• ६ जेठ २०८१, आइतबार

‘गोरखापत्रले जनताको एजेण्डा बोक्नपर्छ’

blog

बुटवलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम । तस्बिर : गोरखापत्र

कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख २४ गते ।
गोरखापत्रले जनताको एजेण्डा बोक्नुपर्नेमा जोड दिइएको छ । गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा बुटवलमा प्रदेश स्तरीय कार्यालयद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै बक्ताहरुले गोरखापत्रलाई नागरिकप्रतिको जवाफदेहितालाई सदैव ख्याल राख्न आग्रह गर्नुभयो ।

नेपाली पत्रकारिता, भाषा र साहित्यको संरक्षण र सम्वर्द्धनमा यसको भूमिका अहम रहेको स्मरण गर्दै समयानुकूल परिमार्जन गर्दै लैजानुपर्नेमा उहाँहरुको जोड थियो ।

कार्यक्रममा बोल्नुहुँदै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले नेपाली पत्रकारिताको पाठशालालाई अझै बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले गोरखापत्रले प्रकाशन गर्ने हरेक संस्करणहरु पठनीय हुने भन्दै सरकारको पक्षमा मात्रै नभइ जनताको एजेण्डामा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

‘‘पत्रकारिता मासिँदै छ, पत्रकार बढेका बढ्यै छन्, समाजले हेर्ने दृष्टिकोण बदल्नका लागि पत्रकार पनि सच्चिनुपर्छ, इथिक्समा रहेर काम गर्नुपर्छ ।’’ उहाँको भनाइ छ ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले गोरखापत्रको इतिहास नै काफि भएको भन्दै वर्तमान र भविष्यसम्म त्यसलाई जोगाउँदै अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले यसका हरेक प्रकाशनले सबै भाषाभाषीमा समेत यसको पहुँच पुगेको बताउनुभयो ।

बुटवलको बिकासलाइ अगाडि बढाउन कलम चलाइदिन उहाँको आग्रह छ । युवा पलायन रोक्न नसके मानवबस्ती रहित समाज बन्ने उहाँको चिन्ता छ  ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले समाजलाई संस्कारयुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । निरासाजनक बन्दै गइरहेको भन्दै सामाजिक बिकृती चिर्नका लागि अनुरोध गर्नुभयो । भैरहवामा निर्माण सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल चाडै पूर्ण क्षमतामा चलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । पत्रकारका कलमले जस्ताको तस्तै लेखेर समाज बदल्न आवश्यक रहेको उहाँको निष्कर्ष थियो ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले बुटवललाई चलायमान बनाउनुपर्ने भन्दै व्यवसायीको अर्बौ रकम डुब्ने अवस्था आउनसक्ने चिन्ता गर्नुभयो । उहाँले बुटवलको विकासलाइ फरक ढङ्गले अगाडि बढाउनुपर्ने र उद्योग तथा पर्यटन क्षेत्रको विकासमा हातेमालो गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले जनताका समाचार, ओझेलमा परेका विषयबस्तुलाइ अगाडि बढाइदिन आग्रह गर्नुभयो । लगानी सुरक्षित बनाउन बुटवललाइ थप चलायमान र रात्रीकालिन बजार चलाउने वातावरण बनाउन मिडियाको भूमिका रहने उल्लेख गर्नुभयो ।

प्रदेश संयोजक भुवन कार्कीको अध्यक्षता, सिद्धार्थनगर समाचारदाता कपिल ज्ञवालीको सञ्चालन, बुटवल समाचारदाता छवि पाण्डेको स्वागत तथा भैरहवा समाचारदाता लक्ष्मण पौडेलको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको हो ।

सुधारवादी शासकको रुपमा चिनिएका तत्कालिन श्री ३ देवशम्शेरले प्रकाशन प्रारम्भ गरेको ‘गोर्खापत्र’ साप्ताहिकको रुपमा पहिलो पटक वि. सं. १९५८ साल वैशाख २४ गते प्रकाशित भएपछि नेपाली पत्रकारिताको जग सुरु भएको हो ।