्यकालका लागि योजना समेत तय गर्ने भएकोले यो सम्मेलनको धेरै महत्त्व भएको डिस्टिक गभर्नर मुकुट ढकालले जानकारी दिनुभयो ।

उहाँले आफ्नो कार्यकालमा लायन्स अन्तर्राष्ट्रियबाट नेपालमा रहेका लाान्सका १५ डिस्टिकलाई २२ लाख डलरको प्रोजेक्ट आएकोमा लायन्स अन्तर्राष्ट्रिय डिस्टिक ३२५ एनलाई मात्र झण्डै आधा प्रोजेक्ट परेको जानकारी दिँदै विश्वभरिका लायन्स डिस्टिकहरुमध्ये ३२५ एन सामाजिक कार्य, सदस्यता वृद्धिलगायतको कार्यबाट टप १० भित्र पर्न सफल भएको बताउनुभयो ।

सो कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर सञ्जय खेतान, पूर्व डिस्टीक गभर्नरहरु सिवि चन्द, मधुसूदन शर्मा, सेमराज शाक्य लगायतका लायन्स लिडरहरूको सहभागिता रहेको छ ।

डिस्टिकको आगामी नेतृत्वका लागि विनोदकुमार श्रेष्ठ गभर्नर, ज्ञानेन्द्रकुमार श्रेष्ठ प्रथम भाइस डिस्टिक गर्नभर र टिकाराम चपाई द्वितीय भाइस गभर्नर को उम्मेदवार रहेको र तीनै जनाको प्रतिद्वन्द्वी नभएपनि आ–आफ्नो पदमा विजयी हुन ५१ प्रतिशत मत पाउनु पर्ने व्यवस्था रहेको छ ।

लायन्सले भोकमरी, मधुमेह, बालक्यान्सर, आँखा उपचार, विपद्लगायतमा स्वस्फूर्ति परिचालित भई काम गर्दै आएको छ । सो राष्ट्रिय सम्मेलन शनिबार नै सम्पन्न हुने सम्मेलन आयोजक समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।