• २४ वैशाख २०८१, सोमबार

गाउँपालिका उपाध्यक्षसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, वैशाख १४ गते । महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुनसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार एकडारा गाउँपालिकाका उपाध्यक्ष खातुनले स्थलगत अनुगमन गरी लागत अनुमान बमोजिमको कार्य सम्पन्न भइसकेको भन्दै गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनको आधारमा भुक्तानी समेत भएको हुँदा भ्रष्टाचार मुद्दा दायर भएको छ । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर सञ्जय कुमार मण्डलले  एकडारा गाउँपालिका वडा नम्बर १ अन्तर्गतका स–साना सडक ढलान योजनाको खरिद प्रक्रियामा तयार गरिएको गुणस्तर सम्बन्धी मापदण्ड अनुसार हुनुपर्नेमा सो नभएको हुँदा उनीहरुविरुद्ध आठ लाख ६५ हजार १४५ रुपियाँ बिगो रकम कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ ।

श्री जानकी कन्सट्रक्सन, मनरा शिसवा नगरपालिका ५ महोत्तरीका प्रोपाइटर राकेश कुमार रायले गाउँपालिकासँग सम्झौता भए अनुसारको मापदण्ड र गुणस्तर चेकजाँच नगरी सम्झौता बमोजिम कार्य सम्पन्न भएको भनी गलत नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन पेस गरी भुक्तानी समेत लिएको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिइ शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।