खबर हराएको चिठी
जस्तै
प्रत्येक रात अनिँदो सिरानी
जस्तै
उदास र उदास समयको कठघरामा
उभिएर
न सपना देख्न सक्छु
न रहर लेख्न सक्छु
परिबन्दमा परेको छु ।
घर कारागार जस्तै युगौँदेखि
स्वतन्त्रता पर्खिरहेको छ ।
आँगन दुःखको देउसी भैलो
खेलिरहेछ ।
आफ्नै जिन्दगीको हिसाबहरू नमिलेर
न अघि बढ्न सक्छु
न खुसी पढ्न सक्छु
प्रश्नै प्रश्नको सगरमाथा उभ्याएर जीवनमा
म स्वयम् प्रश्न बनिरहेछु ।
दुःखको यो हाटबजारमा खुसी किन्न
खोज्दा खोज्दै
यसपालि पनि खाली मन
रित्तो रित्तो भएर फर्केको छु
आफ्नै सोचाइमा चर्केको छु
आफ्नै जिन्दगीसँग गुनासो गर्दा गर्दै
एकान्तमा
आफैँ घाउ भएर दुःखेको छु
आँसुको धर्साहरू भएर सुकेको छु
सङ्घारमा यात्रा उभिएर चुपचाप छ ।
शिशिरको पात जस्तै
भुइँमा झरेको छु ।
आफ्नै आँखाको डिलबाट
पानी जस्तै
तप्प तप्प
उदासी झरिरहेछ आँसु खसालेर
भिडमा एक्लै छु ।
अरूभन्दा बेग्लै छु ।
म आफ्नै सपनाहरूको लिलामी हुँदा
साक्षी बसेको छु ।
मलाई आफ्नै छायाले घात गर्दा सजीविनमा
हस्ताक्षर गरेको छु ।
यतिखेर
मेरो छाती अचानो भएको छ
आफ्नै परिचय बिरानो भएको छ ।